मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
राघिब अली
२०७८ पौष २७ मंगलबार ०८:०६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

यसै वर्ष कोभिड महामारीको अन्त्य हुन सक्छ 

Read Time : > 2 मिनेट
राघिब अली
२०७८ पौष २७ मंगलबार ०८:०६:००

कोभिड स्थायी रूपमा उन्मूलन हुनेवाला छैन । तर, सन् २०२२ मा यो महामारीको अन्त्य हुनेमा हामी आशावादी हुन भने सक्छौँ ।


राघिब अली 
अली क्याम्ब्रिज विश्वविद्यालयका क्लिनिकल
महामारीविज्ञ एवं बेलायतको राष्ट्रिय स्वास्थ्य
सेवा ‘एनएचएस’का परामर्शदाता हुन्

महामारीविज्ञ र बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)को परामर्शदाताका रूपमा म अहिले हाम्रा अस्पतालमा ठूलो चाप निम्त्याउने खतरा भएको कोभिडको नयाँ भेरियन्टको प्रभावबारेका आँकडाको विश्लेषण गर्दै छु । म फेरि आकस्मिक विभागमा आएर अग्रपंक्तिमा बढ्दो दबाबमा काम गरिरहेका एनएचएसका सहकर्मीलाई सघाइरहेको छु । सन् २०२१ को तुलनामा सन् २०२२ तुलनात्मक रूपमा राम्रो हुने विश्वास गर्ने पर्याप्त कारण छन् । 

गत जनवरी सम्भवतः बेलायतमा महामारीको सबैभन्दा कहालीलाग्दो समय थियो । दसाँै हजारलाई अस्पताल भर्ना गरिएको थियो । प्रत्येक हप्ता हजारौँले ज्यान गुमाइरहेका थिए । अहिले हामीमध्ये धेरैलाई उच्च प्रभावकारी खोपहरूले सुरक्षित बनाएको छ । कसैगरी कोभिड संक्रमण भइहाले पनि थला पर्ने जोखिम कम छ । खोपहरूको संयोजन र कोभिडको उपचार कसरी गर्ने भन्ने जानकारीले अस्पतालमा भर्ना र मृत्युदरलाई उल्लेख्य रूपमा घटाएको छ । अर्थात् संक्रमण मृत्युदर ८० प्रतिशतभन्दा बढीले घटेको छ । यसको अर्थ, हाम्रा बालबच्चाहरू अब निर्धक्क स्कुल जान पाउनेछन् । बजार, होटेलहरू खुल्नेछन् । हामीले साथीभाइ र आफन्तलाई भेट्न पाउनेछौँ ।  

कोभिडको पछिल्लो लहरका बाबजुद पनि आशावादी हुनुपर्ने कारण छन् । बेलायतमा हालै प्रयोग हुन थालेका कोभिडविरुद्धका नयाँ औषधिले एचआइभी र हेपाटाइटिस सीका औषधिले जस्तै रूपान्तरणकारी क्षमता प्रदर्शन गरिरहेका छन् । यी औषधिले अस्पतालमा भर्ना हुनुपर्ने जोखिमलाई ९० प्रतिशतसम्म कम गर्न सक्छन् । साथै सबै प्रकारका भेरियन्टविरुद्ध प्रभावकारी पनि देखिएका छन् । यी औषधिलाई मुखबाट लिन सकिन्छ र वितरणका दृष्टिले खोपहरूभन्दा धेरै सजिला छन । यस्ता दुइटा औषधि पहिले नै स्वीकृत भइसकेका छन् । अन्य धेरै औषधि पनि हाल परीक्षणका क्रममा छन् । सम्भवतः यो वर्षभित्र स्वीकृत भई उपलब्धसमेत भइसक्नेछन् ।

