मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नबिल अहमद
२०७८ माघ ७ शुक्रबार ०७:२७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

महामारी अर्बपतिका लागि अति लाभदायक

Read Time : > 2 मिनेट
नबिल अहमद
२०७८ माघ ७ शुक्रबार ०७:२७:००

महामारी सुरु भएयता अर्बपतिको सम्पत्तिमा भएको वृद्धि त्यसअघिका १४ वर्षमा भएको समग्र वृद्धिभन्दा बढी हो 


हामी क्रूर महामारीको तेस्रो वर्षमा प्रवेश गरेका छौँ । महामारीले सिर्जना गरेको उथलपुथलबीच पनि हामी अझै संसारको पुनर्कल्पना गर्ने प्रयास गरिरहेका छौँ । महामारीको सुरुवाती चरणमा रोगको डरले धनी र गरिब एक भएका थिए । त्यस समय शक्तिशाली राजनीतिज्ञले राष्ट्रवादी संकीर्णताको निन्दा गरे, अति लोभी कर्पोरेट आचरणको उपहास गरे र खोपमाथि सबैको पहुँच हुने प्रतिबद्धता जनाए । बृहत्तर ऐक्यबद्धता महसुस भएको थियो, तर यो भावना सुरुवाती चरणमा मात्र देखियो ।

आधिकारिक तथ्यांकअनुसार कोभिड–१९ ले ५५ लाखभन्दा बढीको ज्यान लिइसकेको छ । तर, मृतकको वास्तविक संख्या १.९ करोडभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ । मानिसले तिनको मृतक आफन्तप्रति शोक व्यक्त गरिरहँदा पनि धनाढ्यहरूमा लोभको भावना घटेको छैन । सन् २०२२ को सुरुवातमा सार्वजनिक भएको तथ्यांकले अर्बपतिको धनवृद्धि त्यस्तो खालको तथ्यांक राख्न थालिएयताकै सबैभन्दा उच्च देखाएको छ । विश्वका १० सबैभन्दा धनी व्यक्तिको सम्पत्ति यस अवधिमा दोब्बर भएको छ । तिनको सम्पत्ति प्रतिसेकेन्ड १५ हजार डलरका दरले बढेको पाइयो । जबकि, यही अवधिमा विश्वका ९९ प्रतिशत मानिसलाई कोभिडले नकारात्मक असर पुर्‍यायो ।

असमानता आफैँमा जनस्वास्थ्य समस्या हो । कुनै व्यक्ति कोभिड–१९ बाट मर्छ कि मर्दैन भन्ने कुरालाई उसको बुढ्यौलीले भन्दा आय असमानताले राम्ररी इंगित गरेको पाइयो । सन् २०२१ मा गरिब देशका लाखौँ मानिस खोप पाउन नसकेकाले मरे । मानिसहरू मरिरहे भने औषधी निर्माता कम्पनीको सिन्डिकेटले धनी मुलुकको आशीर्वादमा खोपको आपूर्तिलाई रोकेर बसिरहे । अर्बौं मानिसलाई खोपमाथिको पहुँच नदिएर खोप महँगो बनाएरसमेत कतिपय मानिस अर्बपति बने ।

असमानताले हामी सबैलाई हानि गर्छ भन्ने तथ्यांक नयाँ–नयाँ भेरियन्टको आगमनले देखाउँछ । मानव निर्मित खोप विभेदका कारण महामारी लम्बिइरहँदा नयाँ–नयाँ भेरियन्ट देखिइरहेको छ र सबैलाई खतरामा पारिरहेको छ । त्यसैगरी हामी कुलीन वर्गबाट लोकतन्त्रलाई जोगाउने संघर्षमा हारिरहेका छौँ । अति धनाढ्य एक प्रतिशतको अति उपभोगबाट उत्पन्न जलवायु संकटविरुद्ध पनि हामी कमजोर देखिएका थियौँ । अबको अन्तरद्वन्द्व धनी र गरिबबीचको रहेन, यो अति धनी र हामी सबैबीचको संघर्ष बनेको छ ।

अक्सफामको नयाँ प्रक्षेपणअनुसार असमानताका कारण प्रत्येक चार सेकेन्डमा कम्तीमा एकजनाको मृत्यु हुन्छ । यस परिघटनालाई सधैँजस्तै धनाढ्यहरूले प्रगति गरेको रूपमा हेर्न उद्यत हुने धेरै हुनेछन् । तर, अहिले असमानताको दर विगतमा नदेखेको स्तरमा पुगिसकेको छ । महामारी सुरु भएयता अर्बपतिको सम्पत्तिमा भएको वृद्धि त्यसअघिका १४ वर्षमा भएको समग्र वृद्धिभन्दा बढी हो । 

अति धनीका लागि महामारी निकै लाभदायक साबित भएको छ । अर्थतन्त्र जोगाउन केन्द्रीय बैंकहरूले वित्तीय बजारमा खन्याएका खर्बौं डलर सेयर बजारको वृद्धिमा सवार भएर अर्बपतिकै खल्तीमा पुगेको छ । अर्बपतिलाई फाइदा हुने गरी यस अवधिमा एकाधिकार शक्तिमा वृद्धि भयो, निजीकरण बढ्दै गयो, श्रमिकको अधिकारमा ठूलो ह्रास आयो भने सम्पत्ति तथा कर्पाेरेटमाथिको करमा क्षय भयो । 

हामी सबै गलत कुरामा इतिहास रचिरहेका छौँ । असमानताको स्तर अहिले २०औँ शताब्दीको प्रारम्भमा पश्चिमी साम्राज्यवाद आफ्नो शिखरमा हुँदाको स्तरमा पुगेको छ । नवउदारवादको असफल र संकीर्ण पकेटबाट परिवर्तन आउँछ भन्ने आशा गर्नु आफँैमा पागलपनको परिभाषा हो । आजको संकटको अभूतपूर्व प्रकृतिले असाधारण र व्यवस्थित कदमको माग गर्छ । साथमा राजनीतिक परिकल्पनामा सक्दो परिवर्तनको माग पनि भइरहेको छ ।

अहिले प्रत्येक सरकारलाई बृहत् आर्थिक समानता हासिल गर्ने र लैंगिक तथा जातीय असमानताविरुद्ध लड्ने २१औँ शताब्दीलाई उपयुक्त हुने योजनाको आवश्यकता छ । यो सामाजिक आन्दोलनको माग हो । सम्पत्तिको असमानतालाई थप आधारभूत रूपमा सम्बोधन गर्न हामीलाई पुँजी र सम्पत्तिमा स्थायी प्रगतिशील कर चाहिन्छ । इतिहास साक्षी छ, दोस्रो विश्वयुद्धको समयमा अमेरिकी राष्ट्रपति फ्र्यांकलिन डी रुजवेल्टले ९४ प्रतिशतसम्मको शीर्ष सीमान्त आयकर दर तोकेका थिए (जुन १९८१ सम्म औसत ८१ प्रतिशत थियो) । सरकारले प्रगतिशील करमार्फत उठेको राजस्वलाई समान, स्वस्थ र स्वतन्त्र समाज निर्माण गर्छ भनेर प्रमाणित, शक्तिशाली माध्यममा लगानी गर्न सक्छ । 

तर, आर्थिक पुनर्वितरण मात्र पर्याप्त हुनेछैन । हामीले बजार, निजी क्षेत्र र भूमण्डलीकरणका नियममा आधारभूत परिवर्तन गरेर तीमार्फत हुने विशाल असमानता रोक्नुपर्छ । यसका लागि शक्ति बदल्नुपर्छ, मजदुरहरूको अधिकार सुदृढ तथा संरक्षण गर्नुपर्छ । करिब तीन अर्ब महिलालाई पुरुषबराबर काम गर्न रोक्ने लिंगभेदी कानुनहरू अन्त्य गर्नुपर्छ । र, लोकतन्त्रमाथि खतरा निम्त्याउने एकाधिकारलाई सम्बोधन गर्नुपर्छ ।

अहिलेको विश्वव्यापी आपतकालबाट कसरी बाहिर निस्किने भन्ने कुरा हामीमा निर्भर छ । हामीसामु दुइटा विकल्प छन् : अहिलेको अर्बपतिको हित गर्ने र घातक असमानता बढाइराख्ने हिंस्रक अर्थतन्त्रहरू कायम राख्ने कि कोही गरिब वा अकल्पनीय अर्बपति नरहने समानतामा आधारित अर्थतन्त्र बनाउने । छनोट हाम्रै हातमा छ । अलजजिराबाट