१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
झलक सुवेदी
२०७८ माघ ५ बुधबार ०८:२५:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

यिनको योगदानको मूल्य

Read Time : > 5 मिनेट
झलक सुवेदी
२०७८ माघ ५ बुधबार ०८:२५:००

भूमिगत या खुला रहेर, सेल्टर र चन्दा दिएर सहयोग गर्ने कार्यकर्ता र तिनका परिवारको अनुभव कहिले संकलन गर्ने ?


१) केही साताअघि पोखरातिरको नम्बरबाट एउटा कल आयो । तिलक पराजुली सरको रहेछ । लामो समयदेखि भेट संवाद नभए पनि उहाँको नाम मेरो मानसपटलमा कतै न कतै बसिरहन्छ । मैले चिन्दा कलेजमा अंग्रेजी प्राध्यापन गर्ने र वकालतसमेत गरिबस्ने पराजुली नेकपाका जल्दाबल्दा नेता हुनुहुन्थ्यो । ०४६ को आन्दोलनताका पोखरामा बनेको वाममोर्चाको एउटा बैठक तत्कालीन नेकपाको माक्र्सवादी समूहका पोलिटब्युरो सदस्य पराजुलीको मालेपाटनस्थित घरमा ४ फागुनमा बस्ने तय भएको रहेछ । साँझ आइपुग्नु भन्ने सानो पत्र कमरेड अभय उर्फ त्रिलोचन ढकालले लेखेका थिए । पत्र पढेपछि च्यात्न बिर्सेर कसोकसो मैले खल्तीमा राखेको रहेछु । पत्रसहित दिउँसै म पक्राउ परिहालेँ । बीचमा फाल्ने अनुकूलता मिलेन । पछि मेरा दुवै हातमा हतकडी लगाउँदा झुन्डिरहेको डेढ–दुई किलोको साङ्लोसहित ट्वाइलेटमा गएर पत्र च्यातचुत पारेको थिएँ । प्रहरीको हातमा परेको भए साँझको बैठकमा आउनेमध्येका सबै पक्राउ पर्न सक्थे, जसमा पार्टीका स्थानीय भूमिगत नेता त्रिलोचन ढकालसहित तिलक सर, टेकनाथ बराल, सोमनाथ प्यासी, खडानन्द आचार्य, ख्यामनारायणलगायतका साथी पर्न सक्थे । पछि त तिलक सर पार्टीको पोलिटब्युरो सदस्यका रूपमा एमालेबाट पर्वतमा निर्वाचन लड्न पुग्नुभयो । यसरी उहाँसँग मेरा केही निजी सम्झना बसेका छन् । 

फोनमा तिलक सरले गर्न खोजेको कुरा भने बुटवलका पुराना कम्युनिस्ट नेता एकराज पाण्डेले हालै प्रकाशित गरेको पुस्तक मैले देखेको र भोगेको कम्युनिस्ट आन्दोलनबारे पत्रिकामा केही चर्चा गरिदिएहुन्थ्यो भन्ने आग्रह रहेछ । केही समयपछि पुस्तक प्राप्त भयो । केही पुराना रचनाको संकलन रहेछ । एकराज पाण्डे आफैँ नेकपाका पुराना कम्युनिस्ट नेता भएकाले उनको रचना नेपाल र विश्व कम्युनिस्ट आन्दोलनवरपरका विषयमा केन्द्रित छन् । यसबाट चियाउँदा पुष्पलाल समूहसँग जोडिएका केही घटना र नाम आउँछन्, जसमध्ये धेरैको अहिले कुनैे सार्वजनिक चर्चा हुँदैन । बलेको आगो ताप्ने मानिसको भिडमा खरानी खोस्रने फुर्सद पनि कसलाई हुन्थ्यो र ? रामसिंह रावल, वोर्णबहादुर कार्की, रामबहादुर भण्डारी, शरणविक्रम मल्ल, हरिश्चन्द्र आचार्यसहित धेरै साथीको नाम पुस्तकमा पढेपछि मलाई केही समयदेखि गर्न चाहेको र गर्न नपाएको एउटा कामले अलिकति छटपटी गरायो ।

