मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
डा.अरुणा उप्रेती
२०७८ माघ ७ शुक्रबार ०७:३२:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

रैथाने ज्ञानको उपयोगिता र ‘अर्थशास्त्र’ 

Read Time : > 4 मिनेट
डा.अरुणा उप्रेती
२०७८ माघ ७ शुक्रबार ०७:३२:००

औषधिका नाममा अनेक चक्की किनेर पैसा खर्च गर्दा औषधि कम्पनीलाई नाफा भए पनि आफूलाई घाटा हुन्छ


हजुरआमासँग हुर्केकी मैले थाहै नपाई उहाँको रैथाने र परम्परागत ज्ञान आत्मसात् गर्न पुगेकी छु । मेरो बिहानको सुरुवात आलस तिल, ज्वानो र भांगो मिसिएको एक चम्चा मिश्रणबाट हुन्छ । त्यसबाहेक सक्खर, कागती, मरिच र दालचिनी हालेर पकाएको पेयपदार्थ पिउँछु । यिनमा अनेक पोषक तत्‍व क्याल्सियम र ओमेगा ३ पाइन्छ । तीन वर्षजति भयो, यो सुरु गरेको । ६१ वर्षकी हुँदा पनि म ४० वर्षको जस्तो स्वस्थ महसुस गर्छु । कोरोनाका वेला रोगसँग लड्ने शक्ति बढाउन यो राम्रो हतियार बनेको छ । 

एक कार्यक्रममा भारत जाँदा डा. मिरा शिवा नामकी एक डाक्टरले मलाई तिल र आलसको महत्‍व बुझाएकी थिइन् । त्यो सिकेर मैले युवती र महिलालाई हड्डी मजबुत पार्न तिल, आलस र मुंग्रेलो खाने सल्लाह दिने गरेकी छु । कति महिला त क्याल्सियम चक्की खाए हाड बलियो हुन्छ भन्ने ठानेर आफैँ किनेर खान्छन् । तर, घरमै पाइने स्वस्थकर वस्तु प्रयोग गर्न जान्दैनन् । औषधीमै पैसा बढी खर्च गर्छन् । तर, त्यसले स्वास्थ्यमा फाइदा हुँदैन । औषधीका नाममा अनेक चक्की किनेर पैसा खर्च गर्दा औषधी कम्पनीलाई नाफा भए पनि आफूलाई घाटा हुन्छ । दुई सय रुपैयाँमा आलस, तिल, ज्वानो, मुंग्रेलो किनेर एक–एक चम्चा प्रत्येक दिन खाँदा पनि तीन–चार महिनालाई पुग्छ । तर, दुई सयको क्याल्सियमले कति दिन पुग्छ ? 

कस्तुरी मृगझैँ आफूसँग रहेको मालको चाल नपाएर बाहिर–बाहिर भौँतारिने बानीले गर्दा हामीले हाम्रो रैथाने ज्ञान बिर्सिंदै छौँ, नचाहिने ठाउँमा बढी पैसा तिर्छौं । भिटामिन ‘डी’को कमीले गर्दा धेरै महिलाको स्वास्थ्यमा समस्या परेको स्वयं चिकित्सकहरू नै स्विकार्छन् । कतिले त जाँच गराएर भिटामिन ‘डी’ चक्की खान दिइहाल्छन्, तर ८० प्रतिशत भिटामिन ‘डी’ घामबाट प्राप्त हुन्छ भनेर चाहिँ कतै छलफल गरिन्न । मेरी आमा ८५ वर्षकी हुनुभयो । उहाँ शाकाहारी हुनुहुन्छ । त्यसैले, उनको भोजनमा बडो ध्यान दिनुपर्छ । उहाँलाई हरेक दिन घाममा बस्नुपर्छ । यसरी घाममा बस्दा ढाड, खुट्टा र हातको नांगो छालामा घामको किरण पर्नुपर्छ उहाँको ‘घुँडा, पुठ्ठा, हाडमा समस्या छैन । घामको केही दिनको बसाइले उहाँलाई निकै फाइदा गरेको छ । सायद सूर्यलाई बिहान नमस्कार गर्नुको अर्थ नै हाम्रा पुर्खाले उसको ऊर्जाका लागि धन्यवाद दिएका होलान् । 

तर, सूर्यलाई एक सेकेन्डमा नमस्कार गरेर घरभित्र पस्दैमा फाइदा हुँदैन । अहिलेका आमाहरूले शिशुलाई परम्परागत चलनअनुसार घाममा राखेर तेल लगाउनुको सट्टा कोठामा राखेर पाउडर दल्छन् अनि शिशुलाई क्याल्सियम र भिटामिन ‘डी’ किनेर खुवाउँछन् । आँगनको औषधी लत्याएर महँगो चक्की किन किन्नु ?

