मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दोस्रो टाइगर कप खुला क्लब च्याम्पियनसिप भलिबलका विजेता पुरुष र महिला टोली
२०७८ माघ २ आइतबार ०७:५८:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आर्मी र एपिएफलाई भलिबल उपाधि

Read Time : > 1 मिनेट
२०७८ माघ २ आइतबार ०७:५८:००

महिलातर्फको फाइनलमा एपिएफसँग ३–० को सोझो सेटमा पराजित हुँदा आर्मीले पोखरा खुला क्लब भलिबलको दुवै विधामा उपाधि जित्ने सपना पूरा गर्न सकेन 

त्रिभुवन आर्मीले शनिबार टिप टप हेल्प नेपाललाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो टाइगर कप खुला क्लब च्याम्पियनसिप भलिबलअन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ । यसैगरी, पोखरा रंगशालास्थित भलिबल कोर्टमा महिलातर्फ भएको फाइनलमा एपिएफले आर्मीलाई निराश पार्दै च्याम्पियन ट्रफी जित्यो । विभागीय क्लब आर्मीले दुवैतर्फ उपाधि जित्ने सपनामाथि एपिएफ बाधक बनेको हो । 

पुरुषतर्फको फाइनलमा आर्मीले हेल्प नेपाललाई २५–१८, २४–२६, १८–२५ र २५–१९ ले हराउँदै उपाधि जितेको हो । हेल्प नेपालले पहिलो सेटमा उत्कृष्ट सुरुवात गरेको थियो । आर्मीले पहिलो सेटमा त्यति सन्तोषजनक प्रदर्शन गर्न सकेन । तर, आर्मीले दोस्रो सेटपछि उत्कृष्ट पुनरागमन गर्दै उपाधि हात पार्‍यो । यससँगै साबिकको उपविजेतासमेत रहेको आर्मीले लिग चरणमा भोगेको हारको बदला लिएको छ । आर्मीले लिग चरणमा ३–० को सोझो सेटमा हार व्यहोरेको थियो ।

च्याम्पियन आर्मीले तीन लाख र उपविजेता टिप टपले एक लाख ५० हजार रुपैयाँ जितेको छ । आर्मी गत वर्ष टाइगर कपमा गण्डकी प्रदेशसँग फाइनलमा पराजित भएको थियो । महिलाको उपाधि भिडन्तमा एपिएफले आर्मी क्लबलाई सोझो सेट २५–२३, २५–१५ र २५–२० ले हराएको थियो । उपाधिसँगै एपिएफले तीन लाख रुपैया हात पारेको छ । दोस्रो भएको आर्मीले एक लाख ५० हजार रुपैयाँ जित्यो ।

महिलातर्फ तेस्रो भएको न्यु डायमन्ड स्पोर्टस्ले ७५ हजार तथा चौथो भएको पुलिसले ३५ हजार रुपैयाँ हात पारेका छन् । २६ पुसदेखि सुरु भएको प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान ५–५ टोलीको सहभागिता थियो ।

सरस्वती र धनबहादुर सर्वोत्कृष्ट
प्रतियोगितामा आर्मी क्लबका स्पाइकर धनबहादुर भट्ट क्षेत्री र नेपाल एपिएफ क्लबकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित भएका छन् । धनबहादुर पुरुष तथा सरस्वती महिलातर्फका उत्कृष्ट खेलाडी बनेका हुन् । आर्मीले उपाधि हात पार्दा धनबहादुरले उत्कृष्ट प्रदर्शन गरेका थिए । महिलातर्फको फाइनलमा आर्मीमाथि सानदार जित निकाल्ने क्रममा सरस्वतीले पनि त्यतिकै प्रेरणादायी प्रदर्शन गरेकी थिइन् । पुरुषतर्फ टिप टप हेल्प नेपालका विनितकुमार प्रतियोगिताकै उत्कृष्ट स्पाइकर चुनिए । हेल्प नेपाललाई फाइनलसम्म पुर्‍याउन विनितकुमारको प्रदर्शन उच्च रहेको थियो । 

यसैगरी, हेल्प नेपालकै अमित उत्कृष्ट ब्लकर, नेपाल पुलिसका कप्तान इम रानामगर उत्कृष्ट सर्भर, आर्मीका हरिहजुर थापा उत्कृष्ट सेटर र ईश्वर थापामगर उत्कृष्ट डिफेन्डर चुनिए । पुरुषतर्फका च्याम्पियन आर्मीका जगतबहादुर सिंह उत्कृष्ट प्रशिक्षक चुनिएका छन् । महिलातर्फ आर्मीकी शान्तिकुमारी थारू उत्कृष्ट स्पाइकर घोषित भइन् । एपिएफकी हिरा केसी उत्कृष्ट ब्लकर, निरुता ठगुन्ना उत्कृष्ट सर्भर, आर्मीकी कृपा अधिकारी उत्कृष्ट सेटर र न्यु डायमन्ड स्पोर्टस्की सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर भएका छन् । 

महिलातर्फ एपिएफका महेशबहादुर चौधरी उत्कृष्ट प्रशिक्षक चुनिए । महिला तथा पुरुषतर्फको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार रुपैयाँ हात पारेका छन् । हरेक विधाका उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, सर्भर, लिवेरो र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।