१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७५ पौष ६ शुक्रबार १०:०९:००
Read Time : > 3 मिनेट
अर्थ

पूर्वगभर्नर रावलसहित  तीनविरुद्ध भ्रष्टाचार मुद्दा

Read Time : > 3 मिनेट
२०७५ पौष ६ शुक्रबार १०:०९:००

पोलिमार नोट छपाइमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै १६ वर्षपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वगभर्नर डा.तिलक रावलसहित तीनजनाविरुद्ध मुद्दा दायर गरेको छ । नोट छपाइमा २ करोड ७३ लाख भ्रष्टाचार भएको ठहर गर्दै जनही ९१ लाख ९ हजार बिगो कायम गरी अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा चलाएको हो । 

रावलसहित राष्ट्र बैंकको नोट विभागका तत्कालीन प्रमुख उपेन्द्रकेशरी पौडेल र ‘नोट प्रिन्टिङ अस्ट्रेलिया’का नेपाली प्रतिनिधि हिमालयबहादुर पाँडेविरुद्ध मुद्दा दायर भएको छ । आर्थिक वर्ष ०५८/५९ मा अस्ट्रेलियाको केन्द्रीय बैंक मातहतको ‘नोट प्रिन्टिङ अस्ट्रेलिया’मार्फत १० रुपैयाँ दरका ५ करोड थान नोट छापिएको थियो । मिलेमतोको आधारमा सो कम्पनीलाई ठेक्का दिइएको र कमसल नोट छपाइ गरेको अख्तियारको अभियोग छ । कम गुणस्तरको भएकै कारण ती पोलिमर नोट हाल प्रयोगमा छैनन् ।

प्रतिहजार नोट छपाइका लागि ६८ अस्ट्रेलियन डलर लाग्नेमा पछि ४ डलर बढाएर बोलपत्र गरिएको थियो । यही आधारमा बिगो दाबी गरिएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले बताए ।

अख्तियारका यस्ता आरोप
छपाइको क्रममा नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अस्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिएको, सञ्चालक समितिका निर्णय चुहाएको र जर्मन कम्पनीसँगको नोट छाप्ने साँचो नोट प्रिन्टिङ अस्ट्रेलियालाई हस्तान्तरण गर्न लगाएको आयोगले जनाएको छ । नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अस्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधिबीच निरन्तर पत्राचार भएको, छापिएका नोटका कमीकमजोरी मिडियामा नल्याउन मिडियाकर्मीहरूलाई थाइल्यान्ड हुँदै अस्ट्रेलिया पठाउनुलाई समेत आयोगले भ्रष्टाचारको आधार मानेको छ । बोलपत्रअघि नै नोटको डिजाइन गर्न लगाउनुले पनि मिलेमतो प्रस्ट भएको अख्तियारले जनाएको छ । 

बोलपत्रका क्रममा स्थानीय प्रतिनिधिको प्रभावमा राजस्व छल्ने नियतले कमिसन उल्लेख नगरेको र त्यसका स्थानीय प्रतिनिधिले नेपाल राष्ट्र बैंकलाई अस्वाभाविक मूल्य तिराई नोक्सानी पु-याएको अभियोग लगाइएको छ । 

 अस्ट्रेलियामा उच्च अधिकारी कारबाहीमा
कमिसन खाएर कम गुणस्तरको नोट छापिएको समाचार अस्ट्रेलियाकै मिडियामा सार्वजनिक भएको थियो । नेपाली एजेन्ट पाण्डेले १० प्रतिशत कमिसन नेपालका नेतादेखि अस्ट्रेलियन अधिकारीलाई बाँडेको समाचार आएपछि अस्ट्रेलियामा छानबिन भएर पहिल्यै मुद्दा दायर भइसकेको छ । नोट प्रिन्टिङ अस्ट्रेलियाका उच्च अधिकारीहरूविरुद्ध अस्ट्रेलियाको अदालतले जेल सजायसमेत सुनाएको छ । नोट प्रिन्टिङ अस्ट्रेलिया त्यहाँको केन्द्रीय बैंक रिजर्भ बैंक अफ अस्ट्रेलियाअन्तर्गतको कम्पनी हो । रिजर्भ बैंक अफ अस्ट्रेलियाले समेत पोलिमर नोट छपाइमा भ्रष्टाचार भएको स्वीकार गरिरहेको छ ।

अष्ट्रेलियाका मिडियाका अनुसार नोट प्रिन्टिङ अष्ट्रेलियाले नेपाल लगायत देशमा मुद्रा छाप्ने टेन्डर जित्न ५ करोड अष्ट्रेलियन डलर खर्च गरेको थियो । नेपालका कमिसन एजेन्टलाई कमिसन दिन टेन्डरको भाउ नै बढाइएको समेत अष्ट्रेलियाको अदालतले ठहर गरेको थियो । यसरी नेपाली एजेन्ट पाँडेले प्राप्त गरेको रकम तत्कालीन गभर्नर डा. रावल, नोट विभागका प्रमुख पौडेललगायतलाई बाँडेको अष्ट्रेलियाको अदालतले ठहर गरेको छ । 

