सडक नहुँदा वाल्मीकि आश्रम पुग्न नवलपरासीको त्रिवेणीबाट एक सय २० किलोमिटर र भारतीय बाटो एक सय २५ किलोमिटर छिचोल्नुपर्छ
चितवनको माडी नगरपालिका–१ स्थित चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको वाल्मीकि आश्रममा जान सडकमार्ग छैन । भारतीय भूमि भएर मात्रै पुग्न सकिन्छ । अरू भौतिक पूर्वाधारको त कुरै छाडौँ, शुद्ध पिउनेपानी पनि छैन । स्थानीय बासिन्दा खोलाको पानी पिउन र खुला शौच गर्न विवश छन् । स्वास्थ्य र शिक्षाजस्तो आधारभूत सुविधाबाटसमेत उनीहरू वञ्चित छन् ।
आश्रममा रहेका ऐतिहासिक र पौराणिक संरचना तथा वस्तुको संरक्षणका लागि पनि राज्यले कुनै चासो देखाएको छैन । ‘यहाँको बारेमा भनेर के गर्नु ? कसैलाई वास्ता नै छैन । हाम्रा समस्या न स्थानीय सरकार सुन्छ न केन्द्र सरकार,’ आश्रम परिसरमै रहेको सीता मन्दिरका पुजारी शेखर सुवेदी भन्छन्, ‘यहाँका पुरातात्िवक संरचनाको ऐतिहासिक तथा पौराणिक महत्वका विषयमा पुरातत्व विभागलाई समेत चासो छैन ।’
संरक्षण गर्न नसक्दा कैयौँ पुरातात्िवक सम्पदा क्षयीकरण भइरहेको सुवेदीले बताए । ‘सामान्य संरचनामा यहाँ भएका सबै वस्तुको संरक्षण गर्न सकिँदैन,’ उनले भने, ‘यीबाहेक सीता माताले खाना खाने स्थल, वाल्मीकि योग मन्दिर, लवकुशले घोडा बाँधेको खम्बा, सीता माताको सिलौटा, अमृत कुवा, विष्णुचक्र, प्राचीन हवन द्वारसहित धार्मिक महत्वका कैयौँ शिला, मूर्तिलगायतका सामग्रीहरू खुला आकाशमुनि छन्, क्षयीकरण हुँदै छन् । राज्यलाई कुनै चासो नै छैन, यिनको संरक्षण कसले गर्ने हो ?’
निकुञ्जका कारण आश्रमसम्म जान चितवनबाट बाटो छैन, नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको त्रिवेणी हुँदै जानुपर्छ । त्रिवेणीमा डुंगा चढेर चितवनको सीमाक्षेत्रसम्म पुगिन्छ । त्यहाँबाट करिब ४५ मिनेट चितवन राष्ट्रिय निकुञ्जभित्र हिँडेपछि मात्रै वाल्मीकि आश्रममा पुगिन्छ । नारायणी, ताम्सा र सोनभद्र नदीको संगमस्थल हो त्रिवेणी । डुंगा चढेको एकजनाले एक सय २० रुपैयाँ तिर्नुपर्छ । बर्खाको समयमा पानीको सतह बढ्दा डुंगा पनि चल्दैन ।
नारायणघाटदेखि त्रिवेणीसम्म पुग्न करिब एक सय २० किलोमिटर दूरी छिचोल्नुपर्छ । निकुञ्जभित्रैबाट सडक बनेको भए माडी क्षेत्रबाट २५\२६ किलोमिटरको दूरीमै वाल्मीकि आश्रम पुग्न सकिन्थ्यो । त्रिवेणी तरेपछि भारतीय भूमिबाट पनि वाल्मीकि आश्रम जान सकिन्छ । पारिपट्टिबाट भने आश्रमसम्म पुग्न सडकमार्ग छ, जहाँ करिब पाँच किलोमिटर यात्रा गर्नुपर्छ । तर, कोरोना महामारीपछि भारतले यो बाटो हिँड्न रोक लगाएको छ । अत्यावश्यक सेवा लिनुपर्ने बिरामीबाहेकका नागरिकलाई गण्डक नहरको पुल तर्न नै रोक लगाएको छ । तर,भारतीय नम्बर प्लेटका सवारीसाधन भने सहजै नेपाल भित्रिन्छन् । यहाँ नवलपरासीको त्रिवेणी भन्सार कार्यालय पनि छ ।
सुरक्षाकर्मीका पनि उस्तै दुःख
आश्रमनजिकै नेपालको सीमामा सशस्त्र प्रहरीको टिम छ । भारततर्फ एसएसबीको बाहिनी मुख्यालय बगहाको टोली बस्छ । नेपाल प्रहरीको चौकी त्रिवेणीमा छ । सुरक्षाकर्मीहरू पनि बजार गर्न भारत नै जानुपर्ने बाध्यता छ । यहाँ मोबाइलले पनि टावर टिप्दैन । अग्लो ठाउँ खोज्दै सीमातर्फ नै जानुपर्छ । कतिसम्म भने प्राविधिक समस्याका कारण सोलारले काम गरेन भने मोबाइल चार्ज गर्न पनि सुरक्षाकर्मीले सीमापारि कुद्नुपर्छ । पिउनेपानीको समस्याबीच सुरक्षाकर्मीले यहाँ बसेर सेवा दिइरहेका छन् ।
