मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७८ माघ ९ आइतबार ०९:४५:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइपिएल अक्सनमा १५ नेपाली खेलाडीको नाम 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७८ माघ ९ आइतबार ०९:४५:००

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार कप्तान सन्दीप लामिछानेदेखि शरद भेषवाकरसम्मले नाम दर्ता गराएका छन् ।

यस्तै, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहितकुमार पौडेल, सुशान भारी, आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र आसिफ शेखले पनि नाम दर्ता गराएको क्यानले जनाएको छ । 

आइपिएलले २५ जनवरीसम्म फ्रेन्चाइज लिगलाई कुनै खेलाडीको नाम दर्ता गराउन सक्ने गरी समय दिएको छ । यो मितिसम्ममा नाम दर्ता भएका खेलाडीमध्येबाट आइपिएलले सर्ट लिस्ट गर्नेछ । सर्ट लिस्टमा परेकाहरू मात्रै मेगा अक्सनमा जानेछन् । आइपिएलले कुल एक हजार दुई सय १४ खेलाडीले नाम दर्ता गराएको जनाएको छ । जसमा आठ सय ९६ भारतीय र तीन सय १८ विदेशी खेलाडी छन् ।

एसोसिएट देशबाट ४१ खेलाडी रहेका छन् । सर्वाधिक धेरै टी–२० विश्वकप च्याम्पियन अस्ट्रेलियाबाट ५९ खेलाडीले नाम दर्ता गराएका छन् । एसोसिएटबाट नेपालबाट सर्वाधिक खेलाडीले नाम दर्ता गराएका हुन् । टेस्ट टोली आयरल्यान्ड, जिम्बाबे, बंगलादेशभन्दा बढी नेपालबाट खेलाडीले नाम दर्ता गराएका छन् । आइपिएल अक्सन १२ र १३ फेब्रुअरीमा हुने जनाइएको छ । तर, औपचारिक रूपमा घोषणा भने भएको छैन । यस सिजनदेखि आइपिएलमा १० टोलीको सहभागिता रहनेछ ।