मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तिवारी यादव वीरगन्ज
२०७८ माघ ५ बुधबार १२:३७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वीरगन्जलाई प्रदेश राजधानी बनाउन राजनीतिक दलहरूले संयुक्त संघर्ष गर्ने 

Read Time : > 1 मिनेट
२०७८ माघ ५ बुधबार १२:३७:००

मधेस प्रदेशको राजधानी जनकपुर तोकिएपछि वीरगन्जलाई राजधानी बनाउन संघर्ष समिति गठन गर्ने निर्णय भएको छ । बुधबार बिहान वीरगन्जमा बसेको चार राजनीतिक दलको संयुक्त बैठकले वीरगन्जलाई राजधानी बनाउन संघर्ष समिति गठन गर्न निर्णय गरेको हो । 

बैठकमा नेकपा एमाले वीरगन्ज महानगरका सचिव सुन्दर कुर्मी, एकीकृत समाजवादीका महानगरका अध्यक्ष मनोज चौधरी, सचिव वृजलाल पासवान, नेपाली कांग्रेस महानगरका अध्यक्ष भोला कलवार, लोसपाका नेता राजेशमान सिंह, मुकेश द्विवेदीसहितको बैठकलले वीरगन्ज राजधानी बनाउन संघर्षको कार्यक्रम तय गर्ने निर्णय भएको लोसपाका नेता सुजित गिरीले जानकारी दिए । 

बैठकमा वीरगन्जलाई प्रदेशको राजधानी बनाउन विभिन्न आन्दोलनको कार्यक्रम तय गर्ने र ५ बजे घन्टाघर चोकमा मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन गर्ने निर्णय भएको गिरीले बताए । सोमबार जनकपुरलाई राजधानी बनाउने प्रस्ताव पारित भएपछि पर्सामा मुख्यमन्त्री लालबाबु राउतको लगातार पुत्ला दहन हुँदै आएको छ । सोमबार प्रदेश सभामा भएको मतदानले प्रदेशको राजधानी जनकपुर तोकेपछि पोखरिया बजारमा राउतको मंगलबार पुत्ला दहन भएको हो ।

नेकपा एमाले पोखरिया नगर कमिटीको अगुवाइमा निस्केको कालो झन्डासहितको प्रदर्शनमा ‘मुख्यमन्त्री लालबाबु चाहिँदैन, हाम्रो वीरगन्जलाई कुर्सीसँग बेच्न पाइँदैन’, ‘मुख्यमन्त्री लालबाबु मुर्दावाद’लगायतका नारा लगाएका थिए ।

प्रदर्शनमा सहभागीहरूले मधेस आन्दोलनका वेला नेताहरूले वीरगन्जसँग गरेको वाचा बिर्सेको आरोप लगाएका छन् । मुख्यमन्त्री राउतको गृहजिल्ला पर्सामा विगतमा मधेसी नेताहरूले वीरगन्जलाई नै राजधानी बनाउने आश्वासन दिएको उनीहरूको भनाइ छ । 

राजधानी जनकपुर पारित भएपछि मंगलबार नै  वीरगन्जमा कालो झन्डा प्रदर्शन भएको थियो । नेपाली कांग्रेस वीरगन्ज महानगरपालिकाको अगुवाइमा निस्केको कालो झन्डासहितको जुलुस आदर्शनगर, माईस्थान, घन्टाघर, हुँदै नगरको परिक्रम गरेर वीरगन्ज– १३ तेजारथ टोलस्थित मुख्यमन्त्री लालबाबु राउतको घरअगाडि पुगेर प्रदर्शन गरेको थियो । वीरगन्ज महानगरपालिका– ११ तेजारथ टोलस्थित मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुंगा प्रहार भएको थियो । कुल एक सय चार सांसद रहेको प्रदेश सभामा सोमबार जनकपुरलाई राजधानी बनाउने प्रस्तावको पक्षमा ७८ मत परेको थियो । दुईतिहाइ बहुमतका लागि ७० मत आवश्यक थियो ।