मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तिवारी यादव वीरगन्ज
२०७८ माघ ४ मंगलबार १६:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश राजधानीबारे विरोध जनाउँदै वीरगन्जमा प्रदर्शन, मुख्यमन्त्री राउतको घरमा ढुंगा प्रहार

Read Time : < 1 मिनेट
२०७८ माघ ४ मंगलबार १६:०२:००

मधेस (प्रदेश २)को राजधानी जनकपुर तोकिएपछि वीरगन्जमा कालो झन्डासहित प्रदर्शन भएको छ। सोमबार प्रदेश सभामा भएको मतदानले प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्ताव पारित गरेपछि वीरगन्जमा प्रदर्शन भएको हो।

नेपाली कांग्रेस वीरगन्ज महानगरपालिकाको अगुवाइमा निस्केको कालो झन्डासहितको जुलुस आदर्शनगर, माईस्थान, घन्टाघर हुँदै नगर परिक्रम गरेर वीरगन्ज– ११ तेजारथ टोलस्थित मुख्यमन्त्री लालबाबु राउतको घरअगाडि पुगेको थियो। प्रदर्शनकारीहरूले मुख्यमन्त्री राउतविरुद्ध नारा लगाएका थिए। मधेस आन्दोलनका वेला वीरगन्जलाई नै राजधानी बनाउने वाचा गरेका मधेसका नेताहरूले सत्तामा पुगेपछि वाचा भुलेको उनीहरूको आरोप छ।
 
मुख्यमन्त्री राउतको घरमा ढुंगा प्रहार
प्रदर्शनकारीहरूले सो क्रममा मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुंगा प्रहार गरेका छन्। ढुंगा प्रहारबाट मुख्यमन्त्रीको घरको सिसा फुटेको छ। अहिले राउतको घरअगाडि प्रहरीले सुरक्षाकर्मी परिचालन गरेको छ।

कुल एक सय चार सांसद रहेको प्रदेश सभामा सोमबार जनकपुरलाई राजधानी बनाउने प्रस्ताव पारित भएको थियो। प्रस्ताव पारित गर्न ७० मत आवश्यक भए पनि प्रस्तावको पक्षमा ७८ मत परेको थियो।