मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ७ शुक्रबार ०७:१६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नयाँ बसपार्क सामूहिक बलात्कार प्रकरण :  तीन होटेल सञ्चालकविरुद्ध पनि मुद्दा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ७ शुक्रबार ०७:१६:००

तीन साताअघि नयाँ बसपार्कमा एक महिलामाथि नौजनाबाट भएको सामूहिक बलात्कार घटनामा प्रहरीले होटेल सञ्चालकलाई समेत जिम्मेवार बनाएको छ । प्रहरीले तीन होटेल सञ्चालकलाई समेत पक्राउ गरी मुद्दा दायर गरेको छ । 

एसएसपी सुदीप गिरी, महानगरीय प्रहरी परिसर काठमाडौं

यस्ता अपराधमा होटल सञ्चालकलाई समेत उत्तरदायी बनाउन सरकारी वकिल कार्यालयको परामर्शमा उनीहरूलाई पक्राउ गरी मतियारका रुपमा मुद्दा दायर गरेका हौँ ।

होटेल सञ्चालकहरू जानुका घिमिरे पोखरेल, मञ्जु खरेल न्यौपाने र द्रोणाचार्य पौडेललाई पक्राउ गरी घटनाका मतियारमा रूपमा अभियोग लगाएको छ । यस्ता अपराधमा होटेल सञ्चालकलाई समेत उत्तरदायी बनाउन सरकारी वकिल कार्यालयकै परामर्शमा उनीहरूलाई पक्राउ गरी मतियारका रूपमा मुद्दा दायर गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले बताए । ‘होटेलमा आउनेको रेकर्ड राम्रोसँग राखिएको देखिएन,’ एसएसपी गिरीले नयाँ पत्रिकासँग भने, ‘त्यत्रो घटना हुँदा पनि प्रहरीलाई कुनै जानकारीसमेत गराइएन, होटेल सञ्चालकको काम ग्राहकसँग पैसा उठाउने मात्र होइन नि ! होटेलभित्र के भइरहेको छ भनेर जानकारी पनि राख्नु हो । त्यही भएर सञ्चालकलाई पनि मतियार बनाएका हौँ ।’ 

महिलामाथि फरक–फरक तीनवटा होटेलमा सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । पहिलो होटेलमा ६ जनाबाट, दोस्रोमा दुई र तेस्रोमा एकजनाबाट बलात्कार भएको प्रहरीको अनुसन्धानमा खुलेको छ । गत १२ र १३ पुसमा नयाँ बसपार्कमा सुर्खेतबाट काठमाडौं आएकी एक महिलालाई १६ घन्टासम्म नियन्त्रणमा राखेर नौजनाले सामूहिक बलात्कार गरेका थिए । प्रहरीले सिसिक्यामेराको सहयोगमा घटनाको २४ घन्टाभित्रै आरोपीलाई पक्राउ गरेको थियो । अनुसन्धान पूरा गरी नौजना मुख्य आरोपी र तीनजना मतियार गरेर १२ जनाविरुद्ध बुधबार जिल्ला अदालतमा मुद्दा दायर भएको छ । बिहीबारदेखि अदालतमा आरोपीको बयान सुरु भएको छ । 

पीडित महिला घटनाकै दिन सुर्खेतबाट काठमाडौं आएकी थिइन् । सहयोग गर्ने आश्वासनमा आफूलाई होटेलमा लगेर बलात्कार गरिएको पीडितको भनाइ छ । प्रहरीले मुगुको छायाँनाथ नगरपालिकाका हिक्मत नेपाली, रतन नेपाली, शिवहरि बुढा, सुरेश सेजुवाल, दीपक नेपाली, युवराज बडुवाल, हस्त नेपाली र चन्द्र साउद तथा अर्घाखाँची स्थायी घर भई कपिलवस्तुको बुद्धभूमिमा गोपालकुमार शिरीषविरुद्ध मुद्दा दायर भएको छ । उनीहरूमध्ये सबैजसो वैदेशिक रोजगारको प्रक्रियाका लागि नयाँ बसपार्कका गेस्टहाउसमा बसेका थिए । 

गत १३ पुसमा पीडित महिला आफूमाथि नौ–दशजनाले सामूहिक बलात्कार गरेको भन्दै उजुरी लिएर नयाँ बसपार्कस्थित प्रहरी प्रभागमा पुगेपछि प्रहरीले घटनाको जानकारी पाएको थियो । तत्कालै प्रहरीले सिसिक्यामेराको सहयोगमा अनुसन्धान गर्दा महिलालाई युवकहरूले लिएर गएको होटेल पहिचान गरी पक्राउ गरेको थियो । पक्राउको तीन हप्तापछि प्रहरीले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूलाई १५ वर्षसम्म कैद सजायको माग गरी मुद्दा दायर गरिएको छ । मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसुरअनुसार १८ वर्षभन्दा बढी उमेरको महिलामाथि बलात्कारमा १० वर्षसम्म कैद तथा सामूहिक बलात्कारमा थप पाँच वर्ष सजाय हुने कानुनी प्रावधान छ । उनीहरूलाई अधिकतम सजाय माग गरी मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ ।