१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ माघ ७ शुक्रबार १३:४७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लागुऔषध कारोबारी समात्न गएका प्रहरी नै चोरीमा संलग्न

Read Time : < 1 मिनेट
२०७८ माघ ७ शुक्रबार १३:४७:००

मोबाइल पसलमा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा कारोबारी समात्न गएका प्रहरीले मोबाइल चोरी गरेको खुलेको छ। मोबाइल चोरी गरेको सिसी क्यामेराको फुटेज सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले चोरीमा संलग्न दुई प्रहरीमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ।

धनगढीस्थित ग्लोबल मोबाइल ग्यालरीमा लागुऔषधको कारोबार भइरहेको सूचना पाएपछि गत बुधबार जिल्ला प्रहरी कार्यालयको टोली कारोबारमा संलग्नलाई पक्राउ गर्न मोबाइल पसल पुगेको थियो। त्यस क्रममा प्रहरी हवल्दार होमबहादुर माल र जवान भरतबहादुर बुढाले उक्त पसलबाट एक–एकवटा मोबाइल चोरेको भिडियो सार्वजनिक भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रविन विष्टले प्रहरीले चोरी गरेका दुवै मोबाइल बरामद गरिएको बताए। चोरीमा संलग्न दुवैजनालाई हिरासतमा राखेर फौजदारी अपराधअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको प्रनाउ विष्टले जानकारी दिए।

प्रहरीले उक्त पसलबाट लागुऔषधसहित तीनजनालाई पनि पक्राउ गरेको छ। मोबाइल पसल सञ्चालक द्रोणबहादुर रावल, धनगढी उपमहानगरपालिका–२ का टेकबहादुर बिष्ट र मनीष भण्डारी एक ग्राम पाँच सय ५० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ परेका हुन्। लागुऔषधसहित पक्राउ परेका तीनैजनाविरुद्ध लागुऔषधसम्बन्धी मुद्दामा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।