१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ माघ ५ बुधबार ०८:०७:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

चिसो बढेपछि भत्किएकै घरमा मनाङका बाढीपीडित

Read Time : > 2 मिनेट
२०७८ माघ ५ बुधबार ०८:०७:००

गत असारमा आएको बाढीपहिरोले विस्थापित तालगाउँका पीडित हिमपातपछि चिसो बढेकाले जोखिमयुक्त घरमा फर्किए

असारको सुरुवातमै मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको नासों गाउँपालिका–१ तालगाउँका रामचन्द्र गुरुङको पक्की घर भत्कायो । ज्याला मजदुरी गरेर बनाएको घर बाढीले भत्काएपछि उनको परिवार साढे पाँच महिनासम्म टहरामा बस्यो । ‘पक्की घर मर्स्याङ्दीको बाढीले बगायो, नयाँ घर बनाउने सामथ्र्य छैन । अहिले चिसो अत्यधिक बढेपछि जोखिम मोलेर भत्किएकै घरमा फर्किएका छौँ,’ उनले भने, ‘प्रदेश सरकारले राहतस्वरूप दुई लाख दिएको छ, यति रकमले घर बन्दैन ।’

घर बगाएपछि साढे पाँच महिनासम्म त्रिपालमा सहारा लिएकी तालगाउँकी सन्तकुमारी परियार अहिले भत्किएको घरमा बसेकी छन् । मर्स्याङ्दी नदीमा आएको बाढीले उनको घर बस्नै नमिल्ने गरी भत्काएको थियो । जाने ठाउँ नै कहीँ नभएपछि बस्नलायक होस् या नहोस्, त्यही घरका बिग्रे भत्केका संरचना मर्मत गरेर फर्किएको उनी बताउँछिन् ।

रामचन्द्र र सन्तकुमारी मात्र होइन, विस्थापित भएका तालगाउँका बाढीपीडित मनाङको तल्लो र माथिल्लो क्षेत्रमा हिमपात भएसँगै चिसो बढेकाले जोखिमयुक्त घरमा फर्किएका छन् । तालगाउँकै सिंहबहादुर गुरुङको पनि दुई तलाको पक्की घरका कोठामा ढुंगा, काठका मुढा र बालुवा पसेको छ । ‘दुईतले घरको तल बस्नै मिल्दैन । माथिको तला सरसफाइ गरेर, बार बेरेर बसेका छौँ,’ उनले भने । 

तालगाउँका विष्णुप्रसाद गुरुङले बाढीले ल्याएको ग्रेगर पन्छाएर बसेको बताए । ‘असारमा मर्स्याङ्दी नदीमा आएको बाढीले बस्ने घर तहसनहस भयो । अहिले पुरिएका गे्रगर खोतलेर भत्किएकै घरमा बसेको छु । बाढीले तीनतले पक्की घर बस्नै नमिल्ने गरी भत्कायो । साढे पाँच महिनासम्म त्रिपालमा बसेँ । अहिले मर्स्याङ्दीको चिसो सिरेठोले त्रिपालमा बस्नै सकिएन । पाँचजनाको परिवार भत्किएकै घर मर्मत गरेर बसेका छौँ,’ उनले भने ।

बाढीले घरखेत बगरमा परिणत 
मस्र्याङ्दीको बाढीले गंगामाया गुरुङकोे घरखेत बगरमा परिणत भएको छ । ‘दुःखले बनाएको तीनतले घरमा अहिले मर्स्याङ्दी नदी बगेको छ । बाढीले बस्ने घर नै बगायो । बाढीबाट ज्यान त बच्यो, तर बस्नलाई घर नै छैन,’ उनले भनिन् । भत्किएको घरमा बस्न मिल्ने अवस्था नरहे पनि बाढीप्रभावितले आफ्नै प्रयासमा बगर खोतलेर घरको पुनःनिर्माण गरी बसेका छन् । तालगाउँका मात्रै नभएर नासों गाउँपालिका–३ धारापानी, सदरमुकाम चामेका बाढीपीडित पनि भत्किएकै घरलाई टालटुल पारेर सामान्य मर्मत गरी बस्न थालेका छन् । 

