१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
शुक्रबार ट्रपिकल अस्पताल टेकुमा कोभिडविरुद्धको खोप लगाउन लाइनमा बसेका सर्वसाधारण
अर्जुन अधिकारी काठमाडाैं
२०७८ माघ ७ शुक्रबार ०६:४४:००
Read Time : > 5 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

संक्रमित अहिलेसम्मकै धेरै

Read Time : > 5 मिनेट
२०७८ माघ ७ शुक्रबार ०६:४४:००

पछिल्लो २४ घन्टामा १२ हजार तीन सय ३८ मा संक्रमण पुष्टि, देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार नाघ्यो

नेपालमा कोरोना महामारी सुरु भएयताको सबैभन्दा बढी संक्रमित बिहीबार थपिएका छन् । २४ घन्टामा १२ हजार तीन सय ३८ जना संक्रमित थपिएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार सातजनामा पिसिआर परीक्षण गर्दा १० हजार ५२ र ६ हजार चार सय ९० जनामा एन्टिजेन परीक्षण गर्दा दुई हजार दुई सय ८६ गरी कुल १२ हजार तीन सय ३८ जना नयाँ संक्रमित थपिएका हुन् । सोही अवधिमा ६ सय ४९ जना कोरोनामुक्त भएका छन् । यस अवधिमा संक्रमणबाट चारजनाले ज्यान ज्यान गुमाएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार तीन सय २८ रहेको छ ।

कोरोना बढ्यो, खोप सेवा बढेन 
कोरोनाको तेस्रो लहरमा काठमाडौं उपत्यका नराम्रोसँग घेराबन्दीमा परेको छ । कोरोनाको पहिलो र दोस्रो लहर राजधानीबाहिरबाट प्रवेश पाएको थियो । तर, तेस्रो लहरको उत्पत्ति नै राजधानीबाट सुरु भएको अधिकारीहरू बताउँछन् । दैनिक संक्रमित पुष्टि हुँदा राजधानीको दर बढ्दो क्रममा छ । 

बिहीबार देशभर १२ हजार तीन सय ३८ संक्रमित पुष्टि हुँदा चार हजारभन्दा बढी काठमाडौंका मात्रै छन् । बुधबार चार हजार ६ सय ६८ नयाँ संक्रमित थपिएका थिए । भक्तपुरमा आठ सय ३१ र ललितपुरमा १३ सय ८६ थपिएका छन् । मंगलबार काठमाडौंमा चार हजार तीन सय २१, भक्तपुरमा पाँच सय ५६ र ललितपुरमा सात सय ५५ जना थपिएका थिए ।  राजधानीको कोरोना बढ्नुको मुख्य कारण भिडभाड भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आमिक्रोन संक्रमण तीव्र रूपमा बढ्नु र त्यही वेला काठमाडौंमा पार्टीका महाधिवेशनले भिड बढाउनु मुख्य कारण भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारी भिड व्यवस्थापन नभएका कारण यसपटक राजधानीमा बढी संक्रमित भएको बताउँछन् । 

खोप सेवा लगाउने स्थानमा पनि अचाक्ली भिड देखिएको छ । कहीँ सामाजिक दूरी कायम छैन । खोपकै कारण पनि केस फैलिरहेको चिकित्सकहरू बताउँछन् । देशभर खोप अभियान सञ्चालन भए पनि अपेक्षाअनुसार लगाउन सकेका छैनन् । बिहीबार दुई लाख ३४ हजार दुई सय १४ जनाले खोप लगाएका छन् । सरकारले भने दैनिक पाँच लाखसम्मको लक्ष्य लिएको थियो । देशभर ५७ हजार तीन सय २८ जना सक्रिय संक्रमित पुगेका छन् । सरकारी तथ्यांकअनुसार एक हजार चार सय ९२ जना मात्रै अस्पतालमा बसेका छन् । उनीहरूको अवस्थामा पनि सामान्य रहेको अधिकारीले बताए । हाल देशभर एक सय ८६ जना आइसियू र २७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । 

