मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ माघ २ आइतबार १७:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाली भूभागमा एकपक्षीय सडक निर्माण रोक्न भारतलाई सरकारको आग्रह

Read Time : < 1 मिनेट
२०७८ माघ २ आइतबार १७:०८:००

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि रहेको तथ्यमा सरकार स्पष्ट रहेको बताएका छन्। आइतबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कार्कीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग रहेको तथ्यमा सरकार दृढ र स्पष्ट रहेको बताएका हुन्। 

सरकारले भारतलाई नेपाली भूभागमा एकपक्षीय सडक निर्माण तथा विस्तार रोक्न आग्रह गर्दै आएको बताए। उनले भने, ‘महाकाली नदीका पूर्वलिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको अभिन्न भूभाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट छ। नेपाल सरकारले भारत सरकारलाई नेपाली भूभाग भएर जाने कुनै पनि किसिमको एकपक्षीय सडक निर्माण, विस्तार, रोक्न आग्रह गर्दै आएको छ।’  

उनले दुई देशबीचको सीमा समस्यालाई ऐतिहासिक सन्धि, सम्झौता, तथ्य तथा नक्सा र प्रमाणको आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले भने, ‘नेपाल भारतको बीच रही आएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार दुई देशको सीमा समस्याको समाधान ऐतिहासिक सन्धि, सम्झौता, तथ्य, नक्शा र प्रमाणको आधारमा कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिबद्ध रही आएको छ ।’

नेपाल र भारतबीच रहेको मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार सीमा समस्या हल हुनुपर्ने मन्त्री कार्कीको भनाइ थियो।