मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
बालुवाटारमा मंगलबार बसेको सत्तागठबन्धनको बैठक
शुरोजंग पाण्डे काठमाडाैं
२०७८ माघ ७ शुक्रबार ०६:०९:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चुनावका  विकल्पमाथि गठबन्धनमा छलफल

Read Time : > 2 मिनेट
२०७८ माघ ७ शुक्रबार ०६:०९:००

गठबन्धनका तीन विकल्प 
१. निर्वाचन आयोगले प्रस्ताव गरेअनुसार वैशाखमा स्थानीय तहको चुनाव गर्ने सत्तागठबन्धनका लागि स्वाभाविक विकल्प हो । तर, सुरुमा स्थानीय तहको निर्वाचनमा जाँदा गठबन्धनको भविष्यलाई लिएर प्रचण्ड र माधव नेपाल चिन्तित छन् । 

२. वैशाखमा संघीय संसद्को र कात्तिक–मंसिरमा स्थानीय तहको चुनाव गर्नेमा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको जोड छ । सुरुमा प्रतिनिधिसभाको चुनावले गठबन्धनलाई सुरक्षित राख्न सक्ने ती दलका नेताहरूको बुझाइ छ । तर, चुनाव सार्न खोजेको आरोप लाग्ने भएकाले प्रधानमन्त्री देउवा यो विकल्पमा अझै तयार छैनन् । 

३. स्थानीय, प्रदेश र संघको चुनाव वैशाख वा मंसिरमा एकैपटक गर्ने तेस्रो विकल्पमा गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूबीच छलफल भइरहेको छ । वैशाख–जेठमै तीनै तहको चुनाव एकैपटक गर्न सकिने विकल्पमा प्रधानमन्त्री देउवा लचक छन् । तर, पुनः संसद् विघटनको आरोप लाग्ने भएकाले यसमा उनले पर्याप्त परामर्श खोजेका छन् । 

...                                             ...

सत्तारुढ पाँचदलीय गठबन्धनले चुनावका विभिन्न तीन विकल्पमा छलफल अगाडि बढाएको छ । विभिन्न विकल्पमा शीर्ष तहमा छलफल भए पनि गठबन्धनमा कुनै विषयमा सहमति जुटेको छैन, बरु थप छलफलका लागि शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाइएको छ । 

ओलीलाई पाठ सिकाउन पनि तीनै निर्वाचन एकैपटक गर्नुपर्छ : माधव नेपाल, अध्यक्ष, एकीकृत समाजवादी

अदालतमा विचाराधीन मुद्दामा कुरा उठाउनै पाइँदैन, तर एमालेले लगातार संसद् अवरुद्ध गरेर लाज पचाएको छ, कानुनी राज्यको खिल्ली उडाउँदै विध्वंसकारी बाटो लिएको छ । देशलाई बचाउन र जनताबाट प्रतिगामी तत्वलाई पाठ सिकाउन छिटो चुनावको आवश्यकता छ । त्यसैले निर्वाचनमा जाने हो भने सबै एकैचोटि गर्नुपर्छ, त्यसका लागि अनेक विकल्प छन्, छलफलबाटै टुंगोमा पुग्नुपर्छ ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन घोषणाको संवैधानिक र कानुनी समयसीमा गुज्रिन लागेको भन्दै ताकेता बढाइरहेकै वेला गठबन्धनको शीर्ष तहमा संघीय निर्वाचन पहिला गर्नेलगायत विकल्पमा छलफल अघि बढेको हो । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बसेको प्रधानमन्त्री शेरबहादुर देउवासहित तीन दलका शीर्ष नेताहरूको बैठकले निर्वाचनबारे तत्काल निर्णय लिने विभिन्न विकल्पमा छलफल गरेको छ । बैठकमा आगामी वैशाखमा स्थानीय तहको निर्वाचन घोषणा गर्ने, वैशाखमै संसद्को निर्वाचन गर्ने कि तीनवटै तहको निर्वाचन वैशाख या मंसिरमा गर्ने भन्ने विकल्पमा छलफल भएको छ ।

