दक्षिण अफ्रिकाको उमेर समूह नेपालको भन्दा फरक भएकाले त्यहाँ ओमिक्रोनले धेरै असर गरेन भनेर नेपालमा पनि गर्दैन भन्न सकिन्न
सन् २०१९ मा सुरु भएको कोभिड– १९ को महामारी २०२२ सम्म आइपुग्दा धेरै उतारचढावहरू आएका छन् । कोरोना महामारी धेरै हिसाबले अप्रत्यासित रह्यो । पहिले चीनमा फैलँदा वैज्ञानिकहरूले यो धेरै घातक नहुने र निषेधाज्ञा जारी गर्नु नपर्ने अनुमान लगाएका थिए जुन गलत साबित भयो । पहिलो लहरले दक्षिण एसिया र अफ्रिकाको तुलनामा पश्चिमी मुलुकमा कडा ढंगले असर पार्यो । नयाँ–नयाँ र बढी संक्रामक एवं घातक भेरियन्टहरू विकसित भएर विश्वलाई आक्रान्त पारिरहेका छन् । नेपालमा पनि पहिले अल्फा, त्यसपछि डेल्टा भेरियन्टहरू फैलिए । उत्परिवर्तन भएर नयाँ र बढी संक्रामक भेरियन्टहरू बन्ने क्रममा केही समयअघि मात्र अहिलेसम्मकै संक्रामक ओमिक्रोन भेरिएन्ट भेटियो । दक्षिण अफ्रिका र बोत्स्वानामा पहिलोपटक भेटिएको यो भेरिएन्ट अहिले विश्वका सयभन्दा बढी मुलुकमा फैलिसकेको छ । यस लेखमा ओमिक्रोन के हो र विश्वको उदाहरण हेरेर यसले नेपालमा कस्तो असर गर्ला भन्ने चर्चा गरिएको छ ।
ओमिक्रोन कोरोना भाइरसकै एउटा भेरिएन्ट हो । दक्षिण अफ्रिका र बोत्स्वानामा पहिले भेटिएकाले यो भेरिएन्ट अफ्रिकाकै कुनै बिरामीमा पाइएको कोरोना भाइरस उत्परिवर्तन भएर बनेको हुन सक्छ । अरू भेरिएन्टभन्दा निकै फरक रहेको यो भेरिएन्ट अहिलेको स्वरूपमा कसरी आयो, अनुमान लगाउने कोसिस गरिएको छ । पहिले मुसामा फैलिएर, मानवमा भन्दा धेरै छिटो उत्परिवर्तन भएर फेरि मानवमा फैलिएको हुन सक्छ । पहिले आएका भेरिएन्टहरू अल्फा, बिटा, गामा र डेल्टाभन्दा यो भिन्न तरिकाले उत्परिवर्तन भएको छ । यो भाइरसको डिएनएमा ६० वटा उत्परिवर्तन देखिएका छन्, जसमध्ये ५० ले प्रोटिनमा परिवर्तन ल्याउँछन् । ३० वटा परिवर्तन एस प्रोटिनमा छन् भने ३० मध्ये पनि १५ परिवर्तन एस–२ रिसेप्टरसँग जोडिने भागमा छ । यो भेरियन्टमा पहिलेका भेरियन्टभन्दा धेरै नै बढी परिवर्तन छ ।
कुनै पनि भेरियन्टका तीनवटा पक्षहरू– भेरियन्ट कति संक्रामक छ, कति घातक छ र खोपलाई कति छल्न सक्छ त्यो हेर्नु जरुरी हुन्छ । भेरियन्ट कति संक्रामक छ र खोपलाई कति छल्न सक्छ भन्ने पक्षले उक्त भेरियन्ट समुदायमा कति फैलन्छ भन्ने निर्धारण गर्छ । भेरियन्ट कति संक्रामक हुन्छ भन्ने यसको एस रिसेप्टर मानवीय एस–२ सँग कति सजिलै जोडिन्छ भन्ेमा निर्भर गर्छ । यो पक्षबाहेक भेरियन्ट मानव कोषमा कति गुणा वृद्धि हुन सक्छ र हावामा कति समय जिउँदो रहन सक्छ भन्नेले पनि भेरियन्टको निहित संक्रामकता निर्धारण गर्छ । भेरियन्ट मानवीय कोषमा धेरै गुणा वृद्धि हुन सक्यो भने अर्काे व्यक्तिमा सर्न धेरै भाइरस उपलब्ध हुन्छ । त्यस्तै, भाइरस हावामा धेरै समय जिउँदो रह्यो भने पनि भाइरस सर्ने सम्भावना धेरै रहन्छ ।
