मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
श्रवण थापा सर्लाही
२०७८ पौष २७ मंगलबार ०६:१६:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अढाई महिनाको संघर्षपछि पीडितको जाहेरी जिल्ला प्रहरीमा दर्ता

ठेकेदारको यातनाले भारतको चिस्यान केन्द्रमा मृत्यु भएका तीन मजदुरलाई न्याय दिलाउन राज्यकाे बेवास्ता

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७८ पौष २७ मंगलबार ०६:१६:००

ठेकेदारले अखाद्य पदार्थ खुवाएर २२ घन्टासम्म काममा लगाउँदा भारत उत्तर प्रदेशको फरसैया चिस्यान केन्द्रमा ज्यान गुमाएका सर्लाहीका तीन युवाका परिवारको जाहेरी ७६ दिनपछि सोमबार जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ ।

जाहेरी दर्ता भयो, भारतीय प्रहरीसँग डकुमेन्ट मागेर अनुसन्धान गर्छौँ : डिएसपी माधवप्रसाद बुढाथोकी, प्रवक्ता, जिल्ला प्रहरी कार्यालय

मुद्दा दर्ता भएको छ । अनुसन्धानको कानुनी प्रावधानबारे बुझ्दै छौँ । घटना भारतमा भएकाले उताको पुलिससँग समन्वय गर्नुपर्ने हुन्छ । भारतीय पुलिससँग केही डकुमेन्ट छ भने झिकाउनुपर्छ । पीडितले किटानी जाहेरी गरे पनि अदालतको आदेशविना आरोपीलाई पक्राउ गर्न मिल्दैन । अदालतले पक्राउ पुर्जी जारी गर्‍यो भने मात्रै प्रहरीले पक्राउ गर्न सक्छ । दोषी हो–होइन अदालतले फैसला गर्ने विषय हो । हामी त अनुसन्धान गरेको डकुमेन्ट लिएर अदालत जाने हो । 

आइतबार नै जिल्ला सरकारी वकिलको कार्यालयले पीडितको जाहेरी दर्ता गरेर प्रहरीमा पठाएको थियो । पीडितले पटक–पटक धाउँदा पनि जिल्ला प्रहरी प्रमुख एसपी कृष्णप्रसाद प्रसाईंले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि कानुनअनुसार नै सरकारी वकिलको कार्यालयमार्फत दर्ताको वैकल्पिक बाटो अपनाएका हुन् । 

चन्द्रनगर गाउँपालिका– ६ का ठेकेदार इन्द्रजित राउत नेतृत्वको समूहले ऋणमा फसाएर चिस्यान केन्द्र पुर्‍याएका स्थानीय कामत गाउँका नन्दलाल माझी र जगदीश माझी तथा छिमेकी गाउँ ईश्वरपुर नगरपालिका– ३ भक्तिपुरका सुमन भुजेलको गत ८ कात्तिकमा मृत्यु भएको थियो । नन्दलालका बुबा गनौर माझी, जगदीशका बुबा महिन्द्र माझी र सुमनकी आमा निरु भुजेलले ठेकेदार इन्द्रजित, उनका छोरा सुनील र भाइ इन्दलविरुद्ध किटानी जाहेरी दिएका छन् । ‘ठेकेदारले खानेकुरामा विषाक्त पदार्थ राखेर खुवाउँदा मृत्यु भएको’ जाहेरीमा उल्लेख छ । 

जिल्ला प्रहरी प्रवक्ता डिएसपी माधवप्रसाद बुढाथोकीले सोमबार मुद्दा दर्ता भएको बताए । घटना भारतमा भएकाले अनुसन्धानको कानुनी प्रावधानबारे बुझ्ने क्रममै रहेको उनको भनाइ छ । ‘मुद्दा दर्ता भएको छ । घटना भारतमा भएकाले उताको पुलिससँग समन्वय गर्नुपर्ने हुन्छ । अनुसन्धानको कानुनी प्रावधानबारे बुझ्दै छौँ,’ उनले भने, ‘त्यहाँको पुलिससँग केही डकुमेन्ट छ भने झिकाउनुपर्छ ।’

उनले पीडितले किटानी जाहेरी गरे पनि अदालतको आदेशविना आरोपीलाई पक्राउ गर्न नमिल्ने बताए । ‘अदालतले पक्राउ पुर्जी जारी गर्‍यो भने मात्रै प्रहरीले पक्राउ गर्न सक्छ, नत्र मिल्दैन,’ उनले भने, ‘दोषी हो–होइन अदालतले फैसला गर्ने विषय हो । हामी त अनुसन्धान गरेको डकुमेन्ट लिएर अदालत जाने हो ।’ 

तीन मृतकसँगै बिरामी अवस्थामा घर फर्काइएका सातजना र अझै चिस्यान केन्द्रमै बन्धक बनाइएका २२ जना युवाका परिवारले पनि न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा यसअघि नै निवेदन बुझाएका थिए । बिरामीका परिवारले क्षतिपूर्ति र बन्धक भएकाहरूका परिवारले उनीहरूको उद्धारको माग गरेका छन् । तर, उनीहरूको निवेदन जिल्ला प्रशासनमै अलपत्र छ ।