सार्वजनिक सेवामा आजदेखि खोपकार्ड अनिवार्य
सरकारले सार्वजनिक सेवामा शुक्रबारबाट कोभिडको खोप लगाएकालाई मात्र प्रवेश अनुमति लागू गर्दै छ । यसअघि नै भएको निर्णयअनुसार सार्वजनिक निकाय, कार्यालय, होटेल तथा रेस्टुरेन्टमा खोपको पूर्ण मात्रा लगाएकालाई मात्र प्रवेश दिन भनिएको छ । सार्वजनिक स्थल, पार्कमा पनि खोपकार्ड अनिवार्य गरिएको छ । 

गोष्ठी, सेमिनार, समीक्षा, बैठकमा पनि खोप कार्ड अनिवार्य गरिएको छ । गोष्ठी, सेमिनार, समीक्षा, बैठकलगायत क्रियाकलाप सकभर भर्चुअल माध्यमबाट गर्न भनिएको छ । तर, भौतिक रूपमै उपस्थित भएर गर्नुपरेमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न, एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएकालाई मात्र बढीमा २५ जना सहभागी हुनेगरी सञ्चालन गर्न स्वीकृति दिइएको छ । त्यस्तै, सबै प्रकारका आमसभा, जुलुस, भेला तथा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्मका लागि प्रतिबन्ध लगाइएको छ ।

काठमाडौंमा अत्यावश्यकबाहेक सबै सवारीसाधनमा जोरबिजोर प्रणाली 

तेस्रो लहरको सुरुवातदेखि कोरोनाको हटस्पट बनेको काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सबै सवारीसाधनमा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुँदै छ । स्वास्थ्य मन्त्रालयले माघ दोस्रो साता संक्रमण उच्च बिन्दुमा पुग्ने प्रक्षेपण गरेका वेला उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरूको बिहीबार बसेको बैठकले जोरबिजोर लागू गर्ने निर्णय गरेको हो । 

जोर मितिमा जोर र बिजोर मितिमा बिजोर नम्बरका सवारीसाधन सञ्चालन गर्ने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । ‘दुईपांग्रेसहितका सार्वजनिक र निजी सबै सवारीसाधनमा जोरबिजोर लागू गर्ने निर्णय गरेका छौँ,’ उनले भने, ‘जोर मितिमा जोर र बिजोर मिति बिजोर नम्बरका सवारीसाधन चल्न पाउनेछन् ।’

औषधिलगायत स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन, ग्यास र पेट्रोलियम पदार्थ बोकेका गाडी, खाद्यान्न, फलफूल, तरकारी, माछामासु बोकेका तथा पशुपक्षीका दाना बोकेका सवारीसाधनलाई भने जोरबिजोर लागू हुनेछैन । सरकारी नम्बर प्लेटका सवारीसाधनलाई पनि जोरबिजोर लगाइएको छैन । 

सिडिओहरूको संयुक्त बैठकको निर्णयपछि तीनवटै जिल्ला प्रशासनले एकै व्यहोराको सार्वजनिक सूचना जारी गरी आलोपालो सेवाप्रवाहको प्रबन्ध मिलाउन पनि भनेका छन् । सार्वजनिक निकायका कैयौँ कर्मचारी पनि कोभिड संक्रमित भएको र भिडभाडका कारण संक्रमण बढ्न सक्ने भएकाले सेवा प्रवाहमा आलोपालो मिलाउन भनिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।

त्रिविका ९ माघपछिका परीक्षा मात्र स्थगित हुने
त्रिभुवन विश्वविद्यालयले ९ माघदेखिका परीक्षा स्थगित गरेको छ । शुक्रबार बिएस्सी चौथो वर्ष र शनिबार व्यवस्थापन संकायको स्नातक तहको प्रवेश परीक्षा सञ्चालन गरी आइतबारदेखि मात्र परीक्षा स्थगित गर्ने त्रिविले निर्णय गरेको हो । कोभिडको संक्रमण तीव्र गतिमा फैलिएपछि परीक्षाहरू स्थगित भएको हो । त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले बिएस्सी चौथो वर्षका थोरै विद्यार्थी र छोटो समयको भएकाले शुक्रबार परीक्षा सञ्चालन हुने बताए ।

बिएस्सीको सञ्चालन भइरहेको परीक्षा शुक्रबारबाट सम्पन्न हुने र आइतबारदेखि हुने भनिएको कानुन संकायका परीक्षा अर्को सूचना नहुन्जेल स्थगित गर्ने निर्णय भएको नियन्त्रक जोशीले बताए । उपत्यका र बाहिरका परीक्षा केन्द्रहरूमा शिक्षक, कर्मचारी तथा विद्यार्थीसमेत संक्रमित भएकाले बिहीबार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