वाल्मीकि आश्रम जोड्नका लागि त्रिवेणीमा झोलुंगे पुल बनाउन ९ असार ०७३ मै गीता रुविना मना जेभीलाई ठेक्का दिइएको थियो । तर, समयमा पुल बनेन । ठेकेदार कम्पनीले पटक–पटक म्याद थप्दै २० मंसिर ०७७ सम्म पुर्याएको थियो । निर्माण कम्पनीले ७० प्रतिशत काम सम्पन्न भएको बताए पनि स्थानीयलाई भने वैशाखमा समेत पुल बन्ने विश्वास छैन । पुल बनेपछि त्यहाँबाट करिब दुई किलोमिटरको पैदल हिँडेर वाल्मीकि आश्रम पुग्न सकिनेछ । अहिले पेटी ठेकेदारमार्फत काम भइरहेको छ । पुल निर्माणमा काम गरेका मजदुरहरूलाई पनि ठेकेदार कम्पनीले ठगी गरेको छ । आश्रम क्षेत्रमा बस्ने नौ सुकुमबासी श्रमिकको २० हजार रुपैयाँ ठेकेदारले अझै नदिएको स्थानीय यमबहादुर सारू मगरले बताए ।
शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सुविधाबाट पनि वञ्चित छन् स्थानीय
आश्रमको सुरक्षा र संरक्षणमा स्थानीय बासिन्दाको पनि उत्तिकै भूमिका छ । तर, राज्यले भने उनीहरूलाई शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सुविधाबाट समेत वञ्चित बनाएको छ । आश्रमनजिकै बस्ने रेशमी रानामगर १६ वर्षकी भइन् । तर, अहिलेसम्म विद्यालय देखेकी छैनन् । सामान्य अक्षर चिने पनि उनीलाई राम्रोसँग लेखपढ गर्न आउँदैन । रेशमीका दाइ रोशन १८ वर्षका भए, मदजुरी गर्छन् । १० वर्षका भाइ रेशम र सात वर्षकी बहिनी रेशमा पनि घरमै छन् । यो परिवारको कुनै पनि सदस्य स्कुल गएको छैन ।
‘स्कुल टाढा छ । बुबाआमासँग पढाउने आर्थिक क्षमता पनि छैन, त्यसैले विद्यालय गइनँ,’ रेशमीले भनिन् । उनी घरमा भाइबहिनीलाई हेर्ने र आमालाई काममा सघाउने गर्छिन् । रेशमीकी आमा रिमाले वनबाट कुच्चो, खर, दाउरा, निगुरो र तामा खोजेर सीमावर्ती भारतीय बजारमा बेचेर गुजारा गर्थिन् । तर, अहिले निकुञ्जले त्यसमा प्रतिबन्ध लगाएपछि अहिले आश्रमछेउमै धूपबत्ती र मालाको पसल राखेर जीविका चलाउँदै छिन् ।
०२५ सालदेखि यही ठाउँमा बस्दै आएका मंगलबहादुर मगरकी पत्नी तारादेवीको १२ वर्षअघि जन्डिसबाट मृत्यु भयो । समयमा उपचार पाएको भए उनको ज्यान जोगिने थियो । ‘उपचार गर्न पैसा हुन्थेन, साह्रै नै भएपछि भारतमा उपचार गराउन जाँदा जन्डिस अन्तिम अवस्था पुगेको र उपचार नहुने भन्दै घर फर्काइदियो । त्यसको तीन दिनपछि उनको मृत्यु भयो,’ मंगलबहादुरले भने ।
यहाँका सुकुमबासी विगतमा आरक्षबाट कुच्चो, खर, तामा संकलन गरेर चामलसँग साटेर गुजारा गर्थे । चामल लिन सीमापारिको भारतीय बजार जाने क्रममा २० वर्षअघि भालुले मंगलबहादुरको देब्रे हात नै खाइदियो । भालुको आक्रमणबाट उनको दाहिने खुट्टामा लागेको गहिरो चोटको ठूलो निशान अहिले पनि छ ।
खोलाको पानी पिउन र खुला शौच गर्न विवश छन् स्थानीय
चितवन देशकै दोस्रो खुला दिसामुक्त जिल्ला हो । तर, वाल्मीकि आश्रमछेउका कुनै पनि घरमा शौचालय छैन । आश्रममा आउने भक्तजन पनि खोलाको पानी पिउन र जंगल तथा खोला–किनार क्षेत्रमा शौच गर्न बाध्य छन् । ‘संसार २१औँ शताब्दीमा हिँडे पनि हामी बसेको ठाउँ नवौँ शताब्दीमै छ जस्तो लाग्छ,’ वाल्मीकि आश्रममै रहेको सीतामन्दिरका पुजारी शेखर सुवेदीले भने, ‘यहाँ खानेपानीको समस्या छ । शौचालय छैन । बिजुली छैन ।