गत १ असारमा आएको मर्स्याङ्दीको बाढीले सुन्दर तालगाउँ अहिले बगरमा परिणत भएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । ‘सुन्दर बस्तीमा अहिले ढुंगा, माटो, बालुवा मात्र छ । तालगाउँका कतिपय घर खोलाभित्रै पुरिएका छन् भने कति घर बगाएका छन् । केही ढलेर बसेको र कति घरको दुई तलासम्म बगर भरिएको छ,’ उनले भने । मर्स्याङ्दी नदीमा आएको बाढीको डुबान र पहिरोले नासों गाउँपालिकामा मात्रै ८२ घरमा क्षति पुगेको थियो । त्यहाँका १५ घर अझै उच्च जोखिममा छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी गणेश न्यौपानेका अनुसार प्रशासनको प्रारम्भिक तथ्यांकअनुसार पूर्ण क्षति भएका ७४ घरधुरीको संख्या सम्बन्धित पालिकालाई पठाइसकिएको छ । 

मनाङका ६१ घरपरिवारलाई प्रदेश सरकारको दुई लाख राहत
मनाङका बाढीपीडितलाई गण्डकी प्रदेश सरकारले दुई लाख राहत उपलब्ध गराएको छ । प्रदेश सरकारले विशेष प्याकेजअन्तर्गत ६१ घरपरिवारलाई दुई लाखका दरले राहत वितरण गरेको हो । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले नासों गाउँपालिकाको ३९, चामे गाउँपालिकाको नौ, नार्पाभूमि गाउँपालिकाका सात र मनाङ ङिस्याङ गाउँपालिकाका ६ घरपरिवारलाई दुई लाख रुपैयाँका दरले राहत वितरण गरिएको बताए । ‘नासों गाउँपालिकाभित्र पूर्ण क्षति पुगेका लाभग्राहीको संख्या ४४ भए पनि ३९ जनाले दुई लाख रुपैयाँका दरले राहत पाएका छन् । पाँचजनाको भेरिफाइ हुन बाँकी भएकाले राहत प्रदान गरिएको छैन,’ उनले भने । 

प्रदेश सरकारले क्षति भएको ठाउँमा टालटुल गर्न, अस्थायी टहरा बनाउन बाढीपीडितलाई राहत प्रदान गरेको हो । मनाङमा पुनर्निर्माणका लागि केन्द्र सरकारले ६० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय तहले १० प्रतिशत रकम उपलब्ध गराउनेछ । प्रमुख जिल्ला अधिकारी आचार्यले प्रदेश सरकारबाट जिल्लाभरका ७४ लाभग्राहीका लागि एक करोड ४८ लाख रुपैयाँ बजेट आएको बताए ।

प्रदेश विपद् व्यवस्थापन नियमावलीअनुसार एक लाख र हिमाली जिल्लाको हकमा सरकारले विशेष प्रभावित क्षेत्र घोषणा गरेकाले थप एक लाख गरी दुई लाख रुपैयाँ आएको उनले बताए । उनका अनुसार यो रकम निजी आवास पुनर्निर्माणका लागि आएको हो । संघ सरकार र स्थानीय सरकारको रकम आउन बाँकी रहेको उनले बताए । नासों गाउँपालिका–१ का वडाध्यक्ष झलकबहादुर गुरुङले सिरानतालको सात घरसहित तालको ६० वटा घर डुबानमा परेको बताए । गाउँपालिकाभित्रका ८२ घरधुरीमा बाढीपहिरोले क्षति पुर्‍याएको छ । यसमा पूर्ण क्षति भएका ४४ घर छन् ।