मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ १ शनिबार १०:१७:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विक्रमको घातक बलिङमा आर्मी विजयी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ १ शनिबार १०:१७:००

फास्ट बलर विक्रम सोवले केवल आठ रन दिएर ६ विकेट लिएपछि त्रिभुवन आर्मीले सुदूरपश्चिमलाई तीन विकेटले निराश पार्‍यो 

घरेलु क्रिकेटमा अहिलेसम्मकै उत्कृष्ट बलिङ प्रदर्शन गर्दै त्रिभुवन आर्मीका विक्रम सोवले सुदूरपश्चिम प्रदेशविरुद्ध ६ विकेट लिएका छन् । विक्रमले हात पारेको ६ विकेट अहिलेसम्मकै घरेलु टी–२० फम्र्याटमा उच्च प्रदर्शन हो । यसअघि कुनै पनि बलरले एकै खेलमा ६ विकेट हात पारेका थिएनन् । विक्रमकै घातक बलिङको सहयोगमा शुक्रबार आर्मी प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमलाई तीन विकेटले हराउन सफल भयो । 

पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा सबै विकेट गुमाएर एक सय १५ रनको योगफल खडा गर्‍यो । प्रत्युत्तरमा आर्मीले २० ओभरमा सात विकेटको क्षतिमा एक सय २० रन जोड्दै जित निकाल्यो । लक्ष्य पछ्याएको इनिङ्सको अन्तिम बलमा आर्मीका साहव आलमले छक्का प्रहार गर्दै आफ्नो टोलीलाई सनसनी जित दिलाउन सफल भए । 

आर्मीको जितमा हरि चौहानले ३९ बलमा ३३ रन तथा अलराउन्डर प्रदर्शन गरेका विक्रमले २२ बलमा २९ रनको योगदान दिए । खेलमा विक्रम नै म्यान अफ दी म्याच भएका छन् । आर्मीले अन्तिम ओभरमा ११ रन बटुल्दै समूह एमा दोस्रो जित पक्का गरेको हो । बलिङ क्रममा विक्रमले चार ओभरमा केवल आठ रन खर्चेर सर्वाधिक ६ विकेट हात पारेका थिए । 

आर्मीका हरिले ३९ बलमा चार चौका प्रहार गरे । विक्रमले अन्तिमसम्म नटआउट रही २२ बलमा दुई छक्का र एक चौका प्रहार गरे । विजयी छक्का प्रहार गरेका आलमले ६ बलमा १२ रन बटुलेका थिए । सुदूरपश्चिमको ब्याटिङ इनिङ खराब रह्यो । सुदूरपश्चिमले दुवै ओपनर १० रनभित्र गुमाएको थियो । खड्ग बोहोरा र वसन्त कार्कीले तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई ७३–३ को स्थितिमा राखे । बोहोराले ४२ बलमा समान एक चौका र छक्का प्रहार गरी ३७ रन बनाए । वसन्तले २८ बलमा दुई छक्काको सहयोगमा ३४ रन बनाए । 

पुलिसको फराकिलो जित
प्रतियोगिताअन्तर्गत समूह एमा पुलिस क्लबले लगातार तेस्रो खेलमा जित निकाल्न सफल भएको छ । टियु मैदानमा पुलिसले शुक्रबार कर्णाली प्रदेशमाथि ८९ रनको जित हात पारेको हो । पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा दुई सय ४४ रनको विशाल योगफल खडा ग¥यो । प्रत्युत्तरमा कर्णालीले २० ओभरमा नौ विकेट गुमाएर एक सय ५५ रन जोड्यो । जितसँगै समूह एमा पुलिस ६ अंकका साथ शीर्ष स्थानमा छ ।

आर्मी पाँच अंकका साथ दोस्रो स्थानमा छ । सुदूरपश्चिम र कर्णाली प्रदेशले समान दुई अंक हात पारेका छन् । पुलिसको सानदार जितमा कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय योगदान दिएका थिए । कुशल र दीपेन्द्रले दोस्रो विकेटका लागि एक सय आठ रनको साझदोरी गर्दै टोलीलाई ५२–१ बाट १६०–२ को बलियो स्थितिमा राखे ।

दुवैले ४.२ देखि १२.५ ओभरसम्म साझेदारी गरेका हुन् । कुशलले ३९ बलमा नौ चौका र तीन छक्काको सहयोगमा सर्वाधिक ८२ रनको योगदान दिए । दोस्रो विकेटका रूपमा कुशल आउट भएका हुन् । त्यसपछि दीपेन्द्रले आफ्नो विकेट पनि छिटै दिए । उनले २८ बलमा नौ चौका र दुई छक्काको सहयोगमा ६२ रनको योगदान दिए । पुलिसको इनिङ्समा कप्तान मन्जित श्रेष्ठले १५ बलमा १९ रन तथा आरिफ सेखले नौ बलमा १८ रनको योगदान दिए । 

आठौँक्रमका ब्याट्सम्यान दिलीप नाथले १० बलमा तीन छक्का र एक चौकाको सहयोगमा विस्फोटक ३१ रन बनाए । प्रत्युत्तरमा दुई सय ४५ रन लक्ष्य पछ्याएको कर्णालीका लागि छैटौँक्रमका ब्याट्सम्यान प्रकाश जैसीले ६८ रन जोडे । रन आउट हुनुअघि उनले ४६ बलमा ६ चौका र तीन छक्का प्रहार गरेका थिए । पुलिसका लागि दीपेन्द्रसिंह र योगेन्द्रसिंह कार्कीले दुई–दुई विकेट हात पारे । 

बागमती पाँच विकेटले विजयी
प्रतियोगिताको समूह बीमा बागमतीले प्रदेश २ लाई पाँच विकेटले हराएको छ । टियु मैदानमा पहिलो ब्याटिङ गरेको प्रदेश २ ले २० ओभरमा ६ विकेट गुमाएर एक सय ५५ रन बनाएको थियो । बागमतीले १९.४ ओभरमा पाँच विकेट गुमाएर १ सय ५६ रन जोड्यो । प्रदेश २ को ब्याटिङमा हरिशंकर साहले ५४ बलमा पाँच चौका र एक छक्का प्रहार गरी ५६ रन बटुले । बागमतीलाई जित दिलाउन प्रतिश जिसीले सात बलमा तीन छक्काको मद्दतमा २२ रन बनाए । यसैगरी मूलपानी मैदानमा सम्पन्न खेलमा एपिएफले लुम्बिनीमाथि सात विकेटको जित निकाल्यो ।

 लुम्बिनीले पहिलो ब्याटिङ गरी नौ विकेटको क्षतिमा एक सय चार रनको योगफल खडा गर्‍यो । एपिएफले ११ ओभरमा तीन विकेटको क्षतिमा एक सय पाँच रन बनाउँदै सानदार जित निकाल्यो । एपिएफले ५४ बलअघि नै जित निकालेको हो । एपिएफका लागि ओपनर प्रदीप ऐरी र आसिफ सेखले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए । प्रदीपले २० बलमा चार छक्का र दुई चौका प्रहार गरी ३६ रन बनाए । सेखले २६ बलमा चार चौका र तीन छक्काको सहयोगमा ४३ रन बटुले ।