२) चार वर्षपहिले यस मौसममा देशमा एउटा नयाँ राजनीतिक माहोल थियो । एमाले र माओवादी केन्द्र मिलेर प्रदेश र संघीय संसद्को निर्वाचन जितेकाले संघीय सरकारसहित देशका सातमध्ये ६ प्रदेशमा वामपन्थीको सरकार बन्नेवाला थियो । उनीहरूले संघीय संसद्मा ६० प्रतिशतभन्दा बढी स्थान हासिल गरेका थिए । राष्ट्रपति, उपराष्ट्रपतिसहित संसद्को नेतृत्व पनि उनैलाई, सरकार पनि उनैको, प्रदेश प्रमुख, राजदूत, विभिन्न संवैधानिक आयोग, राजनीतिक नियुक्ति पाउने सबै महत्‍वपूर्ण ठाउँ कम्युनिस्ट या तिनले रुचाएका मान्छेले भरिनेवाला थिए । स्थानीय तहका सरकारमा बहुमत थियो । यस्तो लाग्थ्यो, कि देश निर्वाचनका माध्यमबाटै कम्युनिस्टले सत्ता चलाउने ठाउँमा पुगेको छ । विपक्षी खेमामा निराशा र कम्युनिस्टमा अति उत्साहको अवस्था थियो । यस उपलब्धिको सम्पूर्ण जस केही नेता आफ्नो निजी खल्तीमा राख्न चाहन्थे । एमाले र त्यसका नेतामा चरम घमन्ड थियो, जितको । माओवादी केन्द्रका नेताको भुइँमा खुट्टा थिएनन्, आफ्नो वास्तविक औकातभन्दा बढी बाली भित्र्याउन पाएकामा । तिनलाई त्यस उपलब्धिका लागि २००७ सालवरपरबाट हजारौँ कम्युनिस्ट कार्यकर्ता, नेता, समर्थक, शुभेच्छुक, सेल्टरदाताको त्याग र बलिदानको योगफलले काम गरेको छ भन्ने एकरत्ती हेक्का थिएन । आत्मप्रशंसामा मुग्ध नेतृत्व आफू एक्लैले इतिहास रचेको भ्रमपूर्ण न्यारेटिभ स्थापित गर्न सम्पूर्ण भक्तलाई परिचालन गरिरहेको थियो । चार वर्षपछि के भयो भनेर अहिले बताइरहनुपरेन ।

३) सोभियतकालीन रसियाली लेखिकाको एब्गेनिया एस झिन्जवर्गको एउटा भनाइ छ, बडो घतपर्दो । उनी आफ्नो के दोष थियो भन्ने थाहा पनि नपाईकनै स्तालिनको दमनकालमा २२ वर्ष जेल बसेर छुटेकी हुन्छिन् । लेख्छिन्— इतिहासमा हामीमाथिको दमन, एक–एकजनाले सहेको असह्य वेदनाको कुनै माने रहनेछैन । इतिहासले भन्नेछ त केवल स्तालिनको दमनकालमा कामेनेव, बुखारिन र अरूहरू सो दमनमा मारिएका थिए । केहीको नाम रहनेछ बाँकी उनीहरूका पूरकजस्तो ‘अरूहरू’मा सीमित हुनेछन् । 
यता हाम्रा नेताहरू पनि इतिहासलाई आफूअनुकूल उत्खनन र संरक्षण गर्न र आफ्नो प्रतिकूल देखिन थाले सकेसम्म घाटमै लगेर दाहसंस्कार गरिदिन र नसके दरी काम्लोले छोपेर अस्तित्व लोप गराउन लागिपर्छन् ।

भूमिगतकालका कम्युनिस्ट नेता, कार्यकर्ता र शुभेच्छुकहरूका योगदान अभिलिखित गर्न सके अहिलेको सहज समयमा नेकपाको इतिहासदेखि वर्तमानसम्म आफैँले रचेको भन्दै घमन्ड गर्नेहरूको घैँटोमा प्रकाश छिथ्र्यो कि ?

म केआइसिंह पुलनिरका हरिमायाको सम्पूर्ण परिवार, दिपमा लक्ष्मी भाट र उनकी आमाहरू सम्झन्छु । भोटेवडार बजारभन्दा ठिक्क एक किलोमिटरजति उत्तरतिरको उकालोमा बाटोनजिकैको एउटा सेल्टर सम्झन्छु, जहाँ म कमरेड केशवलाल श्रेष्ठसँग भूमिगतकालमा पुगेको थिएँ विद्यार्थीको जिल्लास्तरीय प्रशिक्षणका क्रममा । उनीहरूको योगदान कता कस्तो रूपमा इतिहासमा लिपिबद्ध भयो होला कि हरायो होला ? कास्कीका देवीप्रसाद तिवारी, सुन्दरमणि पराजुली, उद्विर बुढाथोकीहरूको नि ?

