१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
सहमतिको प्रयास असफल भएपछि मतदानका लागि लाइनमा बसेका कञ्चनपुरका एमाले कार्यकर्ता । तस्बिर मोहन विष्ट
शुरोजंग पाण्डे काठमाडाैं
२०७८ पौष २९ बिहीबार ०८:५१:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एमाले जिल्ला अधिवेशनमा चुनाव र सर्वसम्मतिको समानान्तर अभ्यास

Read Time : > 4 मिनेट
२०७८ पौष २९ बिहीबार ०८:५१:००

२९ जिल्लामा अध्यक्ष छान्न मतदान, दुईतिहाइ जिल्लामा आंशिक चुनाव 

एमालेले जिल्ला कमिटीहरूको अधिवेशनमा सर्वसहमति र मतदानको समानान्तर अभ्यास गरेको छ । आठ वर्षको अन्तरालमा सम्पन्न जिल्ला अधिवेशनहरूमा आकांक्षी व्यवस्थापन गर्न कठिनाइ भएपछि एमालेले सर्वसम्मतिलाई प्राथमिकतामा राखेको थियो । तर, अधिकांश जिल्लामा दुवै विधिको समानान्तर अभ्यास गर्दै नेतृत्व चयन भएको हो ।

२३ पुसमा उद्घाटन भएका ६३ जिल्लामध्ये बुधबारसम्म ५९ जिल्लामा अधिवेशन सम्पन्न भएका छन् । तीमध्ये २५ जिल्ला अध्यक्ष चुनावी प्रतिस्पर्धाबाट निर्वाचित भएका छन् । अरू तीन जिल्लामा पनि चुनावी प्रतिस्पर्धा भइरहेको छ । अध्यक्षमा निर्वाचन नभएका बाँकी सबैजसो जिल्लामा उपाध्यक्षसहितका पदाधिकारी र 
खुला सदस्यहरू चुनावी प्रतिस्पर्धाबाटै निर्वाचित भएका छन् । 

कालिकोट, संखुवासभा र सुनसरीको परिणाम आउन बाँकी छ । अध्यक्षमा निर्वाचन भएको दैलेखमा विवादका कारण स्थगित भएको छ । दैलेखमा पनि चुनावी प्रतिस्पर्धा दोहोरिने निश्चित भएकाले २९ जिल्लाका नेतृत्व प्रतिस्पर्धाबाटै निर्वाचित हुनेछ । 

चुनावी प्रतिस्पर्धाबाट चयन भएकामध्ये बाग्लुङमा दशबुँदे सहमतिसँगै एमालेमा रहेका हिरा केसी अध्यक्षमा निर्वाचित भए । प्युठानमा अध्यक्ष निर्वाचित विजयविराज विष्ट पनि दशबुँदे सहमतिसँगै एमालेमा बसेका थिए । उनी सचिव योगेश भट्टराईनिकट मानिन्छन् । सर्वसम्मत चयन भएकामध्ये भोजपुरका शरण राई पनि दशबुँदे समूहबाटै निर्वाचित भएका हुन् । त्यस्तै, रूपन्देहीका तेजेन्द्र केसी स्थायी समिति सदस्य घनश्याम भुषालनिकट मानिन्छन् भने गुल्मीका बालकृष्ण काउछामगर सचिव गोकर्ण विष्टनिकट मानिन्छन् । 

अधिवेशन हुन बाँकी चितवन र सिन्धुपाल्चोकमा दशबुँदे सहमतिसँगै एमालेमा रहेका नेताहरूको प्रभाव बढी छ । पहिले वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिएका, तर पार्टी विभाजनका वेला एमालेमै रहेका थुप्रै जिल्ला नेता पदाधिकारी र सदस्यमा चुनिएका छन् । 

केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने पार्टी भएका कारण एमालेले जिल्ला अधिवेशनहरूमा मतदान र सर्वसहमतिका दुवै विधिलाई स्वागत गर्दै अवलम्बन गरेको बताए ।

