मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
प्रेमराज सिलवाल
२०७८ पौष २७ मंगलबार ०८:०४:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

समाजवादको गीत र जनताको जीवन

Read Time : > 2 मिनेट
प्रेमराज सिलवाल
२०७८ पौष २७ मंगलबार ०८:०४:००

ज्ञानमा सीमित समाजवादलाई सीपमा बदल्न नसक्ने हो भने त्यो कुनै पनि बखत प्रत्युत्पादक बन्न सक्छ 


नेपालमा समाजवादको नारा लागेको दशकौँ भयो । प्रमुख राजनीतिक दलको राजनीतिक घोषणापत्र, विधानमा मात्र होइन, नेपालको संविधान (२०७२) को प्रस्तावनामै ‘समाजवादप्रति प्रतिबद्ध’ पदावली उल्लिखित छ । राजनीतिक दलहरू मूलतः नेकपा एमाले, माओवादी तथा कतिपय अन्य ठूला दलको मुखमा समाजवाद झुन्डिएको देख्न, सुन्न पाइन्छ । हालै एमालेबाट फुटेको माधव नेपालको दलको नामै समाजवादी छ । उसले आफ्ना राजनीतिक कार्यक्रम तथा भाषणलाई ‘समाजवादतर्फको यात्रा’ भन्न थालेको छ । कतिपय सन्दर्भमा नेपाली कांग्रेसले पनि आफ्नो राजनीतिक लक्ष्य तथा कार्यक्रममा समाजवाद शब्दलाई उल्लेख गर्दै आएको देखिन्छ । 

नेपालमा समाजवाद शब्दप्रति लगाव र रुचि निकै देखिन्छ । आखिर किन र केका लागि समाजवादी भाष्य राजनीतिक बजारमा यति धेरै बिक्री हुन्छन् ? के हो समाजवाद ? समाजवाद केवल बुद्धिबिलासको विषय हो कि साँच्चै सीपपूर्वक लागू हुने विषय पनि हो ? नागरिकहरूले यसबारे मनन गर्न आवश्यक छ । ज्ञान र सीपको समाजवादलाई पहिले एउटा सामान्य उदाहरणबाट बुझौँ– जस्तो हाम्रो शरीरमा दुई हात छन् । हामी लेख्ने कार्य दाहिने हातले नै गर्छौं । देब्रे हातलाई पनि कसरी लेख्ने भन्ने पूरै ज्ञान, सूचना त रहेको हुन्छ । तर पनि हामी देब्रेले लेख्न सक्दैनौँ । किन ? किनकि देब्रे हातसँग केवल ज्ञान छ, तर अभ्यास पटक्कै छैन । सीप, कला र खासमा त्यसतर्फको निरन्तरको अभ्यासको कमीले देब्रेले लेख्न नसकेको हो । यहीँनेर सीप, अभ्यासको र वास्तविक अर्थमा प्रयोगको कुरा आउँछ । केवल ज्ञानको समाजवाद र नारामा मात्र हाम्रो ध्यान गएको त होइन ? हामीले समाजवाद ल्याउने वा समाजवादमा जाने कुनै सीप विकास नै गरेनौँ । अब अभ्यासै नगरी समाजवाद आउँछ भन्नेमा कसरी विश्वास गर्ने ? विचारले मात्र समाजवाद आउने कल्पना गर्न सकिन्न । सीपको विकास नगरी केवल ज्ञान मात्र गाउँदा समाजवादको नारा फोस्रो बन्न पुग्छ ।

