मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ माघ ६ बिहीबार ०८:४२:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

रुघाखोकी हो कि भनेर हेलचेक्र्याइँ नगरौँ कोभिड पनि हुन सक्छ

Read Time : > 2 मिनेट
२०७८ माघ ६ बिहीबार ०८:४२:००

स्वास्थ्य सचेतना

कोभिडको दुवै लहरमा सक्रिय रूपमा काम गर्दा पनि म जोगिएको थिएँ । त्यतिवेला सकेसम्म हरेक कार्यक्रममा पुग्थेँ, संक्रमितका घरमा होस् वा जिल्लाका आइसोलेसन, क्वारेन्टिन व्यवस्थापन जहाँ पनि पुगेकै हुन्थेँ । 

दीपक तिवारी प्रमुख, स्वास्थ्य कार्यालय चितवन

मुख्य त म माक्स खोल्थिनँ, घरमा बाहेक अन्तः खानपान हुन्थेन । अहिले पनि उत्तिकै सुरक्षासहित काम गरेकै थिएँ । तर, जोगिन सकिनँ । यसको एउटा कारण यो भेरियन्ट अलि बढी संक्रामक रहेछ भन्ने लाग्छ । पहिले जुन ढंगबाट सावधानी अपनाइन्थो त्यो सावधानीले अहिले नपुग्ने रहेछ । 

२२ र २३ पुसमा काठमाडौंमा प्रजनन स्वास्थ्यको समीक्षा थियो । म पनि सहभागी थिएँ । १३ जिल्लाका सहभागीहरू हामी एउटै हलमा खचाखच थियौँ । खाना नास्ता खाने ठाउँ पनि साँघुरो थियो । अन्यन्त्र गएर खाने ठाउँ पनि भएन । त्यहीँबाट मलाई कोरोना संक्रमण भयो कि भन्ने लागेको छ । 

कार्यक्रममा सहभागी भएको केही दिनपछि मलाई असहज भयो । २८ पुसमा परीक्षण गर्दा कोरोना पजिटिभ देखियो । सिटिभ्यालु १४ मात्र रहेछ । मलाई जिउ दुखेर थकान महसुस हुने, सुरुको दिनमा छिनछिनमा गर्मी र अति नै जाडोको अनुभव भयो । टाउको दुखाइ पनि थियो । तीन दिन सास नै फेर्न नमिल्ने गरेर नाक डम्म भएको थियो । मुखले नै सास फेर्थेँ । आफ्नै क्वार्टरमा आइसोलेसन बसेँ । मेरो श्रीमती प्रतिभा अधिकारी पनि नर्स हुन् । हामी दुईजनालाई नै एकैपटक कोभिड देखिएको थियो । शरीरलाई आराम दिन चिकित्सकको सल्लाहमा औषधिहरू पनि प्रयोग गरेँ ।

तर, औषधिले लामो समयसम्म काम गर्थेन । रुघा र खोकीले मलाई निकै सतायो । डाक्टरहरूसँग फोनमा संवाद भइराख्थ्यो । भिटामिन, एन्टिबायोटिक, सिटामल प्रयोग गरेँ । खोप पनि लगाएकाले होला त्यति डर भने लागेको थिएन । आफूलाई कमजोर महसुस गरिनँ । संक्रामक हिसाबले यो भेरियन्ट सजिलै फैलिने रहेछ भने शरीरलाई कमजोर बनाउने दर भने कम रहेछ । संक्रमण भएपछि स्वाद, गन्धमा भने फरक पारेको पाइन ।

पोषिलो, झोलिलो खानेकुरामा एकदमै जोड दिनुपर्ने रहेछ । मलाई त्यसै कारणले छिटो निको भयो भन्ने लाग्छ । खानेकुरामा मैले पहिलेको जसरी नै खान्थेँ । बिहान उठ्नेबित्तिकै तातोपानी, चिया र केहीबेरमा खाना खान्थेँ । संक्रमित भएपछि दिउँसो दुईपटक खाजा र साँझ पुनः खाना खाने गर्थेँ । यो बीचमा झोलियो आयुर्वेदिक जडीबुटीको झोल भने बारम्बर खाने गर्थेँ । 

सामान्य हुँदा पनि ओमिक्रोनले पाँच दिन साह्रै गाह्रो बनाउँदो रहेछ । रोग लाग्नै नदिनु राम्रो उपाय हो । धेरैजनामा संक्रमण फैलिएको छ । आवश्यक काम नपरीकन घरकबाट बाहिर ननिस्कौँ, आफू र परिवारलाई सुरक्षित राखौँ । नगरी नहुने कामबाहेक पछि गरे पनि हुने कामलाई अहिले नै गर्न हतार नगरौँ । कोभिडको शंका लागेमा कोभिडको परीक्षण गरेर छिटै निको पार्न सकिन्छ भने सर्नबाट रोक्न सकिन्छ । अहिले कोभिडको स्वरूप रुघाखोकीजस्तो भएर बसेको छ त्यसैले सिजनको रुघाखोकी हो भनेर हेलचेक्र्याइँ नगरौँ यो कोभिड पनि हुन सक्छ । म सबैलाई यसप्रति सचेत बन्न अनुरोध गर्छु । मेरो घरमा म र श्रीमतीसँगै छोराछोरी र आमा हुनुहुन्थो । हाम्रो सुरक्षाकै कारणले उहाँहरूलाई संक्रमण देखिएको छैन । अफिसमा पनि अहिलेसम्म साथीहरूमा कुनै लक्षण छैन । 

संक्रमण हुँदा पनि कामको चाप 
नेपाल सरकारको नियमले सात दिन मात्र आइसोलेसनमा बस्न पाउने भनेको छ । आज (बुधबार) कोभिड परीक्षण गराएर काममा फर्कने तयारीमा थिएँ । फोनहरू आइरहेको छ कामको चाप पनि थपिएको छ । अलग्गै बसेर भने पनि कार्यलयमा नै गएर काम गर्छु । 

संक्रमण भएको समयमा पूर्ण बिदा लिएर बस्न मिलेन । बोल्न सक्दा फोन नत्र सामाजिक सञ्जाल र म्यासेजमार्फत कार्यालयको काममा सहभागी भएको हुन्थँे । सकेर नसकेर काम त निरन्तर नै गरिराखेँ । यही समयमा कामको जिम्मेवारी पनि थपियो ।