४) २०४७ सालतिर त्यतिवेला अर्घाखाँचीको नेकपा मालेको पार्टीसचिव रहेका वेला कमरेड प्रदीप ज्ञवालीले हर्रेबर्रे काण्डका विषयमा अध्ययन गराएर एउटा प्रतिवेदन प्रकाशित गराएका रहेछन् (अरू जिल्लामा पनि केही यस्तो खोजी भयो होला, औपचारिक अभिलेखका लागि) । त्यसमा सो काण्ड र कम्युनिस्टबारे त कुरा छन्, नै २०१८ सालतिर दमनमा परेका कांग्रेस नेता कार्यकर्ताबारे पनि केही खोजमूलक तथ्य छन् । मलाई कम्युनिस्टले मात्र होइन, कांग्रेसले पनि आफ्नो इतिहास खोजेजस्तो लाग्दैन । म छक्क पर्छु, सात सालको क्रान्तिका सन्दर्भमा बन्दीपुर मोर्चाको कुरा हुँदा श्रीभद्र उमाभद्र शर्माहरूको नाम आउँछ, तर हामीले पढ्ने इतिहास या पाठ्यपुस्तकमा चन्द्रबहादुर सार्कीहरूको नाम आउँदैन । रामप्रसाद राईले इतिहासमा स्थान पाउन ५०औँ वर्ष पर्खनुपरेको थियो । यस्ता घटना कति छन्, कति । 

५) नेकपाको कुरा आउँदा मलाई आफ्नै सेरोफेरोको सन्दर्भले प्रभावित गर्छन् । गण्डकीमा कम्युनिस्ट आन्दोलन अघि बढाउनमा पहिलो छिमलका निर्मल लामा, चित्रबहादुर गुरुङ र एकदेव आलेको भूमिका अझै राम्रो अभिलिखित छैन । अहिले एमाले, माओवादीलगायत जेजति कम्युनिस्ट पार्टीहरू त्यहाँ सक्रिय छन्, तिनका केही धाराहरू थिए इतिहासमा । विभाजनपूर्वको नेकपा, विभाजनपछि पुष्पलाल समूह, गण्डकी धौलागिरि क्रान्तिकारी कम्युनिस्ट दल माले, चौथो महाधिवेशन या मसाल– समूह, नेकपा माले, मानन्धर समूहलगायत धेरैले कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन महत्‍वपूर्ण भूमिका खेलेका थिए । 

नेकपा माले–एमालेको जगमा तीनवटा महत्‍वपूर्ण धारा छन् । पहिलो हो, बनारसमा पढ्दा पुष्पलालसँग सम्पर्कमा आएपछि कम्युनिस्ट बनेका र आफ्नो क्षेत्रमा फर्केर विभिन्न पेसा, खासगरी शिक्षणमा संलग्न हुँदै राजनीति गरेकाहरूको समूह । दोस्रो, गण्डकी धौलागिरि क्रान्तिकारी कम्युनिस्ट दल मालेमा संगठित भएर क्षेत्रभरि सक्रिय रहेकाहरूको समूह । तेस्रो, काठमाडांैमा अध्ययन गर्ने क्रममा अनेरास्ववियूयमा लागेका र गण्डकी विद्यार्थी परिषद्मा संगठित भएर परिषद्को मुखपत्र लालुपातेमार्फत वैचारिक अभियानमा लागेकाहरू । यी सबैले गाउँगाउँमा गरेको रचनात्मक काम र संगठनकै बलमा पछि गएर माले र झन्पछि माओवादीले आफ्नो संगठन विस्तार गरेका थिए ।

त्यो छिमलका केही नेताको मृत्यु भइसकेकोे छ । गण्डकी धौलागिरि समूहका पुष्पकमल सुवेदी, जयप्रकाश बाँस्तोला, दामोदर रेग्मी, सोमबहादुर बोगटीका अनुभव र योगदान अभिलिखित भएनन् । अहिले पनि सो समूहका रामचन्द्र अधिकारी, सोमनाथ प्यासी (दोवाकाण्डका उनका सहकर्मीसहित), कृष्णप्रसाद भट्टराई, मोदनाथ रेग्मी, निर्मल सुवेदी, होमप्रकाश सुवेदी, नवीन अधिकारी, प्रभात, रामबाबु, देवराज, इन्द्र, भद्रकृष्णलगायत हंसपुरे सुवेदीहरू, विजयबाबु र प्रकाशचन्द्र पागलहरू, शिव, पुण्य र बुद्धि सापकोटाहरू, अनेक साथी जीवित छन् र क्रमशः ७०–८० नाघ्दै छन् । काठमाडांैबाट बुर्जुवा शिक्षा बहिष्कार गरेर उता पढाउने निहँुमा राजनीति विस्तार गर्न पुगेका खगेन्द्र संग्रौला, खगेन्द्र पूर्वेली, रामराज रेग्मी, कृष्ण आचार्यलगायतको एउटा हिस्सा अझै सक्रिय छ । उनीहरूकै नेतामध्येका एकजना वाचस्पति देवकोटा यतिवेला सार्वजनिक जीवनमा कतै भेटिँदैनन् । त्यही समयका अभियन्ता शशी शेरचन बितेर गए । 

