१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
अजित अधिकारी काठमाडौं
२०७८ माघ ५ बुधबार १०:०२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आयल निगमले भन्यो– तेल किन्न ऋण लिनुपर्ने अवस्था आयो

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७८ माघ ५ बुधबार १०:०२:००

नेपाल आयल निगमले तेल आयात गर्न ऋण लिनुपर्ने अवस्था सिर्जना भएको बताएको छ । डेढ वर्षदेखि निरन्तर नोक्सानीमा गएकाले सञ्चित नाफासमेत सकिन गई आगामी दिनमा पेट्रोलियम पदार्थको मूल्य भुक्तानी गर्दा ऋण लिनुपर्ने अवस्थामा पुगेको निगमले विज्ञप्ति जारी गर्दै जनाएको छ । २ माघमा इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट प्राप्त गरेको नयाँ मूल्यअनुसार इन्धन बिक्री गर्दा आगामी १५ दिनमा दुई अर्ब २४ करोड ४० लाख रुपैयाँ नोक्सान हुने प्रक्षेपण गरेको आयल निगमका सहायक प्रवक्ता पुष्कर कार्कीले बताए । ‘आइओसीलाई भुक्तानी गर्न हामीले तेल बेचेर उठेको पैसामा दुई अर्ब २४ करोड रुपैयाँ अपुग हुन्छ,’ उनले भने, ‘यो अपुग हुने रकम ऋण लिनुपर्ने अवस्थामा पुगेका छौँ ।’ 

आर्थिक वर्ष ०७१/७२ अघि आयल निगमले आइओसीलाई भुक्तानी गर्न ऋण लिनुपर्ने अवस्था थियो । सरकार तथा विभिन्न सरकारी एजेन्सीले समयमा ऋण नदिँदा आयात प्रभावित भई बजारमा पेट्रोलियम पदार्थको अभाव सिर्जना हुने गरेको थियो । ०७१ असोजमा स्वचालित मूल्य प्रणाली लागू गरेपछि भने निगम आर्थिक रूपमा सबल बन्दै आएको थियो । यद्यपि, दुई वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर बढ्न थालेपछि सोअनुसार मूल्य बढाउन नपाएको र त्यसले निगम आर्थिक रूपमा जटिल अवस्थामा पुगेको कार्कीले बताए ।

आयल निगमले अहिले पेट्रोल ७९.४० रुपैयाँ, डिजेल ७८.१८ रुपैयाँ, मट्टीतेल ७०.३० रुपैयाँ, हवाई इन्धन ७३.४७ रुपैयाँ प्रतिलिटर र ग्यास एक हजार ६ सय चार रुपैयाँ ११ पैसा प्रतिसिलिन्डरमा खरिद गर्दै आएको छ । यसमा कर, निगमको खर्च, ढुवानी खर्च, व्यवसायीको कमिसनलगायत जोड्दा लागत मूल्य नै पेट्रोलमा १४९.१८ रुपैयाँ, डिजेलमा १२७.८१ रुपैयाँ, मट्टीतेलमा ९८.५० रुपैयाँ, आन्तरिक हवाई इन्धनमा ९४.६२ रुपैयाँ र बाह्य हवाई इन्धनमा ०.८९५ डलर प्रतिलिटर पर्न जाने निगमले जनाएको छ । 

ग्यासको लागत मूल्य दुई हजार दुई सय २१ रुपैयाँ १६ पैसा हुन आउँछ । हाल निगमले पेट्रोल प्रतिलिटर एक सय ३६ रुपैयाँ, डिजेल र मट्टीतेल एक सय १९ रुपैयाँ, एटिसी एक सय एक रुपैयाँ, एलपी ग्यास एक हजार पाँच सय ७५ रुपैयाँमा बिक्री गर्दै आएको छ । मट्टीतेल र हवाई इन्धन नाफामा र पेट्रोल, डिजेल र ग्यास घाटामा बिक्री गर्नुपर्दा आर्थिक नोक्सानीमा गएको निगमले जनाएको छ । 

गत आर्थिक वर्ष ०७७/७८ मा करिब पाँच अर्ब रुपैयाँ नोक्सानीमा गएको निगम चालू आव ०७८/७९ को पहिलो महिनादेखि निरन्तर नोक्सानीमा छ । चालू आवको पुस मसान्तसम्म निगम १९ अर्ब २६ करोड रुपैयाँ नोक्सानीमा गइसकेको सहायक प्रवक्ता कार्कीले जानकारी दिए । नोक्सानी थपिँदै गए निगम आर्थिक रूपमा कमजोर भई इन्धन आपूर्तिमा समस्या हुन सक्ने उनको भनाइ छ ।