१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
शरद् शर्मा काठमाडौं
२०७८ पौष २८ बुधबार १४:२८:००
Read Time : > 2 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा संक्रमण

Read Time : > 2 मिनेट
शरद् शर्मा काठमाडौं
२०७८ पौष २८ बुधबार १४:२८:००

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी संक्रामक रहेको बताइएको छ। ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि संक्रमणदर गुणात्मक रूपमा फैलिने बताइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ओमिक्रोन भेरियन्टको अन्य भेरियन्टजस्तै मानिसमा लक्षण हुने गरेको बताए। ‘अहिले गरिरहेका अणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ)ले ओमिक्रोन भेरियन्ट बढ्दै गएको देखाएको छ, यो भेरियन्टमा अरू भेरियन्टका तुलनामा जटिलता कम भए पनि संक्रमण गुणात्मक रूपमा धेरै हुने भएकाले जटिल हुने अनुपात बढेर जान्छ,’ उनले भने। 
     
अन्य भेरियन्टको तुलनामा यो भेरियन्ट तीव्र दरमा फैलिने गरेको छ। मन्त्रालयका प्रवक्ता डा. संगीताकौशल मिश्राले ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा संक्रमण हुने बताइन्। ‘अन्य भेरियन्टले तल्लो श्वासप्रश्वास नली वा फोक्सोमा संक्रमण हुने गर्दथ्यो,’ उनले भनिन्। ओमिक्रोनले पार्ने असरबारे थप अध्ययन–अनुसन्धान भइरहेको उनको भनाइ छ। पछिल्लो एक हप्तामा कोरोना संक्रमण विश्वभर एक करोडमा पुष्टि भएको छ। यति धेरै संक्रमण हुनुको कारण ओमिक्रोन भेरियन्ट नै रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।     
     
ओमिक्रोनले कोरोना खोप लगाएका–नलगाएका दुवैलाई संक्रमण हुन सक्दछ। संक्रमित भएकामध्ये खोप नलगाएकालाई धेरै गाह्राे बनाउन सक्ने अहिलेसम्मको अध्ययनले देखाएको छ। खोप नलगाएका व्यक्तिको ज्यान जाने पनि खतरासमेत रहेको छ। जनस्वास्थ्यविद् डा. सागरराज भण्डारीले ओमिक्रोन भेरियन्टले मानिसको घाँटीमा संक्रमण गराउने बताए। उनले घाँटी खसखस हुने, चिलाउने र श्वासप्रश्वासमा समस्या हुनेजस्ता लक्षण देखिने जानकारी दिए। यस्तै, ओमिक्रोन भेरियन्टले मानिसमा बढी हाच्छयाैँ आउने, हल्का ज्वरो आउने, धेरै रुघा लाग्नेजस्तो लक्षण पनि देखिने गर्दछ।     
     
बच्ने उपाय     
यसबाट बच्नका लागि कोरोना भाइरसको पूर्ण मात्रा खोप लगाउनाका साथै जनस्वास्थ्य मापदण्ड अर्थात् भिडभाड नगर्ने, स्यानिटाइजरको प्रयोग र हात साबुनपानीले पटकपटक धुनुपर्दछ। सही तरिकाले मास्कको प्रयोग गर्न र एक व्यक्ति तथा अर्को व्यक्तिबीचको भौतिक दूरी एक मिटर कायम गर्नुपर्दछ।     
     
यस्तै संक्रमणबाट बच्नका लागि सरकारले १२ वर्षदेखि माथिका सबैलाई कोरोनाविरुद्धको खोप एक वर्षअघिदेखि नै लगाउन थालेको छ। अहिलेसम्म नेपालमा लक्षित जनसंख्याको ७६.५ प्रतिशतले पहिलो मात्रा र ५६.९ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन्। यस्तै कुल जनसंख्याको ५०.२ प्रतिशतले पहिलो मात्रा र ३७.३ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन्। सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आगामी माघ १५ गतेसम्म बन्द गर्नुका साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठीजस्ता कार्यक्रम बन्द गरेको छ।     
     