‘हाम्रो विधानले सर्वसहमति र मतदानका दुवै विधिलाई निषेध गरेको छैन, त्यसैले जहाँ जे सम्भव छ, त्यहीअनुसार नेतृत्व चयन गर्छौं,’ रिजालले भने, ‘एमाले लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने पार्टी भएकाले हामीले जिल्ला अधिवेशनहरूमा दुवै प्रक्रियालाई स्वागत गर्दै अवलम्बन गरेका हौँ ।’ उनले केन्द्रका तर्फबाट सहमतिको कोसिस गर्दा सफल नभए निर्वाचनकै विधिबाट नेतृत्व चयन गर्न निर्देशन गरिएकाले दुवैखाले अभ्यासलाई जिल्ला अधिवेशनहरूमा समानान्तर रूपमै आत्मसात् गरिएको प्रस्ट्याए ।

एमालेले २५ र २६ मंसिरको केन्द्रीय कमिटी बैठकबाट जिल्ला अधिवेशनहरूले नेतृत्व चयन गर्दा सर्बसहमतिलाई पहिलो प्राथमिकतामा राख्न र सहमति हुन नसके मात्र मतदानको प्रक्रियामा जान अन्तरपार्टी निर्देशन जारी गरेको थियो । दशौँ महाधिवेशनको प्रतिनिधिदेखि नेतृत्व चयनसम्म सर्वसहमतिमा जोड दिएको एमालेले जिल्ला अधिवेशनहरूमा भने सहमति र चुनावी दुवैखाले विधिको समानान्तर अभ्यास गरेको छ । चुनावी प्रक्रियाबाट नेतृत्व चयन भए पनि जिल्ला अधिवेशनहरूमा उम्मेदवारहरूले प्यानल नबनाई व्यक्तिगत प्रतिस्पर्धा गरेका छन् ।

‘एमालेमा कहीँ कतै प्यानल गुट छैन, केन्द्रको लहरो समातेर प्रतिस्पर्धा गर्ने चलन समाप्त भएको छ,’ उपप्रमुख रिजालले भने, ‘जिल्ला अधिवेशनहरूमा आकांक्षीहरू श्रेष्ठता हासिल गर्न आफैँ निर्णायक बनेका छन् । स्थानीय आवश्यकता र परिवेशअनुसार धेरै जिल्लामा नयाँ अनुहार प्रतिस्पर्धाबाटै नेतृत्वमा स्थापित भएका छन् ।’

प्रदेशअनुसार जिल्लागत विवरण

प्रदेश १ : यहाँका १४ मध्ये पाँच जिल्लामा निर्वाचन भएको छ । इलाममा महेश बस्नेतले डा. देवी दुलाललाई, ओखलढुंगामा शंकर कटुवालले सीताराम गुरुङलाई पराजित गरेर अध्यक्ष निर्वाचित भएका छन् । त्यस्तै, सचिव योगेश भट्टराईको गृहजिल्ला ताप्लेजुङमा भूपेन्द्र थेवेले बहालवाला अध्यक्ष बलबहादुर सामसोहाङलाई पराजित गरेका छन् । चुनावी प्रतिस्पर्धामा भट्टराई तटस्थ बसेका थिए । पराजित भएका सामसोहाङ दशबुँदे सहमतिसँगै एमालेमै रहेका थिए । 

सुनसरीमा निर्वाचन भए पनि परिणाम आउन बाँकी छ । संखुवासभामा सहमति नभएपछि चुनावउन्मुख देखिएको छ । सुनसरीमा दशबुँदे सहमतिबाट एमालेमै रहेका इनरुवा नगरपालिका प्रमुख द्वारिकालाल चौधरी, रेवतीरमण भण्डारी र खेम पोखरेलबीच कडा प्रतिस्पर्धा छ । प्रदेश १ का अन्य नौ जिल्लाका अध्यक्ष भने सर्वसम्मत चयन भएका छन् । 