महिलालाई भिटामिन ‘डी’को कमी हुँदा डाक्टरले जब उनलाई भिटामिन ‘डी’को चक्की दिन्छन्, तब उनीहरू खुसीसाथ पैसा तिरेर सेवन गर्छन् । तर, सित्तैँमा प्राप्त हुने भिटामिन ‘डी’चाहिँ प्रयोग गर्दैनन्, अचम्म होइन र ? यी शब्द लेखिरहँदा हजुरआमालाई सम्झिन्छु, जसले निरक्षर भएर पनि परम्परागत ज्ञान प्रयोग गरेर धेरै नातिनातिना हुर्काउनुभयो । उहाँले शिशुलाई पखाला लाग्दा मेथी, लसुन हालेर जाउलो पकाउनुहुन्थ्यो । पहिले–पहिले हजुरआमाले बच्चालाई ‘लपक्क छातीमा’ टाँसेर सुताउनुपर्छ भन्दा अचम्म लाग्थ्यो, आधुनिक विज्ञानले त यसरी छातीमा टाँस्ने प्रक्रियालाई ‘कंगारु मेथड’ भनेर नामै दिएको छ । विश्व स्वास्थ्य संगठनले पनि यसलाई स्विकारेको छ ।

६० वर्षीया ज्योतिले केही वर्षअघि भनेकी थिइन्, ‘मैले धेरै वर्षसम्म अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरेँ । ढाड र हाड दुखे पनि कुप्रेर, सहेर कम्प्युटरमा ४–५ घन्टा लगातार काम गरेँ । डाक्टरलाई देखाउँदा भिटामिन ‘डी’को कमी भएको भनेर मलाई घाममा बस्न सल्लाह दिए । तर, बिहानदेखि बेलुका कोठाभित्र बसेर काम गर्दा घाममा बस्न सकिनँ । अहिले मेरो ढाड, घुँडा दुख्छ । औषधी खाँदा पनि दुखिरहन्छ । सायद कामका साथै मैले आफ्नो शरीरका लागि समय छुट्याएको भए मेरो दुखाइ यति हुँदैनथ्यो कि ?’ उनको यस भनाइले महिलाका लागि प्रत्येक दिन घाममा बस्नु आफ्नो स्वास्थ्यको वास्ता गर्नु हो भनेर ज्ञान दिन्छ । पहिले–पहिले घरबाहिर बसेर काम गरिन्थ्यो, घाममा हिँडिन्थ्यो, तर आधुनिक जीवनमा त्यो कम भएर अनेक समस्या सिर्जना हुन थालेको छ । त्यसैले प्रकृतितिर फर्किने हो कि अब ? 

प्राकृतिक भिटामिन खाने कि कोरोनाका वेला ? अहिले भिटामिन ‘सी’ले रोगसँग लड्ने शक्ति दिन्छ भनेर यसको ट्याबलेट किनेर खाने फेसन चलेको छ । तर, भिटामिन ‘सी’ पाइने अमला, अम्बा, कागती र टुसा उमारेका खानेकुराको चाहिँ वास्ता गरिन्न । ‘नजिकको तीर्थ हेला’ भनेको यही होला । स्वास्थ्यवर्धक वस्तुलाई हेपेर औषधीको मात्र भर पर्ने हो भने त्यसबाट पैसा र समय दुवैको बर्बादी मात्र हुने छ र शरीर भने कमजोरको कमजोर नै रहनेछ ।

आधुनिकताको दौडमा महत्‍वपूर्ण परम्परागत रैथाने ज्ञानलाई बिर्सेर चक्की र क्याप्सुलको पछि लाग्ने बानी हटाउन सकियो भने यसबाट पैसा, हाम्रो रैथाने ज्ञान र परम्परा पनि जोगाउन सकिन्छ

हजुरआमाले बिरामी बालकलाई छिटो तंग्रियोस् भनेर मुंगको जाउलो बनाएर दिनुहुन्थ्यो । मुंग सजिलै पच्छ र छिटो तंग्रिन मद्दत गर्छ भनेर आधुनिक विज्ञानले सिद्ध गरेको छ । खोकी लाग्दा मह र अदुवाको रस बालबालिकालाई फाइदा गर्छ भन्ने ज्ञान हजुरआमाले प्रयोग गर्नुहुन्थ्यो । अहिले विश्व स्वास्थ्य संगठनले पनि खोकी लाग्दा बच्चालाई अदुवाको रस र मह दिन सकिन्छ भनेर स्विकारेको छ । 