संक्रमणदरको प्रवृत्ति बढ्दै     
संक्रमणदरको प्रवृत्ति पनि वृद्धि भएको छ। यही पुस १९ गते २.६ प्रतिशतमा रहेको संक्रमणदर पुस २७ गते १८.६ प्रतिशत पुगेको छ। यस्तै पुस २६ गते १२.७ प्रतिशत, पुस २५ गते ९.२ प्रतिशतमा मात्र संक्रमणदर रहेको थियो।     
     
पुस २० गते ४.२ प्रतिशत, पुस २१ गते ४.३ प्रतिशत, पुस २२ गते ४.५ प्रतिशत, पुस २३ गते ६.५ प्रतिशत र पुस २४ गते ७.१ प्रतिशत कुल संक्रमणदर रहेको थियो। पुस २७ गते १५ हजार ३३ जनाको परीक्षणमा दुई हजार चार सय ४४ मा संक्रमण देखिएको थियो। पुस २६ गते एक हजार चार सय ४६ सक्रमित र सात हजार आठ सय ५५ सक्रिय संक्रमित तथा पुस २५ गते संक्रमित एक हजार एक सय ६७ पुगेको र सक्रिय संक्रमित ६ हजार सात सय ५५ देखिएका छन्।     
     
ओमिक्रोन भेरियन्ट रोकथामको तयारी     
सरकारले पहिलेको अनुभवबाट पाठ सिकेर अहिले सम्भावित तेस्रो लहरको जोमिख हुन नदिन अस्पताललाई तयारी अवस्थामा राखेको छ। मन्त्रालयका प्रवक्ता डा. मिश्राका अनुसार ओमिक्रोन भेरियन्टको सम्भावित जोखिम रोक्न अस्पताललाई आवश्यक पर्ने अक्सिजन, सघन उपचार कक्ष (आइसियू), हाई डिपेडेन्सी युनिट (एचडियू), भेन्टिलेटर, आइसोलेसन र स्वास्थ्यकर्मीलाई पनि तयारी अवस्थामा राखेको छ। उनका अनुसार आइसियू दुई हजार सात सय ९७, भेन्टिलेटर एक हजार आठ र एचडियू तीन हजार आठ सय ४६ रहेका छन्।     
     
यस्तै, अक्सिजन सिलिन्डर १३ हजार नाै सय ३९ र अक्सिजन कन्स्ट्रेटर ६ सय ९३ रहेका छन्। यसैगरी २५ अक्सिजन ट्यांकमा १९ वटा र एक सय सातमध्ये ८७ अक्जिसन प्लान्ट सञ्चालनमा आइसकेका छन्। उपत्यकामा दुई हजार चार सय ९४ आइसोलेसन शय्या, तीन सय २४ एचडियु, चार सय ४५ सघन उपचार कक्ष र दुई सय ५४ भेन्टिलेटर रहेका छन्।     
     
मन्त्रालयले समुदायमा ओमिक्रोन भेरियन्ट पत्ता लगाउन बढीभन्दा बढी एन्टिजेन किटबाट नै परीक्षण बढाउनुका साथै निगरानी बढाएको उनको भनाइ छ। ‘पोजेटिभ सक्रमण देखिएकामध्येबाट ओमिक्रोन पत्ता लगाउन आनुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ) गरिरहेका छौँ,’ मन्त्रालयका प्रवक्ता डा. मिश्राले भनिन्। 
     
केही दिनअघि एक हजार एक सय ४६ पोजेटिभ नमुनाको एस–जिन स्क्रिनिङ गर्दा २५० नमुनामा एस–जिन नेगेटिभ देखिएका र ती नेगेटिभ देखिएकाको आनुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ) २४ मा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो। हालसम्म २७ ओमिक्रोन भेरियन्ट भएको पत्ता लागेको छ। रासस