१० रुपैयाँ दरका प्लास्टिकका नोट छपाइमा भ्रष्टाचार भएको आरोपमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. तिलक रावल, नोट विभागका तत्कालीन प्रमुख उपेन्द्रकेशरी पौडेल र नोट प्रिन्टिङ अस्ट्रेलियाको नेपाली एजेन्ट मे प्लावर लिमिटेडका सञ्चालक हिमालयबहादुर पाँडेविरुद्ध २ करोड ७३ लाखको मुद्दा 

अस्ट्रेलियाले यस विषयमा अनुसन्धानका लागि विवरण उपलब्ध गराउन नेपाल सरकारलाई समेत आग्रह गरेको थियो । सो विवरण उपलब्ध नगराउन नेपाली एजेन्टले सर्वोच्च अदालतमा रिट निवेदन दिएको थियो । तर, सर्वाेच्च अदालतले सो रिट खारेज गरिदिएको छ ।

 ५ लाख थान तत्कालै जलाइयो
रु. १० दरको प्लास्टिकको नोट दुई चरणमा छापिएको थियो । सुरुको चरणमा छापिएको प्लास्टिकका नोट गुणस्तरहीन देखिएपछि तत्काल आएका ५ लाख थान नोट जलाइएको थियो । सुरुमा आएको नोटको नम्बर एकनासको थिएन, सानो–ठूलो थियो । नोटको रङ उड्ने, हातले कोट्याउँदा सजिलै रङ जाने किसिमको थियो । ३० सेप्टेम्बर २००२ देखि नेपालमा पोलिमर नोट प्रचलनमा आएको थियो । 

 नोट छाप्न ऐन संशोधन
केन्द्र बैंकको तत्कालीन नेतृत्वले प्लास्टिकका नोट छाप्न नेपाल राष्ट्र बैंक ऐन नै संशोधन गराएका थिए । २०५८ अघि कानुनमा कागजका नोट छाप्ने मात्रै उल्लेख थियो । पछि त्यसलाई संशोधन गरेर प्लास्टिकको नोटसमेत छाप्न सकिने गराइयो । ‘बैंक नोट छपाइ गर्ने वस्तु तथा अन्य पदार्थ सञ्चालक समितिले निर्णय गरेअनुसार हुने’ ऐनमा उल्लेख गरियो । सो कामको नेतृत्व तत्कालीन गनर्भर डा. रावलले गरेका थिए । 

यसरी छापियो पोलिमर नोट

-३० माघ २०५८ (१२ फेब्रुअरी २००२) मा नेपाल राष्ट्र बैंकले ग्लोबर टेन्डर आह्वान गरेको थियो । त्यसको म्याद ३५ दिनको थियो । 

- ८ जेठ २०५९ (२२ मे २००२) मा अस्ट्रेलियाका वाणिज्यमन्त्रीले नेपाल राष्ट्र बैंकको ५ करोड थान नोट छाप्न नोट प्रिन्टिङ अस्ट्रेलियाले टेन्डर जितेको घोषणा गरे । सोही दिन नेपाल राष्ट्र बैंकले सोही बेहोराको सूचना जारी ग-यो । ३० लाख अस्ट्रेलियन डलरभन्दा बढीमा सो टेन्डर जितेको नोट प्रिन्टिङ अस्ट्रेलियाले जनायो । 

- तुलनात्मक रूपमा निकै चाँडो ती नोट छापिएको थियो । सोही दिन मेक्सिकोमा पनि पहिलोपटक पोलिमर नोट सार्वजनिक गरिएको थियो । तर, नेपालमा पहिले सार्वजनिक भएको थियो । पोलिमर नोटमा तत्कालीन गभर्नरहरू डा. तिलक रावल र विजयनाथ भट्टराईको हस्तक्षर छ ।

-सन् २०११ मा अष्ट्रेलियाको पत्रिका द एजले नेपालको पोलिमर नोट छपाइमा भ्रष्टाचार भएको खबर पहिलोपटक प्रकाशित गरेको थियो । नोट प्रिन्ट अस्ट्रेलियाले नोटको स्पेसिफिकेसनसहितको टेन्डर दस्ताबेज बनाएर नेपाली एजेन्टमार्फत नेपाल राष्ट्र बैंकलाई दिएको र सोही अनुसार बोलपत्र निस्केको उल्लेख गरेको छ । यस विषयमा अस्ट्रेलियाको अदालतमा मुद्दा चली नोटप्रिन्ट अस्ट्रेलियाका तीनजना उच्चपदस्थ अधिकारीलाई जेल सजायसमेत भएको थियो ।

-१४ असोज २०५९ (३० सेप्टेम्बर २००२) ३० सेप्टेम्बर २००२ मा नेपालमा रु. १० का पोलिमर नोट जारी गरियो । दसैँअगाडि नेपालमा ती नोट सार्वजनिक गरिएको थियो ।