शनिबार त्रिविको व्यवस्थापन संकायमा ठूलो संख्यामा प्रवेश परीक्षा दिँदै छन् । सो परीक्षा भने सञ्चालन गर्ने भएको छ । सेमेस्टर प्रणालीका विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि व्यवस्थापन संकायले प्रवेश परीक्षा लिँदै छ । ठूलो संख्या भएको र खोपसमेत नपाएका विद्यार्थीहरू संक्रमणको त्रासमा छन् ।

त्रिविले परीक्षा स्थगित गरेपछि पूर्वाञ्चल विश्वविद्यालयले पनि बैठक बसेर निर्णय गर्ने तयारी गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतले शुक्रबार बैठक बसेर निर्णय गर्ने बताए । ‘सम्भवतः भोलि बैठक बसेर बाँकी परीक्षा स्थगित गर्ने निर्णय हुन्छ,’ उनले भने । पूर्वाञ्चल विश्वविद्यालयमा बिहीबारसम्म परीक्षा चलेको थियो । 

लोकसेवाका लिखित परीक्षा स्थगित
कोभिड– १९ संक्रमणले लोकसेवा आयोगका परीक्षा पनि स्थगित भएका छन् । आयोगको बिहीबारको बैठकले ११ गतेदेखि माघ मसान्तसम्म तय भएको सबै लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । ‘कोभिड संक्रमणले परीक्षा सञ्चालन गर्ने स्थिति बनेन,’ आयोगका प्रवक्ता तोयनारायण सुवेदीले भने, ‘अवस्था सहज भएपछि थप निर्णय हुनेछ ।’ उपसचिव प्राविधिक, स्वास्थ्य सेवा नवौँ तह, नेपाल प्रहरी, नेपाली सेना र नेपाल विद्युत् प्राधिकरणको लिखित परीक्षा माघका लागि तय भएको थियो । तर, अब १ फागुनदेखि सञ्चालन हुने भनिएका लिखित परीक्षा पनि कम्तीमा एक साताको पूर्वसूचना दिएर पुनः तालिकीकरण हुने उनले बताए । आयोगका अन्य काम भने यथावत् रहनेछन् । 

कर्मचारीमा पनि कोभिड– १९ को संक्रमण बढेपछि पछिल्लो समय सरकारी कार्यालयले सेवा कटौती गरेका छन् । काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकता प्रदान, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी वितरण स्थगित गरिसकेका छन् । त्यस्तै, राहदानी विभागले पनि अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ । यसअघि टोकन लिएका तथा बुकिङ भएकाबाहेक नयाँ राहदानी जारी गर्न बन्द गरिएको छ ।

सुनसरीमा ४८ स्वास्थ्यकर्मी संक्रमित 

देवेन्द्र कार्की/ धरान । सुनसरीका विभिन्न स्थानीय तहका ४८ जना स्वास्थ्यकर्मीलाई कोभिड संक्रमण भएको छ । स्वास्थ्यकर्मीहरू नै संक्रमित भएपछि अस्पतालहरूमा स्वास्थ्य सेवामा समस्या देखिन थालेको छ । जिल्ला जनस्वास्थ्य प्रमुख सागर प्रसाईका अनुसार इटहरी उपमहानगरपालिकामा १४, बराहक्षेत्र नगरपालिकामा १०, नरुवा नगरपालिकामा तीन, धरान उपमहानगरपालिकामा १७, हरिनगरा गाउँपालिकामा दुई र कोसी गाउँपालिकामा एकजना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । 

बराहक्षेत्र नगरको चतरा, मधुवन प्राथमिक स्वास्थ्य केन्द्र र प्रकाशपुर स्वास्थ्य चौकीका १० जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । बुधबार र बिहीबार गरिएको परीक्षणमा प्राथमिक स्वास्थ्य केन्द्र चतराको ल्याबमा कार्यरत तीन र पारामेडिक्सका चिकित्सक दुई, प्रकाशपुरको स्वास्थ्य चौकीका दुई महिला र दुई पुरुष कर्मचारी तथा मधुवन प्राथमिक स्वास्थ्य केन्द्रका एकजना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य सहायक जितेशजंग थापाले जानकारी दिएका छन् । उनीहरूसँग नजिक भएर काम गरेका स्वास्थ्यकर्मीहरू कन्ट्याक ट्रेसिङमा परेपछि स्वास्थ्य केन्द्रहरू स्वास्थ्यकर्मीविहीन हुन थालेको स्थानीयले बताएका छन् । 