यी कारणले ओमिक्रोन धेरै नै संक्रामक ठहरिएको छ । धेरै देशमा यसले डेल्टा भेरियन्टलाई पनि विस्थापित गरेको छ । ‘आर नट’ भन्ने अंकले भाइरस कति संक्रामक छ भन्ने जनाउँछ । आर नट अंक तीन भएको खण्डमा एउटा रोग लागेको व्यक्तिले औसतमा अरू तीनलाई रोग सार्छ । बेलायतमा यो अंक ३.५ सम्म पुगेको थियो । दक्षिण अफ्रिकामा चौथो लहर आएर त्यो उच्च बिन्दुमा पुगेर अहिले घट्ने क्रममा छ । त्यहाँ पहिलो लहर वुहानको उत्परिवर्तन नभएको भेरियन्टले, दोस्रो लहर बिटा भेरियन्टले, तेस्रो लहर डेल्टाले र चौथो लहर ओमिक्रोनले गर्दा भएको हो । चौथो लहर, अरू लहरभन्दा छोटो रह्यो । यसले ओमिक्रोन भेरियन्ट अरू भेरियन्टभन्दा संक्रामक रहेको जनाउँछ ।
ओमिक्रोन भेरियन्टको दोस्रो पक्ष यो कति घातक छ भन्ने हो । सबभन्दा पहिले दक्षिण अफ्रिकामा फैलिएकाले समीक्षा दक्षिण अफ्रिकाकै गरौँ । दक्षिण अफ्रिकामा अस्पताल भर्ना हुनेको संख्या त बढ्यो, तर अस्पताल भर्ना हुनेहरूमध्ये धेरैजसो अरू रोगका कारण अस्पताल आएका थिए । सघन उपचारमा राख्नुपर्ने तथा भेन्टिलेटरै प्रयोग गर्नुपर्नेको संख्या न्यून थियो । दोस्रो र तेस्रो लहरमा दैनिक औसत ५०० जनाको मृत्यु भएकोमा चौथो लहरमा यो संख्या ९० कटेको छैन । अमेरिका र बेलायतमा पनि ओमिक्रोनको लहर आइसकेको छ । पहिलेका लहरभन्दा संक्रमणको संख्या त उच्च छ । तर, अस्पताल भर्नाको संख्या, तथा सघन उपचार कक्षको प्रयोग कम नै छ ।
अहिलेसम्मको तथ्यांक हेर्दा अरू भेरियन्टभन्दा ओमिक्रोन कम घातक देखियो । के कारणले ओमिक्रोन अरूभन्दा कम घातक छ त भनेर अनुसन्धान जारी छ । हङकङका वैज्ञानिकहरूले पहिलोपल्ट अनुसन्धानमार्फत यस प्रश्नको जवाफ भेट्टाए । फोक्सोको कोषमा ओमिक्रोन र अरू भेरियन्टले संक्रामक गराउँदा, ओमिक्रोन अरू भेरिएन्टहरूजस्तो वृद्धि हुन सकेन । तर, फोक्सो नपुग्दै हावा जाने नलीका कोषहरूमा भने ओमिक्रोन अरू भेरियन्टभन्दा बढी फस्टायो । यसले ओमिक्रोनले घाँटी तथा हावाको नलीमा फस्टाउने, तर फोक्सोलाई भने त्यति असर नगर्ने देखियो । यसरी फोक्सोमा भाइरसको प्रजनन नहुने भएको कारणले रोग गम्भीर नभएको पहिलो अनुमान लगाइयो ।
ओमिक्रोनमा शरीरको प्रतिरक्षा भेदन क्षमता उच्च छ । एस्ट्राजेनेकाको दुवै मात्राको खोप ओमिक्रोनविरुद्ध लगभग निष्प्रभावी हुन्छ । यस्तै, फाइजर र मोडर्नाको दुई मात्राको खोपभन्दा तेस्रो मात्राको खोप धेरै हदसम्म प्रभावकारी हुन्छ ।
केही समयपछि विश्वका विभिन्न प्रयोगशालाबाट यही कारणलाई पुष्टि गर्ने नतिजाहरू आए । कुनै पनि भेरियन्टले हरेक देशमा उही किसिमको असर गर्छ भन्न सकिन्न । ओमिक्रोनले दक्षिण अफ्रिकामा धेरै असर गरेन भनेर नेपालमा पनि असर गर्दैन भन्न सकिन्न । दक्षिण अफ्रिकाको उमेर समूह नेपालको भन्दा फरक छ । नेपालमा भन्दा भिन्न भेरियन्टले दक्षिण अफ्रिकामा असर गरेको छ । यस्तै, भिन्न प्रकारका खोपहरू भिन्न मात्रामा लगाइएको छ । तर, जब परीक्षण उही खालका जनावरमा गरिन्छ, नतिजा बढी भरपर्दाे हुन्छ । मानवीय एस–२ रिसेप्टर भएको मुसा र मुसाजस्तै जीव सिरिएन ह्याम्सटरमा विभिन्न भेरियन्टले कोरोना रोग लगाइयो । यी दुवै जीवमा ओमिक्रोन भेरियन्टले अरू भेरियन्टभन्दा कम जटिल रोग लाग्यो । ओमिक्रोनका कारण जनावरहरूको वजन कम घट्यो, फोक्सोमा कम घाउ भयो र मृत्यु कम भयो । विशेष गरी, अरू भेरियन्टका कारण ह्याम्सटरमा जटिल रोग लाग्छ, तर ओमिक्रोनका कारण भने जटिल रोग लागेन ।
