१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
टेकराज थामी काठमाडौं
२०७८ पौष २८ बुधबार ०६:४५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

किर्तेमा सुनौलो खिम्तीका सञ्चालक थापा पक्राउ 

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडौं
२०७८ पौष २८ बुधबार ०६:४५:००

अदालतले जालसाजी गरेको ठहर गर्दै दुई वर्ष कैद सजाय सुनाएपछि फरार थिए थापा

जालसाजी कसुरमा प्रहरीले ठेकेदार कम्पनी सुनौलो खिम्ती कन्स्ट्रक्सनका सञ्चालक रामहरि थापालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई सोमबार भक्तपुरबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौंले जालसाजी गरेको ठहर गरेपछि थापा फरार थिए । अदालतले उनीसहित मेखबहादुर श्रेष्ठ र कुमार श्रेष्ठलाई जनही दुई–दुई वर्षको कैदसजाय सुनाएको थियो । गत १३ मंसिरमा अदालतका न्यायाधीश रामप्रसाद शर्माको इजलासले तीनैजनाविरुद्ध कैदसजाय हुने ठहर गरेको थियो । मेखबहादुर यसअघि नै पक्राउ परिसकेका छन् । कुमार भने फरार छन् ।

सिआइबी प्रमुख डिआइजी धिरजप्रताप सिंहले ठेकेदार कम्पनी सुनौलो खिम्तीका सञ्चालक पक्राउ परेको जानकारी दिए । ‘रामहरि थापा पक्राउ परेका छन् । अदालतले उनीविरुद्ध दुई वर्ष कैदसजाय हुने फैसला गरेको रहेछ । खोज्दै जाने क्रममा उनलाई भक्तपुरबाट पक्राउ गरिएको हो । घटना सम्बन्धमा अनुसन्धान जारी छ,’ उनले भने ।

प्रहरीका अनुसार थापाले सुनौलो खिम्तीसँग सरोकार नै नभएका मेखबहादुर र कुमारको नाममा रोक्का राखिएको बैंक खाताबाट तीन करोड पाँच लाख रुपैयाँको चेक काटेका थिए । उनकै योजनामा मेखबहादुर र कुमारले बैंकमा चेक बाउन्स गराएका थिए । आफू ठगिएको भन्दै मेखबहादुर र कुमारले सुनौलो खिम्तीका अन्य साझेदारविरुद्ध मुद्दा हालेका थिए । सोही मुद्दापछि सुनौलो खिम्तीका सबै साझेदारको सम्पत्ति तथा बैंक खाता रोक्का भएको थियो । 

अदालतले थापा र श्रेष्ठद्वयलाई नै दोषी ठहर गरेपछि सुनौलो खिम्तीका अन्य साझेदारका बैंक खाता र सम्पत्ति फुकुवा गरेको छ । ‘अख्तियारीविनै चेकबुकबाट प्रतिवादी मेखबहादुर र कुमारले भुक्तानी पाउने गरी तीन करोड पाँच लाख रुपैयाँको चेक अनादरसमेत गराई कम्पनीका सञ्चालक सेयरधनीलाई नोक्सानी पुर्‍याउने र प्रतिवादीलाई लाभ हुने गरी जालसाजीपूर्वक चेक जारी भएको हुँदा प्रतिवादीलाई दुई वर्ष कैदसजाय हुने ठहर्छ,’ अदालतकोे फैसलामा भनिएको छ । सुनौलो खिम्ती कन्स्ट्रक्सनका सञ्चालक थापाले श्रीमती विमला श्रेष्ठ र सम्मान ट्रान्सपोर्टको नाममा २९ करोड ७५ लाख रुपैयाँको जाली चेक काटेको खुलेको छ । प्रहरीका अनुसार १४ करोड २५ रुपैयाँको चेक श्रीमती विमलाको नाममा छ ।