त्यसबाहेक नयाँ खोपहरू विकासका क्रममा छन्, जसले आउँदा वर्षमा अवश्यंभावी कोरोना भाइरसका भेरियन्टलाई व्यवस्थापन गर्न सजिलो गराउनेछन् । इन्फ्लुएन्जा जस्तै अन्य धेरै प्रकारका संक्रमणबाट जोगाउने ‘मल्टीभ्यालेन्ट’ खोपहरू सम्भवतः यो वर्षको अन्त्यसम्ममा उपलब्ध हुनेछन् । स्पाइक प्रोटिनबाहेकका भाइरसका भाग र अंगलाई लक्षित गर्ने अन्य खोप अर्थात् सजिलै उत्परिवर्तन नहुने भाइरसका अंग र भाग लक्षित गर्ने खोपहरूको पनि विकास हुँदै छन् । नाकको स्प्रे, इनहेलर, खान मिल्ने र छालामा लगाइने प्याचहरूका माध्यमबाट पनि खोपको परीक्षण हुँदै छ । यी माध्यमको सफलताले सबैमाझ खोप वितरणलाई सजिलो बनाउनेछ । यसले सुईका डरले खोप नलगाउने समस्यालाई पनि हटाउनेछ ।

हाम्रो तत्कालको प्राथमिकतामा हामीसँग रहेका सबभन्दा धेरै प्रभावकारी खोपलाई विश्वभर समान रूपमा वितरण गर्ने सुनिश्चितता हुनुपर्छ । हामीले आठ अर्ब ५० करोड खोपका मात्रा वितरण गरी उल्लेख्य प्रगति हासिल गरेका छौँ । यद्यपि अझै पनि कम आय भएका देशका मूलतः उच्च जोखिममा रहेका र अग्रपंक्तिका (फ्रन्टलाइन) स्वास्थ्यकर्मीहरूले खोपको पहिलो मात्रा पनि पाएका छैनन् । सन् २०२२ मा सारा विश्वलाई खोप लगाउने लक्ष्य एक यथार्थपरक सम्भावना हो । तर, यो लक्ष्य प्राप्तिका लागि उच्च आय भएका मुलुकमा अनावश्यक भण्डारणको अन्त्य र पेटेन्ट अधिकारमा अस्थायी छुटको व्यवस्था हुनुपर्छ । यसले उच्च आय भएका मुलुकको पनि हित गर्नेछ अर्थात् कोभिडका नयाँ भेरियन्टलाई पूर्ण रूपमा रोक्न नसके पनि सबैलाई खोप उपलब्धता सुनिश्चित गरेर जोखिम कम गर्न सकिनेछ ।

दुर्भाग्य, कोभिड स्थायी रूपमा उन्मूलन हुनेवाला छैन, तर सन् २०२२ मा यो महामारीको (पेन्डेमिक) अन्त्य हुनेमा हामी आशावादी हुन सक्छौँ । खोप र प्राकृतिक संक्रमणको संयोजनमार्फत बेलायत र अन्य धेरै देशमा जनसंख्याको प्रतिरोधात्मक क्षमताको स्तर बढेका कारण कोभिड एउटा स्थानीय (एन्डेमिक) रोग बन्नेछ । त्यहाँ फ्लु झैँ मौसमी जाडोमा यो रोग उच्च बिन्दुमा पुग्ने सम्भावना रहिरहन्छ । त्यसकारण नयाँ भेरियन्टहरूको सामना गर्न र कमजोर प्रतिरोधात्मक क्षमतालाई उकास्न वार्षिक बुस्टर (अतिरिक्त) मात्रा आवश्यक पर्नेछ ।

अरू झैँ मैले पनि परिवारका सदस्य, साथीभाइ र सहकर्मीहरू गुमाएको छु । अनगिन्ती बिरामीहरू कोभिड र लकडाउनबाट प्रताडित भएको देखेको छु । तर, जीवनको क्षति र अन्य ठूला पीडा अब चाँडै विस्मृतिमा बिलाउनेछन् । हामीले पक्कै पनि समस्याबाट पार पाएका छैनौँ । संक्रमणका धेरै मामिला सतहमा आएका छन् र संक्रमण बढ्दै गइरहेको (यद्यपि पहिलेको तुलनामा वृद्धिदर कम छ) सन्दर्भमा कोभिड अझै पनि सबैभन्दा कमजोर एवं जोखिममा रहेकाहरूका लागि गम्भीर खतरा हो । त्यसकारण जोखिममा रहेका मानिसलाई सुरक्षित पार्न सार्वजनिक स्वास्थ्य निर्देशन पालना गरिरहनु आवश्यक छ । सन् २०२२ मा एक यथार्थपरक सम्भावना भने छ, अर्थात् यसअघि सताइराख्ने कोभिड एवं लकडाउनको भयविनै हामी भाइरससँगसँगै जिउन अभ्यस्त हुनेछौँ । द गार्जियन