यस्ता हजारौँ उदाहरण छन्, जहाँ परम्परागत ज्ञानले मानव स्वास्थ्यमा गर्ने फाइदालाई विज्ञानले सिद्ध गरेको छ । यस ज्ञानमा कुनै एक व्यक्तिको अधिकार छैन । हजारौँ वर्षदेखि चलिआएको यो ज्ञान एक पुस्ताबाट अर्को पुस्तामा सर्दै आएको हो ।

‘कागती र अदुवाको रुख भएको ठाउँबाट रोग भाग्छ’ भन्ने पुरानो चलन छ । तराईतिर गर्मीमा कागतीको सर्बत पिइन्छ । तर, अहिले ठूला होटेलमा लेमन टी, लेमोनेड भनी महँगो मूल्य तिरेर खाने चलन छ । घरको कागतीको रस अपहेलित हुन्छ । घरमा १०–१५ रुपैयाँ खर्च गरेर तीन–चारजनाले कागतीको चिया पिउनुको साटो होटेलमा चार–पाँच गुणा बढी पैसा तिरिन्छ । कागतीको रस मात्र होइन, बोक्रा पनि त्यति नै लाभदायक हुन्छ भन्ने चाहिँ कमैलाई थाहा हुन सक्छ । कागतीको टुक्रामा नुन हालेर घाममा राखेपछि केही दिनमा मिठो ‘संकत्रो’ (निम्की) बन्छ । कागतीको बोक्रालाई टुक्रा–टुक्रा पारेर चपाउँदा पनि यसमा रहेको रेसादार पदार्थका साथै सूक्ष्म पोषण तत्‍वको फाइदा शरीरले पाउँछ ।

पानी, कागती र बिरेनुनमा चनाको सातु मिसाएर बिहानै नास्ता गर्ने तराईको चलन थियो, यसले गर्दा छिट्टै भोक लाग्दैन । शरीरमा प्रोटिन र सूक्ष्म पोषक तत्‍व पुग्छ । गर्मीमा शरीरबाट पसिना धेरै बग्दा रिंगटा लाग्ने समस्या न्यून हुन्छ । बिस्तारै सत्तु पिउने चलन फेरि फर्केको छ । कागती–पानीको सर्बत किन्दा पसलमा ३०–४० रुपैयाँ पर्छ । घरमै बनाए दुई–तीन रुपैयाँमै तयार हुन्छ । सस्तोमा पाइने स्वस्थवर्धक खानेकुराको महत्‍व बुझे स्वास्थ्य राम्रो रहन्छ र पैसाको पनि बचत हुन्छ ।
भिटामिन ‘सी’ले विभिन्न संक्रमणबाट हामीलाई बचाउँछ । रुघाखोकी लागेका वेलामा तातोपानी वा चियामा कागती र मह हालेर पिउँदा सहज अनुभव हुन्छ ।

वाकवाकी लाग्दा, (विशेषगरी गर्भवती अवस्थामा हुने) कागती र अदुवाको प्रयोग गर्ने चनल थियो । अहिलेको विज्ञानले यो ठीक हो भनेर सिद्ध गरेको छ । मासको दाल, गेडागुडी र साग खाँदा कागतीको रस वा अचार पनि प्रयोग गर्दा यसले रक्तअल्पतालाई कम गर्न मद्दत गर्छ । भिटामिन ‘सी’ले लौहतत्‍वको शोषणमा मद्दत गर्छ भनेर विज्ञानले सिद्ध गरेको छ । यही वैज्ञानिक तथ्यलाई ध्यानमा राखेर लौहतत्‍व पाइने औषधीमा भिटामिन ‘सी’ पनि मिसाइन्छ । तर, औषधी मिसाइएको भन्दा प्राकृतिक रूपले भोजनमा पाइने कागती, अमला, अम्बा सस्तो, गुणकारी र स्वादिष्ट हुन्छ । यस्तो परम्परागत ज्ञान गाउँघरका महिला–पुरुषसँग सिकेर यिनलाई जीवनमा प्रयोग गर्न सकिन्छ । 

आधुनिकताको दौडमा यस्ता महत्वपूर्ण, परम्परागत, रैथाने ज्ञान बिर्सेर चक्की, क्याप्सुलको पछि लाग्ने बानी हटाएकै बेस हुन्छ । यसको अर्थ आधुनिक चिकित्सा विज्ञानको महत्‍व नकार्नुचाहिँ अवश्य होइन । जब अस्पताल र चिकित्सकको जरुरत पर्छ, तब हामीले प्रयोग गर्नैपर्छ । तर, कतिपय सहज रूपले प्रयोग गर्न सकिने भोजन र स्वस्थ हुन सक्ने बानीको पनि विकास गर्नुपर्छ । यसले पैसा र परम्परा दुवै बचाउँछ । (उप्रेती जनस्वास्थ्यविद् हुन्)