समाजवादी धारणा र विचार आफैँमा विज्ञानवादी छ । दृष्टिकोणको हिसाबले यो मान्यताले समाजका सबैको आर्थिक–सामाजिक तथा सांस्कृतिक समानता खोज्छ । माक्र्स र एंगेल्सद्वारा प्रतिपादित राजनीतिक दर्शन र विचारमा आधारित छ, समाजवादी राजनीतिक विचारधारा । सो विचारलाई तत्कालीन सोभियत संघका लेनिनले पहिलोपटक सन् १९१७ मा अक्टोबर क्रान्तिमार्फत लागू गरे । लेनिनको मृत्युपश्चात् सत्तामा आएका उनका चेला स्टालिनले चाहिँ वर्ग दुस्मन खतम गर्नमा यो शब्दको प्रयोग गरिदिए । लाखौँलाखको हत्या हुँदा समाजवादी क्रान्ति बदनामसमेत बन्न पुग्यो । सोभियत रुसमा समाजवादी सत्ता ढलेपछि पूर्वी एसिया र विश्वका अन्य मुुलुकका सत्ता पनि धमाधम ढले । यद्यपि क्युबा र चीनजस्ता कतिपय देशमा आज पनि समाजवादी सत्ता सञ्चालितै छन् । 

चीनको समाजवाद भने अन्यत्रको भन्दा अलग्गै रहेको अनुभूति हुन्छ । जसले आर्थिक विकास, समृद्धि, नागरिकको जीवनस्तरमा सुधार, सुरक्षा, समानता, सामाजिक न्याय, मुलुकको उत्पादनशील क्षमतामा वृद्धि, बजारमा वस्तु तथा सेवाको व्यापक विस्तार एवं रोजगारी र शिक्षाजस्ता विषयमा उनीहरूले आफ्नो समाजवादी सीपलाई तिखारे र ज्ञानको समाजवादलाई सीपको समाजवादमा बदले । क्युवाको समाजवादी सत्ता पनि केवल ज्ञानमा सीमित भएको भए सन् १९६० देखि अमेरिकी नाकाबन्दी झेल्दै आजसम्म टिक्ने थिएन । विश्वमा जहाँ–जहाँ समाजवादी सत्ता ढले, त्यहाँ केवल ज्ञानको समाजवाद र समाजवादी विचारधारालाई मन्त्रजस्तै गाइए मात्र । आफूले जानेको, बुझेको, सुनेको र घोकेको समाजवादी धारणा र विचारमा ‘कमा’ र ‘फुलस्टप’ पनि परिवर्तन गर्नुहुन्न भन्ने सोचियो । समाजवादी विचारलाई धर्मग्रन्थजस्तै सोचियो । जसले ती मुलुक, सत्ता र आन्दोलनलाई पूरै ध्वस्त बनायो । जहाँ सिर्जनात्मकता प्रयोग गरिए, बदलिँदो आवश्यकता र विश्व बुझेर सीप लगाएर लागू गरिए ती टिके । चीनले लागू गरी आएको समाजवादको सफलताको चुरो यही हो । 

सन् १९७५–२००९ सम्म भारतको पश्चिम बंगालमा माक्र्सवादी सत्ता थियो । निर्वाचनमा जनताको अपार समर्थन हुन्थ्यो । तापनि जनता र नागरिकको जीवनमा परिवर्तन र सुधार ल्याउन ज्ञानलाई सीपमा ढाल्ने काम गरिएन । त्यो सत्तालाई ममता बेनर्जीको दलले ढालिदियो । नेपालको सन्दर्भमा उल्लिखित रुस र बंगालको तितो उदाहरणबाट शिक्षा लिँदै चीनको जस्तो नागरिकको जीवनमा आधारित सीप तथा अभ्यासबाट खारिएको समाजवाद चाहिएको हो । केवल भाष्यमा मात्र प्रयोग हुने, चुनावी नारामा मात्र प्रयोग गरिने समाजवाद र समाजवादी धारणाले कुनै दिन बंगाली माक्र्सवादी कम्युनिस्टको हालतमा नपु¥याउला भन्न सकिन्न । समाजवादलाई केवल भाष्य र ज्ञानको मात्र विषय बनाउने हो भने त्यो किताबको पानामा र कविताका अक्षरमा गाइने गीतजस्तो बन्न पुग्नेछ । के हामीले समाजवादको गीत मात्र गाउन खोजेका हौँ ? ज्ञानमा सीमित समाजवादलाई सीपमा बदल्न नसक्ने हो भने त्यो कुनै पनि बखत प्रत्युत्पादक बन्न सक्छ ।