मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ ८ शनिबार ०८:२१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं उपत्यकामा आजदेखि जोरबिजोर प्रणाली लागू    

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ ८ शनिबार ०८:२१:००

तेस्रो लहरको कोरोना संक्रमण तीव्र भएपछि त्यसलाई रोक्न काठमाडौँ उपत्यकामा आज बिहानैदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।  स्थानीय प्रशासन (काठमाडौँ, ललितपुर र भक्तपुर) को संयुक्त बैठकको निर्णयअनुसार जोरबिजोर प्रणाली लागू गरिएको हो ।

काठमाडौँ उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा जोर गते जोर तथा बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधन सञ्चालन हुने गरी उक्त प्रणाली लागू गरिएको हो ।  

प्रशासनले सार्वजनिक सवारीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यत्रुलाई मास्क अनिवार्य गर्न, सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी स्यानिटाइजरको व्यवस्था गर्न आदेश दिएको छ ।

यसैगरी जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालोमा सेवा प्रवाहको उचित प्रबन्ध कार्यालय प्रमुखले गर्ने आदेशमा भनिएको छ । उक्त आदेश कार्यान्वयनका लागि आज बिहानैदेखि सुरक्षाकर्मीलाई ठाउँठाउँमा परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।     
     
जोरबिजोर प्रणाली लागू नहुने सवारी साधन  

अत्यावश्यक सेवामा प्रयोग हुने र तोकिएका सवारीलाई भने जोरबिजोर प्रणाली लागू हुने छैन । जसमा औषधि एवं स्वास्थ्य सामग्री बोकेका, एम्बुलेन्स, दमकल, शवबाहन, ग्यास, पेट्रोलियम पदार्थ बोकेका सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने छैन ।  

यसैगरी खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपन्छी, दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधन पनि निर्वाधरुपमा सञ्चालन गर्न पाइने छ । यस्तै निर्माण सामग्री बोक्ने सवारी साधन (चालक सहचालक मात्र) सञ्चालन गर्न पाइने छ ।  

परिचयपत्रका आधारमा बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा कम्पनी, डाँक तथा कुरियर सेवा, दूरसञ्चार, सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ ।

यस्तै सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास तथा पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधन, सरकारी र कूटनीतिक नियोगका सवारी साधन सञ्चालन गर्न पाइने काठमाडौँका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलद्वारा जारी आदेशमा उल्लेख छ ।