मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
वीरगन्जलाई प्रदेश २ को राजधानी बनाउन माग गर्दै नागरिक । तस्बिर : नयाँ पत्रिका
हदिश खुद्दार काठमाडाैं
२०७८ पौष ३० शुक्रबार ०९:४६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रदेश २ मा नाम र राजधानीको सकस : वीरगन्जलाई राजधानी बनाउन चार जिल्लाका सांसद छलफलमा

Read Time : > 1 मिनेट
हदिश खुद्दार, काठमाडाैं
२०७८ पौष ३० शुक्रबार ०९:४६:००

प्रदेश २ को नाम र राजधानीको विषयमा सहमति खोज्न सर्लाहीदेखि पर्सासम्मका चार जिल्लाका सांसदबीच छलफल भएको छ । सर्लाही, रौतहट, बारा र पर्साका सबै सांसदबीच बिहीबार रौतहटको चन्द्रनिगाहपुरमा छलफल भएको हो । 

छलफल कांग्रेस सांसद राजेश्वरप्रसाद साहको अगुवाइमा भएको हो । साहले प्रदेश सभामा प्रदेश २ को नाम ‘मध्यमधेस’ राख्नुपर्ने प्रस्ताव दर्ता गरेका छन् । बैठकमा सहभागी एक सांसदले प्रदेशको नामकरण मध्यमधेस र स्थायी राजधानी वीरगन्ज राख्ने प्रस्तावमा छलफल भएको थियो । 

प्रदेशको नाम र राजधानी टुंग्याउन दोस्रोपटक भइरहेको प्रयासमा दलहरूबीच सहमति जुट्न नसकेका वेला चार जिल्लाका सांसदको सामूहिक छलफल भएको हो । प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच नाम र स्थायी राजधानीमा सहमति जुटाउन सभामुख सरोजकुमार यादवको संयोजकत्वमा विशेष समिति गठन भएको छ ।

तर, समितिले पटक–पटक प्रयास गर्दा पनि सहमति जुट्न सकेको छैन । सहमति जुट्न नसके आगामी माघको पहिलो साता प्रदेश सभामा दर्ता भएका प्रस्तावहरूमाथि मतदान गर्न भने दलहरू सहमत भइसकेका छन् । मतदानबाटै टुंगो लाग्ने भएपछि चार जिल्लाका सांसदलाई प्रस्तावमा एक ठाउँमा ल्याउन साहले छलफल राखेका हुन् ।

स्रोतका अनुसार छलफलमा सहभागी जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र माओवादीका केही सांसदले आ–आफ्नो पार्टीले भनेअनुसार प्रदेशको नाम ‘मधेस’ राख्ने प्रस्तावमा मतदान गर्नुपर्ने भए राजधानी भने वीरगन्ज रहने गरी दबाब दिनुपर्ने धारणा राखेका थिए । कांग्रेस, एकीकृत समाजवादीका सांसदले अलि फरक धारणा राखेका थिए । साहले भने प्रदेश २ का जिल्ला सिंगो मधेसको बीच भूगोलमा रहेकाले मध्यमधेस नाममै सांसदहरूलाई सहमत गराउन प्रयास गरेका थिए । 

छलफलमा प्रदेश सरकारमा मन्त्री रहेका कांग्रेस सांसद ओमप्रकाश शर्मा, जसपाका तर्फबाट राज्यमन्त्री रहेका रौतहटका सांसद योगेन्द्र राय यादव, प्रदेशका निवर्तमान उद्योगमन्त्री तथा सर्लाहीका सांसद रामनरेश राय यादवलगायत पनि सहभागी थिए । छलफलबारे प्रतिक्रिया दिँदै साहले नाम मध्यमधेस र राजधानी वीरगन्ज राख्ने प्रस्तावमा सर्लाहीदेखि पर्सासम्मका सांसद र विभिन्न दलका नेताको सर्वदलीय बैठक राखेको बताए ।