मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ७ शुक्रबार ०६:०१:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता  लिन विद्यार्थी संगठनहरूको माग

अनेरास्ववियुलगायत ६ विद्यार्थी संगठनले संयुक्त र नेविसंघले छुट्टै विज्ञप्ति निकालेर मूल्यवृद्धि फिर्ता लिन माग गरे, अनेरास्ववियुले विभिन्न क्याम्पसअगाडि प्रधानमन्त्रीको पुत्लासमेत जलाएका छन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ७ शुक्रबार ०६:०१:००

मूल्यवृद्धिको विरोध

मूल्यवृद्धिको विरोधमा बिहीबार साँझ प्रदर्शनीमार्गमा टायर बालेर विरोध प्रदर्शन गर्दै विद्यार्थी । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

प्रतिपक्षीदेखि सत्तारुढ दलनिकट विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । प्रमुख प्रतिपक्षी एमालेनिकट अनेरास्ववियुले प्रदर्शन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ भने कांग्रेसनिकट नेविसंघले विज्ञप्ति निकालेर मूल्यवृद्धि फिर्ता लिन दबाब दिएको छ । 

अनेरास्ववियुले अस्कल र शंकरदेव क्याम्पसअगाडि प्रधानमन्त्री देउवाको पुत्ला जलाएको हो । पोखरा, धुलिखेल, बुटवल र विराटनगरमा पनि प्रधानमन्त्रीको पुत्ला जलाएर विरोध गरिएको अनेरास्ववियुका महासचिव समिक बडालले बताए । ‘महामारीको कठिन परिस्थितिमा जनतालाई राहत दिनुपर्नेमा मूल्यवृद्धि गरेर ढाड सेक्ने काम भएकाले देशका विभिन्न ठाउँमा विरोध गरेका छौँ,’ उनले भने । विद्यार्थीहरूले पोखरामा स्कुटी र मोटरसाइकल डोहोर्‍याएर प्रतीकात्मक विरोध गरेका थिए । 

अनेरास्ववियुसहित ६ विद्यार्थी संगठनले संयुक्त विज्ञप्तिसमेत जारी गरी मूल्यवृद्धि फिर्ता लिएर विपन्न नागरिकलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । जसमा अखिल क्रान्तिकारी, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, राष्ट्रिय विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र राष्ट्रवादी विद्यार्थी संगठन छन् । 

‘आयल निगमले चुहावट नियन्त्रणमा ध्यान नदिने, घाटा हुँदा पनि कर्मचारीलाई बोनस र भक्ता वितरण गर्ने, कर्मचारीको मनोमानी लुकाएर निगमलाई निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखी पटक–पटक मूल्यवृद्धि गर्ने कदमप्रति खेद व्यक्त गर्छौँ,’ विज्ञप्तिमा भनिएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महँगी बढ्न गई सेवाग्राही र जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिएर गरिब जनतालाई राहत प्याकेजको व्यवस्था गर्न पनि माग गरेका छन् । 

कांग्रेसनिकट नेविसंघले पनि कोरोना महामारीको असरबाट प्रभावित उपभोक्तालाई सर्वसुलभ सेवा, सहुलियत र राहतको जरुरत रहेकोमा उल्टै थप पीडा दिने गरी पेट्रोलिय पदार्थको मूल्यविरुद्ध गरेकोमा भत्र्सना गरेको छ । महामन्त्री बलदेव तिमल्सिनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आहतका वेला राहत दिनुपर्नेमा कर र कमिसनमा लिप्त निगम जनताको चुलो बन्द गराउने बाटोमा लागिरहेको छ । अत्यावश्यकीय उपभोग्य वस्तुमाथि पटकपटक गरिएको मूल्यवृद्धिले उपभोक्ताले चरम पीडा खेप्नुपरेकाले मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दछौँ ।’ सरकारले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा तीन–तीन रुपैयाँ वृद्धि गरेको थियो ।