मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ पौष २८ बुधबार १२:१८:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

विद्यालय बन्द भएपछि महोत्सवतिर विद्यार्थी 

Read Time : > 2 मिनेट
२०७८ पौष २८ बुधबार १२:१८:००

भरतपुर- २, न्युरोडकी मीना महताे कक्षा ८ मा पढ्ने छोरी आरुषिसहित चितवन महोत्सवको बाल उद्यान क्षेत्रमा भेटिइन् । विद्यालय बन्द भएपछि आरुषिलाई घुमाउन आमा मीनाले  महोत्सव ल्याएकी थिइन् । भरतपुर– ७ कृष्णपुरका  कक्षा ६ मा पढ्ने रिमेश गुरुङ पनि विद्यालय बन्द भएपछि आमाबुबासँग महोत्सव घुम्न आएका थिए । चौरमा बसेर साथीहरूसँग महोत्सवको सांस्कृतिक प्रस्तुति हेर्दै थिइन् भरतपुर– ४, लक्ष्मीपुरकी नितु चौधरी । उनी सार्वजनिक गाडी चढेर साथीहरूसँग महोत्सव हेर्न आएको बताइन् ।  उनले भनिन्, ‘महोत्सव भएपछि कस्तो रहेछ भनेर हेर्न मन लाग्छ नि त त्यसैले साथीहरू मिलेर आएका हौँ ।’ 

विद्यालय बन्द भएपछि नारायणी नदी किनारमा आइतबारदेखि उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको  १३औँ संस्करणको चितवन महोत्सवमा विद्यार्थीहरूको भिड बढेको हो । भरतपुर– १३, चम्पानगरको  हिमालय माध्यमिक विद्यालयका प्राचार्य त्रिलोचन सापकोटाले दुईवटा परीक्षा बाँकी रहँदै कोरोना भाइरसको तेस्रो लहर (ओमिक्रोन) को संक्रमणका कारण विद्यालय बन्द गराएको, तर महोत्सव भने यथावत् राखेको भन्दै आक्रोश पोखे । ओमिक्रोनकै कारण २७ गतेदेखि उद्योग वाणिज्य संघ रत्ननगरले टिकौली चौरमा गर्ने भनेको ११औँ संस्करणको रत्ननगर महोत्सव र ३० पुसदेखि थारू समुदायले खैरहनीमा गर्ने तयारी गरिएको खिचरा महोत्सवई पूर्ण रूपमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय चितवनले भने यो महोत्सवलाई अझै रोक लगाएको छैन ।  

चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको नेतृत्वमा सोमबार भएको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (डिसिसिएमसी) र सर्वदलीय बैठकले जारी चितवन महोत्सवलाई व्यवस्थापन गर्न दुई दिनको समय प्रदान गरे पनि आयोजकले महोत्सवमा सहभागीलाई मंगलबार अनिवार्य टिकट खुला गरेको थियो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले चितवनमा २५ जनाभन्दा बढी भेला हुन नदिने गरी आदेश जारी गरेका छन् । महोत्सवमा भएको गतिविधिबारे सिडियो तामाङले अनविज्ञ भएको बताए । उनले भने, ‘हामीले व्यवस्थापन गर्न भनेका हौँ । टिकट काटेर प्रवेश खुला गर्न भनेका हाेइनौँ, अब जानकारी प्राप्त भयो । बुधबारदेखि कडाई गर्छौँ ।’

चितवन महोत्सव मूल आयोजक समितिका संयोजक एवं अध्यक्ष राजु श्रेष्ठले बुधबार साँझ ५ बजे महोत्सवको औपचारिक समापनको घोषणा गरिने बताए । माघ ४ गतेसम्म चल्ने गरी सुरु भएको महोत्सव चौथो दिनमै स्टल राखेका व्यवसायीहरूलाई ५० प्रतिशत रकम फिर्ता दिँदै समापन हुने उनले बताए । ‘हामी पनि जनस्वास्थ्यप्रति केन्द्रित भएर नै यो निर्णय लिएका हौँ । यद्यपि महोत्सव अवधिमा स्यानिटाइजर र माक्स आयोजकले अनिवार्यसहित निःशुल्क वितरण गरेको छ,’ श्रेष्ठले भने । 

कोभिड उपचारको तयारी यस्तो छ चितवनमा

स्वास्थ्य कार्यालय चितवनका प्रमुख  दीपक  तिवारीका अनुसार चितवनमा कोभिड उपचारका लागि भरतपुरको सरकारी अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई मेडिकल कलेज (चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल) तथा अक्सिजन सिलिन्डरको सुविधा भएका अन्य सामुदायिक आइसोलेसन केन्द्रमा समेत गरेर सम्भावित जोखिम कम गर्न सात सय १७ बेड कोभिड उपचारका लागि तयार गरिएको छ । 

चितवनमा मंगलबार एकैदिन ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हाल चितवनमा एक सय ६२ जना सक्रिय संक्रमितको उपचार भइरहेको छ । तीमध्ये सातजना अस्पतालको आइसोलेसन केन्द्रमा उपचाररत छन् भने बाँकी एक सय ५५ जना होम आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

कार्यालयको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा चितवनमा तीन सय ६७ जनाको पिसिआर र २३ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरस संक्रमणको नमुना परीक्षण गराएको थियो । योसँगै चितवनमा कोरोना संक्रमितको कुल संख्या २७ हजार तीन सय ६८ पुगेको छ । तीमध्ये चार सय ३७ जनाको मृत्यु भएको छ भने २६ हजार सात सय ६९ जना संक्रमणमुक्त भएका छन् ।