तेस्रो पक्ष, ओमिक्रोनको खोप तथा संक्रमणबाट विकास भएको प्रतिरक्षा भेदन क्षमता हो । अरू भेरियन्टभन्दा ओमिक्रोनमा शरीरको प्रतिरक्षा भेदन क्षमता उच्च छ । एस्ट्राजेनेकाको दुवै मात्राको खोप ओमिक्रोनविरूद्ध लगभग निष्प्रभावी रहन्छ । यस्तै, फाइजर र मोडर्नाको दुई मात्राको खोप पनि खासै प्रभावकारी छैन । तेस्रो मात्राको खोप भने धेरै हदसम्म प्रभावकारी रहन्छ । अरू भेरियन्ट संक्रमणबाट विकास भएको प्रतिरक्षा प्रणाली पनि भेदन गर्ने क्षमता यस भेरियन्टले राख्छ । उच्च भेदन गर्ने क्षमता र निहित संक्रामकताका कारण ओमिक्रोन विश्वभर तीव्र गतिमा फैलिरहेको छ ।
अर्काे ठूलो प्रश्न खडा हुन्छ– के ओमिक्रोन लागेर विकास भएको प्रतिरक्षा प्रणालीले अरू भेरियन्ट विशेष गरी डेल्टा भेरियन्टबाट बचाउन सक्छ त ? ल्याबमा परीक्षण गर्दा ओमिक्रोन लागेका व्यक्तिहरूको रगतबाट लिइएको एन्टिबडीले डेल्टा भेरियन्टलाई असर गरेको पाइयो । बेलायत र अमेरिकामा हेर्ने हो भने पनि ओमिक्रोन लहर आएपछि डेल्टा लाग्नेको संख्या घटेर गएको छ । यी सबै पक्षलाई एकसाथ हेर्दा ओमिक्रोन संक्रमणले अरू भेरिएन्टलाई इतिहास नबनाइदेला भन्न सकिन्न । अरू सम्भावना पनि नकार्न सकिन्न । कोरोना फ्लुजस्तो भाइरस बन्न पनि सक्छ । हरेक वर्ष स्वरूप बदलेर मौसमी रोग बन्न सक्छ । अथवा कोरोना डेंगुजस्तो भाइरस पनि बन्न सक्छ । डेंगु भाइरसका विभिन्न भेरियन्ट हुन्छन् । कुनै वर्ष एउटा भेरियन्टले असर गर्छ । अर्काे वर्ष त्यस भेरिएन्टविरूद्ध प्रतिरक्षा सबल भएकाले अर्काे भेरिएन्टले असर गर्छ । तेस्रो वर्ष पहिलो वर्षको प्रतिरक्षा कमजोर भएकाले पहिलो भेरियन्टले फेरि असर गर्छ ।
अन्तमा, नेपालको संक्रमणबारेमा चर्चा गरौँ । यही हप्ता समाचार आइसकेको छ कि नेपालमा गरिएको परीक्षणमा २४ नमुनामा २४ मै ओमिक्रोन भेटियो । नतिजा नजिकबाट हेर्ने हो भने २० प्रतिशत कोरोना संक्रामक ओमिक्रोनको होला । बाँकी विश्वको अनुभवका आधारमा यो २० प्रतिशत बढेर केही हप्ताभित्रमै ८०–९० प्रतिशत पुग्ला । नेपालमा संक्रमणको तेस्रो लहर आउला । बाँकी विश्वको अनुभवअनुसार मानवीय क्षति न्यून हुने सम्भावना प्रबल छ । अस्पताल भर्ना र भेन्टिलेटर चाहिनेको संख्या पहिलेका लहरहरूभन्दा निकै कम रहने सम्भावना छ । साथै, लहरको अन्त्य पनि छिट्टै नै हुने अनुमान पनि लगाउन सकिन्छ ।
हामी यो संक्रमणका बीचमा के गर्न सक्छौँ त ? ओमिक्रोन भित्रिसकेको अवस्थामा खोपको अर्काे मात्रा लगाएर आफूलाई सुरक्षित राख्न सक्छौँ । तर, खोप ल्याएर लगाउनुअगाडि नै महामारी फैलिएर सिद्धिन सक्छ । अस्पताल भर्ना हुनेको चाप थेग्न नसकिने भएको खण्डमा निषेधाज्ञा जारी गर्नु जरुरी हुन्छ । तर, त्यो अवस्था दक्षिण अफ्रिका, बेलायत र अमेरिकामा नआएकाले नेपालमा पनि नआउला भन्न सकिन्छ । मास्क लगाउने, भिडभाडमा सकेसम्म नजाने, बन्द कोठा र बसभित्र हावा आवतजावत गर्ने स्थिति बनाएर बस्नेजस्ता व्यक्तिगत सुरक्षाका सावधानी अपनाएर, जनजीवन सामान्य राखेर, अस्पताललाई तयारीको अवस्थामा राख्नु अहिलेका लागि श्रेयस्कर रहला ।
(लेखक काठमाडौं विश्वविद्यालय, बायोटेक्नोलोजी विभागका उपप्राध्यापक हुन्)