कानुनविपरीत अतिरिक्त शुल्क असुलेको विरोधमा सोमबार पनि विद्यार्थीहरूले विराटनगरस्थित नोबेल मेडिकल कलेजमा प्रदर्शन गरेका छन् । एमबिबिएस पहिलो वर्षमा भर्ना भएका विद्यार्थीसँग असुल्न खोजेको चार लाख ४२ हजार रुपैयाँको विरोधमा आन्दोलनरत विद्यार्थीले प्रदर्शनलाई जारी राखेका हुन् ।
आन्दोलनरत विद्यार्थी र पाँच विद्यार्थी संगठनले नोबेल अस्पतालपरिसरमा प्रदर्शन गर्दै कोणसभा गरे । उनीहरूले अतिरिक्त शुल्क खारेज नगरेसम्म आन्दोलन नरोकिने चेतावनीसमेत दिए । विद्यार्थीको आन्दोलनलाई अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेविसंघ, जनता समाजवादी र एकीकृत समाजवादी विद्यार्थी संगठनले समर्थन गरेका छन् । आइतबार नोबेल प्रशासनले आन्दोलनमा हस्तक्षेप गर्दा सुरक्षा गार्डको कुटाइबाट दुईजना विद्यार्थी घाइते भएका थिए । त्यसपछि आक्रोशित विद्यार्थी समूहले अस्पतालको मूलगेटका सिसा तोडफोड गरेका थिए ।
नोबेलले चार लाख ४२ हजार शुल्क नबुझाएको भन्दैै एमबिबिएस प्रथम वर्षका विद्यार्थीलाई १४ पुसदेखि कक्षा प्रवेशमा रोक लगाउँदै आएको छ । चिकित्सा शिक्षा आयोग र सरकारले निर्देशन गरिसक्दा पनि अटेर गरेर विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको भन्दै विद्यार्थीले २१ पुसमा नोबेल मेडिकल कलेजको प्रशासन कार्यालयमा ताला लगाएका छन् । नोबेलमा अतिरिक्त शुल्क बुझाउन नसक्ने ७२ जना विद्यार्थी पढाइबाट वञ्चित भएका छन् ।