मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ पौष २६ सोमबार ०८:३७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गण्डकीमा एमाले जिल्ला अधिवेशन : चार जिल्लामा अध्यक्ष सर्वसम्मत, बाँकीमा प्रतिस्पर्धा

Read Time : > 1 मिनेट
२०७८ पौष २६ सोमबार ०८:३७:००

गण्डकी प्रदेशअन्तर्गतका नौ जिल्लामा भएको एमाले जिल्ला अधिवेशनले चार जिल्लामा सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको छ । म्याग्दी, तनहुँ, लमजुङ र गोरखामा एमाले अध्यक्ष सर्वसम्मत निर्वाचित चएन भएका हुन् । एमाले म्याग्दीको अध्यक्षमा देवेन्द्र केसी, गोरखामा प्रेम गुरुङ, तनहुँमा श्रीप्रसाद श्रेष्ठ र लमजुङमा कृष्णप्रसाद अधिकारी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । 

कास्की, स्याङ्जा, बाग्लुङ, पर्वत र नवलपुरमा अध्यक्ष चयनका लागि निर्वाचन हुने भएको छ । नेकपा एमाले कास्कीको अध्यक्षमा दुईजनाबीच प्रतिस्पर्धा छ । वर्तमान कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङ र सचिव दामोदर बैरागीको बीचमा अध्यक्षका लागि प्रतिस्पर्धा हुने भएको हो । दुवैजनाले अध्यक्षका लागि आइतबार उम्मेदवारी दर्ता गरेका छन् । यसअगाडि शनिबार र आइतबारसमेत दिनभरजसो सहमतिका लागि प्रयास भएको थियो । तर, सहमति जुट्न नसकेपछि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकेर निर्वाचन प्रक्रिया सुरु गरिएकोमा दुवैजनाले अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

कास्कीमा दुवैजना प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् । गुरुङलाई एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको साथ छ भने बैरागीलाई खगराज अधिकारीको साथ छ । बाग्लुङको अध्यक्षमा तीनजनाको प्रतिस्पर्धा  छ । कृष्ण पाठक, हिराबहादुर केसी र मेयरसिंह पाइजाले अध्यक्षका लागि उम्मेदवारी दिएका छन् । बाग्लुङमा आइतबार साँझ अबेरसम्म मतदान भएको छ । सोमबार बिहान मतगणना सकिने जनाइएको छ । 

नेकपा एमाले पर्वतको अध्यक्षका लागि चारजनाले आकांक्षा प्रकट गरेका छन् ।  अधिवेशनमा सर्वसहमतिका लागि भन्दै निर्वाचन प्रक्रिया अगाडि बढाइएको छैन । सहमति गर्न भन्दै उम्मेदवारलाई आइतबार राति ११ बजेसम्मको समय दिइएको छ । पर्वत एमाले अध्यक्षमा वर्तमान कार्यवाहक अध्यक्ष भक्त कुँवर, वर्तमान सचिव पदमपाणि शर्मा, अघिल्लो अधिवेशनमा अध्यक्षका प्रत्याशी रहेका राजु पौडेल, वर्तमान उपसचिव गोविन्द पहाडी अध्यक्षका आकांक्षी छन् । अकांक्षीमध्ये शर्मा र पौडेल पूर्वमाधव नेपाल समूहका हुन् ।

स्याङ्जाको अध्यक्षमा दुईजनाबीच प्रतिस्पर्धा हुने भएको छ । आइतबार अध्यक्षका लागि संघीय सांसद नारायण मरासिनी र वर्तमान एमाले जिल्ला अध्यक्ष सूर्यप्रसाद गैरे ‘पारस’ले उम्मेदवारी दर्ता गराएका हुन् । पारस रामबहादुर थापानिकट नेता हुन् । एमाले नवलपुरको अध्यक्षमा दुईजनाको प्रतिस्पर्धा छ । हालका अध्यक्ष रोशन गाहा र हालका सचिव जीवन श्रेष्ठले अध्यक्षमा दाबी गरेका छन् । दुवैले दाबी नछाडे पनि सहमतिको प्रयास जारी छ ।  गण्डकी प्रदेशअन्तर्गत हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा भने जिल्ला अधिवेशन भएको छैन ।