यता बनारसी प्रभावका टेकनाथ बराल वृद्धावस्थामा छन् । उनकै समयका माथवरसिंह थापा, मोहन केसी, भरतपोखरीका विष्णु आचार्यहरू ८० वरपर पुगेका छन् । चुवा काण्डका पुण्य पौडेल अहिले एमालेबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवार छन् । इन्द्रबहादुर र कर्ण गुरुङ बितेर गए । हरिप्रसाद, इन्द्रप्रसाद र ललितहरू कता छन्, सार्वजनिक जीवनमा देखिन्नन् । २०३६ पछि मालेको विस्तारमा भूमिगत या खुला रहेर, सेल्टर र चन्दा दिएर सहयोग गर्ने अनेक कार्यकर्ता र तिनका परिवारको अनुभव संकलन गरिनुपथ्र्यो । माओवादी आन्दोलनका झन् धेरै त्याग र बलिदानका इतिहास छन् । तिनका अलग कथा बन्थे । यहाँ मैले सबै नाम लिन सम्भव छैन, कतिपय त मै पनि सम्झिन सक्दिनँ । (यस क्रममा एउटा अनौठोचाहिँ यतिका नाम लिँदा पनि महिलाहरू कसैलाई समेटिएन भन्ने नै हो, किन चिनिएनन् होला उनीहरू ?)

६) यी सबैले आफ्नो समयमा गरेका योगदानको अभिलेख राख्न सके अहिले आएर सहज समयमा नेकपाको इतिहासदेखि वर्तमानसम्म आफैँले रचेको भन्दै घमन्ड गर्नेहरूको घैँटोमा प्रकाश छिथ्र्यो होला । नयाँ पुस्तासम्म यो ज्ञानको हस्तान्तरण पनि भइजान्थ्यो । माओवादी जनयुद्धले हासिल गरेको समर्थन त्यसले लिएको ओरालो बाटो, चार वर्षपहिले वाम गठबन्धनले पाएको सफलता र अहिलेको हविगतको कथा पनि यतै भेटिन्थ्यो । 

यस्ता समूहलाई एकै ठाउँमा भेला गराएर श्रव्यदृश्य रूपमा अभिलेख बनाउने र लिखतका रूपमा पुस्तक निकाल्ने विषयमा माक्र्सवादी गुरुकुलका स्वनाम साथीसँग संवाद पनि भइरहेको थियो । लकडाउनमा एक दिन उनको नामको मिस्डकल देखेँ । कलब्याक गर्दा उहाँकी पत्नी कमरेड गौतमले उठाउनुभयो । आखिरी क्षण आउँदै गरेको सूचना पाइयो । भेट्न जान सम्भव थिएन । एकाध दिनमा बितेको खबर आयो । हाम्रा योजना उहाँको मृत्युसँगै चितामा चढे ।

यता दुई वर्षपहिले मदन भण्डारी फाउन्डेसनका सुशील प्याकुरेलसँग यस विषयमा सँगै काम गर्ने समझ्दारी भएको थियो । पोखरामा पुष्पकमल स्मृति प्रतिष्ठान र मदन भण्डारी फाउन्डेसनको सहकार्यमा माथि नाम लिइएकामध्येका सकेसम्म धेरैलाई जम्मा गरेर अभिलेखीकरण गर्ने योजना बन्दै थियो । लकडाउन भइहाल्यो र यो काम अब अघि बढ्छ बढ्दैन, अनिश्चित छ ।

इतिहास इतिहासतिरै फर्कनका लागि होइन । हरेक घटनाका कार्यकारण सम्बन्धहरू हुन्छन् । हरेक घटनाको ऐतिहासिकता हुन्छ । आजको नेपाली राजनीति र वामपन्थीबीचको संघर्षको पनि ऐतिहासिकता छ । यसको उत्थान र पतनका पनि कारण छन् । यी कारण जान्न र अघिका सम्भावना केलाउनचाहिँ इतिहासतिर नफर्की हुन्न । त्यसैका लागि पनि, आउने पिँढीमा जनताका अधिकार स्थापित गर्न, प्रतिगमनसँग लड्न र हाम्रो संघर्षको एक मात्र लक्ष्य समाजसँगै व्यक्तिको स्वतन्त्रता र समाजवादतिरको यात्रालाई सहज बनाउन नयाँ पुस्तालाई इतिहासमा के भएको थियो र हामी यहाँसम्म आइपुग्यौँ भन्ने जानकारी दिन जरुरी हुन्छ । आशा छ, कसै न कसैले यसबारे प्रयास गर्नेछ ।