छलफलमा प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए । शीर्ष तहमा केही निर्णय भने भएको छैन । शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा थप छलफल गर्ने उनीहरूको समझदारी छ । त्यसअघि उनीहरूले आ–आफ्नै दलभित्र आन्तरिक छलफल गर्नेछन् । वैशाखमा संघीय संसद्को चुनावमा जाँदा प्रतिनिधिसभा विघटन गर्नुपर्ने र यो पुनः अदालती विषय बन्न सक्ने गठबन्धनका नेताहरूमा डर छ । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेले संसद् अवरुद्ध पारिराखेकाले वैशाखमा स्थानीय तहको भन्दा पनि संसद्को निर्वाचन गर्दा उपयुक्त हुने प्रस्ताव यसअघि नै मंगलबारको समन्वय समितिको बैठकमा राखेका थिए । बिहीबार एकीकृत समाजवादीका अध्यक्ष नेपालले वैशाख या मंसिर जुनसुकै महिनामा गरे पनि खर्चका हिसाबले तीनवटै तहको निर्वाचन एकैपटक गर्दा उपयुक्त हुने धारणा राखेका थिए । 

नेपालले पनि विपक्षले संसद् अवरोध गरेकाले चुनावको विकल्प नरहेको बताएका छन् । ‘अदालतमा विचाराधीन मुद्दामा कुरा उठाउनै पाइँदैन, तर एमालेले लगातार संसद् अवरुद्ध गरेर लाज पचाएको छ, कानुनी राज्यको खिल्ली उडाउँदै विध्वंसकारी बाटो लिनेबाट देशलाई बचाउन र जनताबाट पाठ सिकाउन छिटो चुनावको आवश्यकता छ,’ नेपाललाई उद्धृत गर्दै उनीनिकट एक नेताले नयाँ पत्रिकासँग भने, ‘त्यसैले निर्वाचनमा जाने हो भने सबै एकैचोटि गर्नुपर्छ, त्यसका लागि अनेक विकल्प छन्, छलफलबाटै टुंगोमा पुग्नुपर्छ ।’ 

नेपालले संघ, प्रदेश र स्थानीयसहित तीनवटै तहको निर्वाचन मंसिरमा हुनुपर्नेमा जोड दिँदै आएका छन् । त्यसका लागि संवैधानिक र कानुनी व्यवधान भए हटाएर जानुपर्ने उनको भनाइ छ । 

तर, स्थानीय तहको निर्वाचन मंसिरसम्म धकेल्दा गलत राजनीतिक सन्देश जाने भन्दै प्रधानमन्त्री देउवा भने उपयुक्त विकल्पको खोजीमा रहेको स्रोतले जनाएको छ । गठबन्धनभित्र चुनावबारे प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालले राखेको फरक–फरक प्रस्तावमाथि छलफल चलिरहेको छ । 

वैशाख वा जेठको पहिलो साताभित्र गर्ने गरी स्थानीय तहको निर्वाचन घोषणा नभए निर्वाचन आयोगलाई काम गर्न अप्ठ्यारो हुने मात्र होइन, संवैधानिक, कानुनी र राजनीतिक प्रश्न खडा हुने अवस्था छ । आयोगले १४ र २२ वैशाखमा स्थानीय तहको चुनावका लागि मिति तोक्न सरकारसमक्ष प्रस्ताव गरिसकेको छ । 

शीर्ष बैठकले शुक्रबार अपराह्न ४ बजे बालुवाटारमा सत्तागठबन्धनको बैठक बोलाउने निर्णय गरेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए । कोरोना संक्रमणबाट मुक्त भएपछि नेकपा एसका अध्यक्ष नेपाल पहिलोपटक शीर्ष बैठकमा सहभागी भएका हुन् ।

मंगलबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले बिहीबार गठबन्धनको बैठक बसेर स्थानीय चुनावबारे निर्णय गर्ने समझदारी गरेको थियो । तर, त्यस विषयमा शुक्रबार पुनः उच्चस्तरीय राजनीतिक समन्वय समितिमा छलफल हुने भएपछि चुनाव घोषणामा अन्योल बढेको छ ।