दशौँ महाधिवेशन प्रतिनिधिदेखि केन्द्रीय नेतृत्व चयनसम्म सर्वसहमतिमा जोड दिएको एमालेले जिल्ला अधिवेशनहरूमा भने सहमति र चुनावी दुवै विधिको समानान्तर अभ्यास गरेको छ

प्रदेश २ : यहाँ आठमध्ये सप्तरी र सिराहामा सर्वसम्मत अध्यक्ष चयन भएका छन् । सप्तरीमा ताराकान्त चौधरी र सिराहामा चन्देश्वर मण्डल निर्वाचित भएका छन् । अरू जिल्लामा सचिव रघुवीर महासेठ र स्थायी समिति सदस्य प्रभु साहबीच संगठित सदस्यतालाई लिएर विवाद छ । विवाद हल गरेर मात्रै अधिवेशन गर्ने तयारी भए पनि महासेठ र साहनिकट उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने सम्भावना बढी छ । 

बागमती : १३ जिल्लामध्ये दुई जिल्ला अध्यक्ष मतदानबाट निर्वाचित भएका छन् । दोलखामा नरबहादुर श्रेष्ठले भरत दुलाललाई र सिन्धुलीमा कुमारबहादुर कार्कीले बहालवाला अध्यक्ष प्रदीप कटुवाललाई पराजित गरेका छन् । पराजित बहालवाला जिल्ला अध्यक्ष कटुवाल विजयी कार्कीका सहोदर ज्वाइँ हुन् । उपाध्यक्ष सुरेन्द्र पाण्डेको गृहजिल्ला चितवनमा चुनावी प्रतिस्पर्धा देखिएपछि अधिवेशन स्थगित भएको छ । त्यहाँ तेजेन्द्र खड्का, रामप्रसाद न्यौपाने, कृष्ण भुर्तेल र कमल पाठक आकांक्षी छन् । उनीहरूमध्ये खड्का दशबुँदे सहमतिसँगै एमालेमै बसेका नेता हुन् ।

गण्डकी : ११ जिल्लामध्ये तीन जिल्लामा चुनावबाट अध्यक्ष निर्वाचित भएका छन् । बाग्लुङमा हिरा केसीले कृष्ण पाठक, स्याङ्जामा सूर्यप्रसाद गैरेले संघीय सांसद नारायण मरासिनीलाई पराजित गरेर अध्यक्ष बनेका हुन् । केसी दशबुँदे सहमतिसँगै एमालेमै रहेका थिए । बाग्लुङमा पदाधिकारीसहित करिब दुईतिहाइ नेतृत्व दशबुँदे समूहसँगै एमालेमा रहेकाहरू निर्वाचित भएका छन् । उता, स्याङ्जामा पूर्वमाओवादी समूहका गैरेलाई सचिव पदमा अर्याल र मरासिनीलाई स्थायी समिति सदस्य खगराज अधिकारीले समर्थन गरेका थिए । त्यस्तै, कास्कीमा मनबहादुर गुरुङले दामोदर बैरागीलाई पराजित गरेर अध्यक्ष बनेका छन् । बहालवाला उपाध्यक्ष गुरुङलाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ तथा बहालवाला सचिव बैरागीलाई स्थायी समिति सदस्य अधिकारीले समर्थन गरेका थिए । 

लुम्बिनी : १२ जिल्लामध्ये तीन जिल्लामा निर्वाचन भएको छ । नवलपरासी पश्चिममा दीपेन्द्र अधिकारीले घनश्याम गैरेलाई पराजित गरेका छन् । त्यस्तै, प्युठानमा पूर्वउपाध्यक्ष वामदेव गौतमका पूर्वस्वकीय सचिव विजयविराज विष्ट चुनावबाटै अध्यक्ष बनेका छन् । विष्टले नेहरसिंह केसीलाई भारी मतले पराजित गरेका छन् । उनी दशबुँदे सहमतिसँगै एमालेमा बसेका थिए । कपिलवस्तुमा डम्बर शर्माले नेत्र अधिकारीलाई चुनावबाटै पराजित गरेर निर्वाचित भएका छन् । 

