मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मुना कुँवर काठमाडौं
२०७८ पौष २७ मंगलबार ०९:३८:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

इजरायलमा कामदार लैजान एयर अरेबिया छनोट, प्रतिव्यक्ति हवाई भाडा ८० हजार घट्यो 

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडौं
२०७८ पौष २७ मंगलबार ०९:३८:००

कामदार इजरायल लैजान प्रतिव्यक्ति ८० हजारभन्दा कम भाडादर प्रस्ताव गरेपछि एयर अरेबिया छनोट भएको छ । एयर अरेबियाले ५९ हजार नौ सय ९० रुपैयाँमा कामदारहरूलाई इजरायल लैजान तयार भएको हो । रोजगारीमा जान अन्तिम छनोटमा एक हजार एक सय ७५ कामदार छनोट भएका छन् । अब उनीहरूको नौ करोड ४० लाख रुपैयाँ लागत घट्ने भएको हो । 

यसअघि वैदेशिक रोजगार विभागले इजरायल रोजगारीमा जाने कामदारबाट हवाई भाडा, बिमा, स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिम, पिसिआरसहित एक लाख ६५ हजार सात सय तोकेको थियो । जसमध्ये विभागले एक लाख ४० हजार रुपैयाँ हवाई भाडाबापत खर्च तोकेको थियो । विभागले नेपाल एयरलाइन्समार्फत कामदारलाई इजरायल पठाउन सो भाडादर निर्धारण गरेको होे । तर, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले हवाई भाडादर अत्यधिक भएको भन्दै नेपाल एयरलाइन्सको विकल्प खोज्न निर्देशन दिएपछि विभागले टेन्डर आह्वान गरेको थियो । यद्यपि, श्रममन्त्री श्रेष्ठले नेपाल एयरलाइन्सलाई नै भाडादर घटाउन आग्रह गरेको बताएका थिए । ‘नेपाल एयरलाइन्ससँग बार्गेनिङ गरेपछि एक लाख २० हजारसम्ममा सहमत भयो । तर, अन्य एयरलाइन्सले त्यसभन्दा कममा लैजान्छाैं भनेपछि हामीले टेन्डर आह्वान गरेका हौँ,’ मन्त्री श्रेष्ठले भने । 

विभागले ९ पुसमा सूचना प्रकाशित गरी एयरलाइन्स कम्पनीहरूसँग प्रस्ताव माग गरेपछि आठवटा एयरलाइन्स कम्पनीले आवेदन दिएका थिए । जसमध्ये सबैभन्दा कम मूल्य सी लिंक होलिडेज कम्पनीबाट प्रस्ताव गरेको एयर अरेबिया छनोट भएको हो । इजरायलस्थित पपुलेसन इमिग्रेसन र बोर्डर अथोरिटी (पिआइबिए)ले एक हजार एक सय ७५ जना कामदारलाई छनोट गरेको छ । विभागले यसअघि नेपाल एयरलाइन्ससँग तय गरेको भाडादरअनुसार सो संख्याका कामदारको भाडादर १६ करोड ४५ लाख हुन आउँथ्यो । तर, टेन्डरमार्फत छनोट भएको एयर अरेबियाले भने सात करोड पाँच लाख रुपैयाँमा लैजाने भएको हो ।  

करिब पौने दुई लाख पारिश्रमिक
केयर गिभरका लागि इजरायल जाने नेपाली कामदार मासिक पारिश्रमिक करिब पौने दुई लाख पाउनेछन् । वैदेशिक रोजगार विभागका अनुसार नेपालीले पनि त्यहाँका नागरिकसरह नै सुविधा पाउनेछन् । इजरायलको सरकारले तोकेअनुसार कामदारले मासिक एक लाख ८६ हजार रुपैयाँ (स्थानीय ५३ सय अथवा १६ सय अमेरिकन डलर) पारिश्रमिक पाउनेछन् । कामदारले हप्ताको ४२ घन्टा काम गर्नुपर्नेछ । 

