मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ माघ ९ आइतबार १२:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

किरियापुत्री ट्रस्ट निर्माणका लागि गाउँपालिकाद्वारा ३४ लाख विनियोजन

Read Time : < 1 मिनेट
२०७८ माघ ९ आइतबार १२:५०:००

भीमसेन थापा गाउँपालिकाले ४६ वटा किरियापुत्री ट्रस्ट निर्माण गर्ने भएको छ। पुस २६ गतेको गाउँ सभाबाट गाउँपालिकाले ४६ वटा किरियापुत्री ट्रस्ट निर्माण गर्ने योजना पारित गरेको हो। यसअघि ट्रस्टकै लागि विनियोजन गरिएको १० लाखमा अन्य विभिन्न योजनाको २४ लाख रकमान्तर गरेर गाउँसभाले किरियापुत्री ट्रस्टलाई प्राथमिकता दिएको हो।

एउटा ट्रस्टका लागि ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ। वडा नम्बर १ देखि ८ सम्म ४६ वटा ट्रस्ट निर्माण हुने गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले बताए। किरियापुत्रीलाई पानीपँधेरो गर्दा वर्षात्, घामपानीले समस्या पर्ने भएकाले टोलैपिच्छे  ट्रस्ट निर्माण गर्न लागिएको उनले बताए। ‘कार्यान्वयन हुन नसक्ने केही योजनाको बजेट रकमान्तर गरेर वडाको मागको आधारमा किरियापुत्री ट्रस्टमा बजेट विनियोजन गरेका हौँ,’ अध्यक्ष पाण्डेले भने। स्थानीयको सहजताका लागि गाउँपालिकाले किरियापुत्री ट्रस्ट निर्माण गर्न लागेको उनले बताए।

ट्रस्ट गाउँपालिकाभरि एउटै डिजाइनको हुने उनले बताए। उनका अनुसार जनसंख्याको चापअनुसार गाउँबस्तीमा धारानजिक भएको ठाउँमा ट्रस्ट निर्माण गर्ने गरी ठाउँ छनाेट गरिएको छ। स्थानीयहरूको माग आधारमा हरेक वडामा चारदेखि नौ वटासम्म किरियापुत्री  ट्रस्ट निर्माण गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयराज वाग्लेले बताए।