कर्णाली : दशमध्ये तीन जिल्लामा निर्वाचन भएको छ । दुई जिल्लामा चुनावबाट अध्यक्ष निर्वाचित भएका छन् भने कालिकोटको नेतृत्व चयनमा मतदान प्रक्रिया अगाडि बढेको छ । जाजरकोटमा खिमबहादुर शाहीले बहालवाला अध्यक्ष तथा प्रदेश सांसद करवीर शाहीलाई पराजित गरेका छन् भने सुर्खेतमा अमृत बिसीले डण्डी शर्मालाई पराजित गरेका छन् । दैलेखमा सूर्यबहादुर शाही र रवीन्द्र शर्माबीच चुनावी प्रतिस्पर्धा भए पनि कूल प्रतिनिधिभन्दा बढी मत खसेको पाइएपछि चुनावी प्रक्रिया अनिश्चितकालसम्म स्थगित भएको छ ।

सुदूरपश्चिम : प्रदेशका नौमध्ये चार जिल्लामा चुनाव भएको छ । बुधबार बेलुकी सार्वजनिक मतपरिणामअनुसार कञ्चनपुरमा सुरेन्द्र विष्ट प्रतिस्पर्धी वीरबहादुर थापालाई हराएर अध्यक्ष बनेका छन् । दार्चुलामा प्रेमसिंह धामी चुनावी प्रक्रियाबाट निर्वाचित भएका छन् । कैलालीमा सचिव लेखराज भट्ट र पूर्वउपाध्यक्ष भीम रावलले समर्थन गरेका अध्यक्षका उम्मेदवारबीच कडा प्रतिस्पर्धाबाट चुनावी परिणाम आएको छ । रावलले समर्थन गरेका रणबहादुर चन्दलाई तीन मतले पछि पार्दै भट्टले समर्थन गरेका उम्मेदवार रतन थापा विजयी भएका छन् । अछाममा रावलले समर्थन गरेका प्रकाशबहादुर शाह संस्थापन पक्षका राजेशचन्द्र बोहोरासँग पराजित भएका छन् । यद्यपि, त्यहाँ उपाध्यक्षसहित धेरै पदाधिकारी र सदस्यहरू भने रावलनिकट निर्वाचित भएका छन् ।  

प्रेस चौतारीका एक दर्जन पत्रकार जिल्ला पदाधिकारी
एमालेको भ्रातृ संगठन प्रेस चौतारीमा आबद्ध करिब एक दर्जन पत्रकार पदाधिकारीमा निर्वाचित भएका छन् । चौतारीका उपाध्यक्ष वीरबहादुर गिरी जाजरकोटको सचिव, पूर्वकेन्द्रीय सदस्य डिल्ली बिसी बाँकेको उपाध्यक्ष, सदस्य अशोक ब्याञ्जु काभ्रेको अध्यक्ष निर्वाचित भएका छन् ।

चौतारीको केन्द्र, प्रदेश र जिल्ला तहहरूमा रहेर काम गरेका र सदस्यहरूमध्ये राजेन्द्र मानन्धर दोलखाको उपाध्यक्ष, सुवास पौडेल लमजुङको सचिव निर्वाचित भएका छन् । त्यस्तै, इलामको सचिवमा उमेश गुरुङ, मकवानपुर सचिवमा नवीन सिग्देल, रामेछापको उपसचिवमा प्रकाश कार्की, धादिङको उपसचिवमा राधिका सापकोटा, प्युठानको उपसचिवमा दीपा पौडेल निर्वाचित भएकी छन् । चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले संगठनका करिब चार दर्जन सदस्य जिल्ला कमिटीमा निर्वाचित भएको बताए ।