इजरायल रोजगारीमा रोजगारदाता र श्रमिकबीच पहिलोपटक एक वर्षका लागि सम्झौता हुनेछ । तर, रोजगारदाताले चाहेमा पाँच वर्षसम्मका लागि गर्न सक्नेछ । तर, पाँच वर्षपछि भने कामदार अनिवार्य रूपमा नेपाल फर्कनुपर्नेछ । विभागले गत साउन १२ गतेदेखि इजरायल रोजगारीका लािग अनलाइन आवेदन माग गरेको थियो । गत साउन मसान्तसम्ममा विभागमा नौ हजार ६ सय ९९ जनाको आवेदन परेको थियो । आवेदन दिएकामध्ये पाँच हजार चार सय ९९ जना पुरुष र चार हजार दुई सयजना महिला छन् । विभागमा परेको आवेदन प्रमाणीकरण गर्दा करिब साढे सात हजार छनोट भएका हुन् । 

विभागले गत भदौ २८ गते लिएको पहिलो चरणको लिखित परीक्षामा ६ हजार तीन ९७ उपस्थित भएका थिए । भाषा परीक्षाबाट एक हजार तीन  सय ९५ महिला र ६ सय ४४ पुरुष गरी कुल दुई हजार ३९ उत्तीर्ण भएका थिए । भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये एक हजार आठ सय तीन अन्तर्वार्तामा सहभागी भएका थिए । जसबाट एक हजार एक सय २० महिला र चार सय ८० पुरुष गरी कुल एक हजार ६ सय छनोट भएका हुन् । अन्तर्वार्ता गत असोज ४ गतेदेखि ९ गतेसम्म चलेको थियो । 

५ माघमा एक सय २५ कामदार इजरायल उड्ने

वैदेशिक रोजगार विभागले ५ माघमा पहिलो चरणमा एक सय २५ जना नेपाली युवालाई इजरायल उडाउने भएको छ । विभागका अनुसार इजरायल दीर्घकालीन स्याहार केन्द्रका लागि सम्झौता गरेका नेपाली सहायक कामदारहरूमध्ये इजरायल कन्सुलर विभागबाट एक सय ४३ जनाको नामावली प्राप्त भएको छ । जसमध्ये एक  सय २५ जना कामदारहरू माघको पहिलो साता नै इजरायल प्रस्थान गर्नुपर्ने विभागले जनाएको छ । 

विभागले जारी गरेको सूचीको क्रमसंख्या एकदेखि एक  सय २५ सम्मका कामदारहरूले मंगलबार दिउँसो तीन बजेभित्र टिकट बुक गरिसक्नुपर्नेछ । सो अवधिमा टिकट बुक नगर्ने कामदारहरूको हकमा बाँकी क्रमसंख्या एक  सय २६ देखि एक सय ४३ सम्मका कामदारहरूले पहिलो प्राथमिकताका आधारमा बुधबार बिहान १० बजेभित्रमा टिकट काटिसक्नुपर्नेछ । नक्सालस्थित सी लिंक होलडेजको कार्यालयमा पुगी टिकट बुक गर्नुपर्नेछ । टिकट बुक गर्दा राहदानी पनि साथमा लैजानुपर्नेछ । टिकट बुक गरेका एक सय २५ कामदारले आगामी २९ गते बिहान १० बजेदेखि बेलुका चार बजेसम्म ललितपुरस्थित व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानमा गई बायोमेट्रिक गर्नुपर्नेछ । त्यस्तै, आगामी पुस ३० र माघ २ गते प्रतिष्ठानमा गई पूर्वप्रस्थान अभिमुखीकरण तालिम लिनुपर्नेछ । 

इजरायलस्थित रोजगारदाताले हस्ताक्षर गरी विभागमा पठाएको सम्झौतापत्रमा हालसम्म नौ सय ९४ कामदारसँग सम्झौता भइसकेको छ । विभागले पहिलो चरणमा दुई सय २९ जना युवासँग सम्झौता गरेको थियो । दोस्रो चरणमा तीन सय ९६, तेस्रोमा एक सय ५८, चौथोमा ३३, पाँचौँमा २८, छैटौँमा ३०, सातौँमा ३४, आठौँमा ३६ र नवौँ चरणमा ५० जना कामदारसँग सम्झौता गरेको छ । 

विभागले इजरायल रोजगारीका लागि १६ सय जनाको अन्तिम छनोट गरेको छ । भाषा परीक्षा र अन्तर्वार्ताबाट विभागले रोजगारीका लागि अन्तिम सूची सार्वजनिक गरेको हो । जसमा ७० प्रतिशत महिला छन् भने ३० प्रतिशत पुरुष रहेका छन् ।