मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७८ माघ १० सोमबार ०६:५३:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

टिचिङमा तीनवटा वार्ड बन्द, वीर र प्रहरी अस्पतालमा वार्ड गाभेर सेवा

स्वास्थ्यकर्मीमा संक्रमण फैलिएपछि ठूला अस्पतालमा स्वास्थ्य सेवा प्रभावित

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७८ माघ १० सोमबार ०६:५३:००

डाक्टरलगायत स्वास्थ्यकर्मी र कर्मचारी कोरोना संक्रमित भएपछि देशका ठूला अस्पतालमै स्वास्थ्य सेवा प्रभावित भएको छ । एउटै अस्पतालभित्र एकैपटक धेरै स्वास्थ्यकर्मीमा संक्रमण फैलिँदा केही वार्ड नै बन्द गरिएका छन् । केही अस्पतालले वार्डहरू गाभेर स्वास्थ्यकर्मीलाई ‘डबल ड्युटी’मा खटाएर सेवा दिइरहेका छन् । 
स्वास्थ्यकर्मी र कर्मचारी गरी पाँच सयभन्दा बढी संक्रमित भएको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ननकोभिड (कोरोनाबाहेक रोगको उपचार हुने) उपचारका तीनवटा वार्ड बन्द गरिएका छन् ।

अस्पताल प्रशासनका अनुसार श्वासप्रश्वास, स्नायु प्रणाली र पुरुष शल्यचिकित्सासम्बन्धी वार्ड बन्द गरिएको हो । तीन सय नर्सिङ स्टाफ, एक–एक सय डाक्टर र अन्य कर्मचारीमा संक्रमण भएकोमा हाल दुई सय ५० सक्रिय संक्रमित रहेको अस्पतालका कोभिड वार्ड संयोजक सन्तकुमार दासले बताए । यीमध्ये ९५ जना अस्पतालकै आइसोलेसन कक्षमा छन् । अधिकांश स्वास्थ्यकर्मी संक्रमणमुक्त भई छोटो समयमै काममा फर्किन सकेकाले भयावह अवस्था व्यहोर्नु नपरेको दासले बताए । 

एकैपटक ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएपछि वीर र नेपाल प्रहरी अस्पतालले भने वार्डहरू गाभेर सेवा दिएका छन् । नेपाल प्रहरी अस्पतालले सोमबारदेखि ओपिडी सेवा गर्ने निर्णय गरेको छ । कोभिडका बिरामीको भर्नादर बढ्न थालेपछि दुई–तीनवटा वार्ड एकै ठाउँमा गाभेर सञ्चालन गर्न थालिएको डिआइजी डा. सुन्दर हैजूले बताए । अन्य केही सेवा तत्कालका लागि कटौती गर्ने निर्णय भएको पनि उनको भनाइ छ । यहाँ ७६ स्वास्थ्यकर्मी तथा कर्मचारी कोरोनाबाट संक्रमित छन् ।

‘कोभिडबाहेकका अन्य बिरामीको चाप अहिले केही घट्न थालेको छ । ७६ स्वास्थ्यकर्मी संक्रमित भएकाले बिरामीको चाप कम भएका दुई–तीनवटा वार्ड एकै ठाउँमा गाभेर सेवा दिएका छौँ । सीमित स्वास्थ्यकर्मीबाट सेवा दिनुपर्ने अवस्था रहेकाले सोमबारदेखि ओपिडी सेवा पनि बन्द गर्ने निर्णय भएको छ,’ उनले भने ।
दुई सय ५६ स्वास्थ्यकर्मी तथा कर्मचारी संक्रमित भएको वीर अस्पतालमा पनि वार्डहरू गाभेर सेवा सञ्चालन हुन थालेको छ । केही स्वास्थ्यकर्मी पाँच–सात दिनमै निको भएर काममा फर्किएको वीरका कोभिड वार्ड प्रवक्ता डा. अच्युत कार्कीले बताए । ‘कोभिडबाहेकका वार्डमा बिरामीको चाप घट्न थालेको छ, स्वास्थ्यकर्मी पनि संक्रमित भएर कम भएकाले त्यस्ता वार्ड गाभेर सेवा दिन थालेका छौँ,’ उनले भने, ‘हाम्रोमा दुई सय ५६ स्वास्थ्यकर्मी संक्रमित भएकामा केही ठीक भएर काममा फर्किएको अवस्था छ । यसले पनि व्यवस्थापन केही सहज भएको छ ।’ 

कोभिडका बिरामीको उपचार भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा स्वास्थ्यकर्मीमै संक्रमण फैलिएपछि खोप कार्यक्रम रोकिएको छ । अस्पतालले सूचना जारी गर्दै सोमबारदेखि १६ माघसम्म सात दिनका लागि खोप कार्यक्रम स्थगित गरेको जनाएको छ । टेकुमा ५० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित रहेको अस्पतालका प्रवक्ता नवराज गौतमले बताए । उनका अनुसार वार्डहरूमा बिरामीको संख्या क्रमशः बढ्दै गइरहेको छ । 

 ‘डबल ड्युटी’मा स्वास्थ्यकर्मी 
ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएका अस्पतालमा स्वास्थ्यकर्मीले ‘डबल ड्युटी’ गरेर बिरामीको सेवा गरिरहेका छन् । सशस्त्र प्रहरी बल अस्पताल बलम्बुका प्रवक्ता डा. प्रवीण नेपाल उपलब्ध स्वास्थ्यकर्मीले जिम्मेवारी वहन गर्नुको विकल्प नभएको बताउँछन् । ‘स्वास्थ्यकर्मी एकपछि अर्को संक्रमित हुन थालेपछि उपलब्धहरूले नै दोब्बर समय काममा खटिनुपरेको छ । दोहोरो ड्युटी गरिरहेकालाई अस्पतालमै बस्ने व्यवस्था गरेका छौँ,’ उनले भने । सिभिल अस्पतालमा समेत आधाभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भइसकेको अस्पताल प्रशासनले जनाएको छ । त्यस्तै, पाटन अस्पतालमा एक सय ५२ स्वास्थ्यकर्मीलाई संक्रमण भएको छ । अन्य बिरामीको संख्या घट्दै गएको र कोरोनाका बिरामीको संख्या भने बढिरहेकाले उपलब्ध स्वास्थ्यकर्मीलाई कोभिड वार्डमा खटाइएको अस्पतालका प्रवक्ता डा. रवि शाक्यले बताए ।