१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ माघ २ आइतबार ०७:३४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रौतहट लागुऔषधको ट्रान्जिट बन्दै : पाँच महिनामा १४ जना कारोबारी पक्राउ

Read Time : > 1 मिनेट
२०७८ माघ २ आइतबार ०७:३४:००

प्रहरीले पाँच महिनामा लागुऔषध ओसारपसारको कसुरमा १४ जनालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न किसिमका लागुऔषधसहित कारोबारीहरूलाई पक्राउ गरी कानुनअनुसार मुद्दा चलाएको डिएसपी लीलाराज लामिछानेले जानकारी दिए । प्रहरीले लागुऔषधविरुद्ध अभियान नै चलाएर कारोबारीलाई पक्राउ गर्न थालेको उनको भनाइ छ । सीमावर्ती क्षेत्रबाट लागुऔषध चन्द्रनिगाहपुरसम्म आउने गरेकोमा सुराकीका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उनीहरूलाई पक्राउ गर्दै आएको छ ।

प्रहरीले २९ पुसमा चन्द्रपुर नगरपालिका–५ थलही टोलस्थित भित्री बाटोमा हिँडिरहेको अवस्थामा शंकाका आधारमा चेकजाँच गर्दा २० वर्षीय सुमन विकलाई प्रतिबन्धित लागुऔषधसहित नियन्त्रणमा लिएको थियो । 

उनको साथबाट प्रहरीले डाइजेल्याब इन्जेक्सन आइपी २ एमएलको ३८ थान, बुपरेनोफिन इन्जेक्सन आइपी २ एमलको ३६ थान, आरएक्स प्रोमेथराजिन हाइड्रोक्लोराइड इन्जेक्सन आइपी फेनेरगन २ एमएलको ३९ थान, नाइट्राभेट १० ट्याब्लेट ३२ थान बरामद गर्‍यो । २६ पुसमा प्रहरीले बा०३००१ख १८०८ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा मकवापुर हेटौँडाका सुरज थापा र रौतहटको गौर नगरपालिका–४ का नितेशकुमार राउतलाई एक किलो गा“जासहित पक्राउ गरेको थियो । ७ पुसमा प्रहरीले शंकास्पद तरिकाले हिँडडुल गरिरहेको अवस्थामा चन्द्रपुर–५ का राजेश राउतलाई लागुऔषध इन्जेक्सन र २१ पिस ट्याबलेटसहित पक्राउ गरेको थियो । 

२४ कात्तिकमा नाइट्रोभेटसहित सर्लाहीको हरिऔन नगरपालिका–११ का २१ वर्षका सचिन साहलाई पक्राउ गरेको थियो । उनको साथबाट २३ पिस नाइट्रोभेट बरामद भएको डिएसपी लामिछाने जानकारी दिए । १७ कात्तिकमा चन्द्रपुर–४ स्थित ज्ञानबहादुर लोप्चनको घरमा लागुऔषधको कारोबार हुने गरेको सूचनाका आधारमा प्रहरीले उनको घरमा खानतलासी गर्दा ठूलो परिमाणमा विभिन्न किसिमका लागुऔषध बरामद गरेको थियो । 

९ कात्तिकमा नाइट्रोभेट ट्याबलेटसहित प्रहरीले सर्लाहीको ईश्वरपुर नगरपालिका–५ घर भएका २२ वर्षका रोज मोहम्मद र सोही स्थानका देवेन्द्र दासलाई चन्द्रनिगाहपुरबाट पक्राउ गरेको थियो । उनीहरूको साथबाट प्रहरीले तीन हजार पिस नाइट्रोभेट ट्याबलेट बरामद गरेको थियो । 

२२ असोजमा प्रहरीले लागुऔषध तथा आपराधिक षड्यन्त्रको कसुरमा चारजनालाई पक्राउ गरेको थियो । जसमा चन्द्रपुर–४ टेकान टोलका अन्जुम तैयवको घरबाट गुजरा नगरपालिका–३ का उमाशंकर तिवारी, गौर नगरपालिका–४ बस्ने पुनम उपाध्याय, बारा कलैया बस्ने नैनाकुमारी महतो र पर्साकी सुनम उपाध्याय थिए । प्रहरीले मोटरसाइकलबाट प्रतिबन्धित लागुऔषध नाइट्रोपाम ट्याब्लेट एक सय २० वटा, नाइट्रोपाम आइपी निटाभेट एक सय ८० वटा र डाइजेपाम इन्जेक्सनसहित उनीहरूलाई पक्राउ गरेको थियो । २४ भदौमा चन्द्रपुर नगरपालिका–६ का जीवन सिंह र गुजरा नगरपालिका–५ का अवलाकुर रहमानलाई विभिन्न प्रकारका इन्जेक्सन तथा नाइट्रोभेटसहित पक्राउ गरेका थिए ।