Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ माघ ९ आइतबार १३:०६:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

राष्ट्रसंघीय आतंकवाद रणनीति प्रतिवेदनमा भारतको असन्तुष्टि

Read Time : < 1 मिनेट
२०७८ माघ ९ आइतबार १३:०६:००

भारतले संयुक्त राष्ट्रसंघद्वारा तय विश्वव्यापी आतंकवाद रणनीति प्रतिवेदनले हिन्दू, बौद्ध र शिख धर्मप्रति अन्याय गरेको टिप्पणी गरेको छ।  दिल्लीस्थित ग्लोबल काउन्टर टेरोरिज्म सेन्टरद्वारा आयोजित भर्चुअल कार्यक्रममा राष्ट्रसंघका लागि भारतीय राजदूत टिएस तिरुमूर्तिले राष्ट्रसंघीय आतंकवादसम्बन्धी २०२१ को प्रतिवेदनप्रति असन्तोष व्यक्त गरेका हुन्।

तिरुमूर्तिले हिन्दू, बौद्ध र शिखविरुद्ध घृणा फैलाउन थालिएको भन्दै ‘हिन्दूफोबिया’ शब्दलाई राष्ट्रसंघले मान्यता दिनुपर्नेमा जोड दिएका छन्। आतंकवादलाई परिभाषित गर्ने क्रममा हिन्दूहरूमाथि प्रहार भएको उनको भनाइ थियो। राष्ट्रसंघले हिन्दूहरूलाई लक्षित गर्ने गरी हिंसात्मक राष्ट्रवाद, दक्षिणपन्थी अतिवादजस्ता शब्दहरूलाई राष्ट्रसंघीय प्रस्तावहरूमा उल्लेख गर्न नहुने र उल्लेख भएको अवस्थामा हटाउनुपर्ने पनि तिरुमूर्तिले राष्ट्रसंघमा धारणा राखेको जानकारी दिए।

‘पछिल्ला दुई वर्षमा केही सदस्य मुलुकले उनीहरूका राजनीतिक, धार्मिक तथा अन्य  पूर्वाग्रहका आधारमा हिंसात्मक अतिवाद, हिंसात्मक राष्ट्रवाद, दक्षिणपन्थी अतिवादजस्ता विषयहरूलाई परिभाषित गरिरहेका छन्। यो प्रवृत्ति खतरनाक छ,’ तिरुमूर्तिले भनेका छन्। तिरुमूर्ति अहिले राष्ट्रसंघका आतंकवादविरुद्धको कमिटीका अध्यक्ष छन्। उनले अध्यक्षका हैसियतमा नभएर भारतका राजदूतको हैसियतमा धारणा राखेको पनि प्रस्टीकरण दिएका छन्।

सन् २०२१ जुनमा राष्ट्रसंघको ग्लोबल काउन्टर टेरोरिज्म स्ट्राट्रेजीको सातौँ पुनरावलोकनमा प्रस्तुत शब्दहरूप्रति भारतका तर्फबाट उनले आपत्ति जनाएका थिए। पश्चिमाहरूले भारतमा दक्षिणपन्थी दर्शन हावी भएकोजस्ता ‘लेबल’ लगाएको भन्दै यसले भ्रम सिर्जना गरेको भारतीय राजदूतको भनाइ थियो। ‘वामपन्थी वा दक्षिणपन्थीहरू लोकतन्त्रमा चुनावबाट बहुमत साबित गरेर आउने हुन् र यसलाई लोकतन्त्रको बृहत् अवधारणाका आधारमा हेरिनुपर्छ। यसलाई अन्यथा रूपमा लिन मिल्दैन,’ तिरुमूर्तिले भनेका छन्।