१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अनु आचार्य
२०७५ फाल्गुण २३ बिहीबार ०७:१०:००
Read Time : > 1 मिनेट
समाचार

३ सय ३० वर्षको क्यान्जिन गुम्बा पुरानै शैलीमा पुनर्निर्माण

Read Time : > 1 मिनेट
अनु आचार्य
२०७५ फाल्गुण २३ बिहीबार ०७:१०:००

भूकम्पले क्षति पु-याएको रसुवाको क्यान्जिन उपत्यकास्थित तीन सय ३० वर्ष पुरानो क्यान्जिन गुम्बा पुनर्निर्माण गरिएको छ । जापानी नागरिकको सहयोगमा गुम्बा पुनर्निर्माण गरिएको क्यान्जिन गुम्बाका लाक्पा लामाले बताए । ‘पुरानै शैलीमा क्यान्जिन गुम्बा पुनर्निमाण गरेका छौँ,’ लामाले भने । ऐतिहासिक गुम्बा भएकाले पहिलेको स्वरूप नबिग्रने गरी पुनर्निर्माण गरिएको जनाएको छ । स्थानीय लामागुरुको प्रत्यक्ष रेखदेखमा भित्री भागमा ढुंगा काटेर सिमेन्ट लगाइएको छ भने बाहिरी भागमा काटेको ढुंगाको गाह्रो लगाइएको छ । त्यस्तै, छानामा कालो ढुंगा स्लेट प्रयोग गरिएको हो । 

जापानी नागरिक आया आकासीको ९० लाख सहयोगमा गुम्बा पुनर्निर्माण गरिएको लामा लाक्पाले बताए । थप १० लाख स्थानीय बासिन्दाले व्यहोरेका छन् । १२ वैशाख, ०७२ को भूकम्पले गुम्बामा क्षति पुगेको थियो । जसका कारण पूजापाठ गर्न समस्या भएको थियो । पुनर्निर्माणपछि पूजापाठ सुरु गरिएको गुम्बाका लामा लाक्पाले बताए । गुम्बा पुनर्निर्माण भएपछि पूजापाठ गर्न सहज भएको स्थानीय बासिन्दाले बताए । 

चारैतिर हिमशृंखला देखिने भएकाले यो उपत्यका आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षण बन्दै आएको छ । तीन सय ३० वर्ष पुरानो गुम्बा हेर्न विदेशबाट समेत पर्यटक आउने गरेका छन् । पुनर्निर्माणपछि पर्यटकको आगमन झन् बढ्ने स्थानीय बासिन्दाको विश्वास छ ।  यो गुम्बामा १५ जना लामा छन् । उनीहरूले प्रत्येक वर्ष रेखदेखका लागि पालैपालो जिम्मेवारी पाउँछन् । 

गुम्बाभित्र छिर्नेबित्तिक्कै गुरु रेनपोर्छेको मूर्ति देखिन्छ । यहाँ गुरु रिम्पोछेका ६ सय वर्ष पुराना मूर्ति छन् । त्यस्तै, दर्जनौँ बौद्धधर्म ग्रन्थ र थांकाचित्र पनि छन् । बौद्धधर्ममा चार किसिमका लामा हुन्छन् । यो गुम्बाभित्र न्यिङमक्पा, गेलुक्पा, शाक्यपा र कक्युक्पा लामाको थांकाचित्र छन् ।

यसरी बनेको थियो क्यान्जिन गुम्बा
क्यान्जिन गुम्बाका लामा लाक्पाका अनुसार, यो दलाई लामाको छैटौँ अवतार हुँदा निर्माण गरिएको हो । अहिले दलाई लामाको चौधौँ अवतार भएको मानिन्छ । त्यतिवेला गुम्बा नहुँदा ओडारमा धर्मकर्म गरिन्थ्यो । त्यहाँ लाङटाङ री पास थियो । त्यहाँबाट तिब्बत जान सकिन्छ । त्यहाँ धेरै जनजाति बसोवास गर्छन् । त्यहाँ बस्ने लामा जातिलाई धोमारे भन्छन् । 

त्यही लाङटाङ री पासबाट म्युङग्युर दोर्जे लाङटाङ आएका थिए । बौद्धधर्म ग्रन्थमा लाङटाङ भन्ने स्थान उल्लेख छ । उनै दोर्जेले स्याफ्रुदेखि लाङटाङ रीसम्मको क्षेत्र नै  लाङटाङ हो भनेर प्रमाणित गरेको क्यान्जिन गुम्बाका लामा लाक्पाले बताए । उनै दोर्जेले क्यान्जिनमा गुम्बा निर्माण गर्न खोजेका थिए । उनले चारवटा गुम्बा निर्माण गर्न खोजे पनि एउटा मात्रै बनाउन सकिएको लाक्पाको भनाइ छ । उनैले निर्माण गरेको गुम्बा क्यान्जिन हो ।