धरान उपमहानगरपालिकाका विभिन्न स्वास्थ केन्द्रका १७ जना स्वास्थ्यकर्मी संक्रमित छन् । वडा नम्बर १४ र २० को स्वास्थ्य केन्द्र बन्द नै गर्नुपरेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

दुई स्वास्थ्यकर्मीसहित ३९ जनालाई कोरोना : सामान्य बिरामीलाई अस्पताल नआउन आग्रह

नरेन्द्रसिंह कार्की/ दार्चुला । दार्चुलामा दुई स्वास्थ्यकर्मीसहित ३९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आउने अधिकांशमा संक्रमण पुष्टि भएको हो । कोरोना देखिएकोमा दुईजना जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए । संक्रमण पुष्टि भएपछि अहिले भारतसँग सीमा जोडिएका नाकाहरूमा एन्टिजेन परीक्षण सुरु गरिएको उनको भनाइ छ ।

अहिले पुलघाट, जोलजीवी र दत्तुमा चेकजाँचको व्यवस्था मिलाइएको छ । सीमामा आउने सबैको अनिवार्य चेकजाँचको व्यवस्था मिलाइएको उनले बताए । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सामान्य र पछि जाँच गराउँदा पनि निको हुने बिरामीलाई तत्काल अस्पताल नआउन आग्रह गरेको छ । जिल्ला अस्पतालका डा.आदर्श लिम्बूले सामान्य प्रकृतिका बिरामीलाई तत्काल अस्पताल नआउन भनेको बताए ।

विगत केही दिनदेखि जिल्लामा कोरोना संक्रमित बढ्दै गएकाले सामान्य बिरामी नआउन आग्रह गरिएको उनले बताए । कोरोना संक्रमित बिरामीलाई राख्न ठाउँ अभाव हुने भएकाले तत्काल अस्पताल नआउन आग्रह गरिएको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो समय अस्पतालमा चिसोबाट प्रभावित भएर उपचारका लागि अस्पताल आइपुग्ने बिरामीको संख्या पनि ह्वात्तै बढेको अस्पतालले जनाएको छ । 

कोरोना जोखिम बढ्दै गएपछि जिल्ला कारागारमा कैदीबन्दी भेटघाट बन्द गरिएको छ । जिल्ला कारागारले कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखेर कैदीबन्दी भेटघाट बन्द गरेको हो । कारागार प्रशासनले गत वर्ष पनि कोरोना संक्रमण उच्च हुँदा केही समयलाई कैदीबन्दी भेटघाट बन्द गरेको थियो । कोरोना जोखिम कम हुँदै गएपछि कैदीबन्दी भेटघाट खुला गरिएकामा हाल जोखिम तीव्र गतिमा बढेकाले भेटघाटलाई पूर्णरूपमा बन्द गरिएको जिल्ला कारागारका जेलर वीरेन्द्रसिंह धामीले जानकारी दिए ।

मध्यबिन्दु अस्पतालका २५ कर्मचारीलाई कोरोना, ओपिडी सेवा बन्द

रामकुमार श्रेष्ठ/ नवलपरासी । पूर्वी नवलपरासीको मध्यबिन्दु जिल्ला अस्पतालमा कार्यरत कर्मचारीमध्ये एकचौथाइ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । मध्यबिन्दु जिल्ला अस्पताल डण्डाका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार अस्पतालका सबै शाखाका गरी एक सय कर्मचारीमध्ये २५ जनामा कोरोना देखिएको हो । अस्पतालका एकचौथाइ कर्मचारीमा कोरोना देखिएपछि अस्पतालको ओपिडी सेवा र पिसिआर परीक्षण सेवा बन्द भएको उनले बताए । अस्पतालमा इमर्जेन्सी सेवा र कोरोना परीक्षणका लागि एन्टिजेन प्रविधिबाट परीक्षण भने भइरहेको छ । अस्पतालको पिसिआर परीक्षण शाखाका कर्मचारीहरूलाई कोरोना देखिएपछि परीक्षणमा जटिलता थपिएको छ ।