खोलाबाट पाइपमार्फत ल्याइएको पानी खानुपर्छ, तर त्यो पनि बर्खा लागेपछि पिउनै नसकिने हुन्छ । गर्मीमा कहिलेकाहीँ खोलाको पानी पनि सुक्छ ।’ मन्दिरका लागि भनेर आश्रममा एउटा शौचालय बनाइएको थियो । तर, पानीको अभावमा शौचालय प्रयोगमै ल्याइएको छैन । ‘शौचालय गएपछि सफा गर्नुपर्छ, त्यसका लागि पानी छैन । यस्तोमा पिसाब मात्रै फेर्दा पनि आश्रमवरिपरि झन् दुर्गन्ध हुने भयो,’ सुवेदीले शौचालय देखाउँदै भने, ‘बिजुली ल्याउन सकेको भए बोरिङ गरेर वा मोटरबाट खोलाको पानी पाइपमार्फत तान्न सजिलो हुने थियो ।’
निर्वाचनको समयमा फकाउन र अरू स्वार्थपूर्तिका लागि विभिन्न नेताहरूले वेलावेलामा वाल्मीकि आश्रमलाई ‘नेपालकै मणि’ भन्ने गरेको, तर, अरूवेला बेवास्ता गर्ने गरेको पुजारी रामशरण गिरीकी पत्नी रामेश्वरीले बताइन् । आश्रममा राज्यका तर्फबाट विगतमा आउने सुविधासमेत बन्द भएको उनको गुनासो छ । माडी नगरपालिकाका नगरप्रमुख ठाकुरप्रसाद ढकाल निकुञ्जकै कारण उक्त ठाउँमा योजना बनाएर पनि काम गर्न नपाएको गुनासो गर्छन् ।
भोटका लागि स्थानीयको ठेगाना नवलपरासी बनाइयो
वाल्मीकि आश्रमकै अगाडि सूर्यबहादुर घले गुरुङको छाप्रो छ । उनी ०३५ सालमा सिन्धुलीबाट बसाइँ सरेर यहाँ आएका हुन् । त्यतिवेला यो ठाउँ चितवनको गर्दी गाविसअन्तर्गत थियो । तर, चुनावका वेला उनीसहितका स्थानीयलाई घरघडेरीको आश्वासन देखाई नवलपरासीको तत्कालीन त्रिवेणी–सुस्ता गाविसको बसाइँ–सराइ दिइयो । ‘त्यतिवेला नेताज्यूहरूले हामीलाई घर र जग्गाको आश्वासन देखाएर नवलपरासी बसाइँ–सराइ गरिदिनुभो । हाम्रा सन्तानलाई पनि त्यहीँबाटै नागरिकता दिनुभयो, तर सबै भोटका लागि मात्रै रहेछ,’ सूर्यबहादुरले १३ जेठ ०४५ मा दर्ता गरिएको बसाइँ–सराइको कागज देखाउँदै भने । सरकारी कागजपत्रमा यहाँ बसोवास गर्ने सबैको स्थायी ठेगाना नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ र ७ छ । आफ्ना सन्तानहरूको नागरिकता पनि उनीहरूले नवलपरासीबाटै बनाउने गरेका छन् । मतदाता पनि उतैका हुन् ।
०२४ सालमा बुबासँगै पाल्पाबाट आएर आश्रम क्षेत्रमा बसेका यमबहादुर सारू मगरगाउँका मुखिया पनि हुन् । उनका अनुसार विगतमा यहाँ ३६ परिवार बसोवास गर्थे । वनक्षेत्रमा बसेको भन्दै २०३८ सालमा निकुञ्जले घरटहरामा आगो लगाइदिएपछि अधिकांशको उठिवास भयो । केही भारततर्फ र केही परिवार नेपालकै अन्य क्षेत्रमा विस्थापित भएको यमबहादुरले बताए । ‘हाम्रा समस्या लिएर स्थानीय सरकारमा जाँदा कोही वास्तै गर्नुहुन्न,’ यमबहादुरले भने, ‘हामी चितवनको भए पनि नागरिकता र भोट नवलपरासीमा छ । त्यहाँ जाँदा उहाँहरूले हाम्रो भूमि हैन, हामीले सहयोग गर्न मिल्दैन भन्नुहुन्छ । चितवनतर्फ जाँदा भोट जता दिनुहुन्छ, सेवा–सुविधाको पनि त्यतै माग गर्नू भन्नुहुन्छ । हामी त फुटबलजस्तो भएका छौँ ।’
निकुञ्जको करिब १२ बिघा क्षेत्रफलको धार्मिक वनक्षेत्रभित्र रहेको आश्रमअगाडि सुकुमबासीका नौवटा छाप्रा छन् । तीमध्ये पनि दुईवटा रित्ता छन् । मानिस भएका घरमा वृद्धवृद्धा, महिला र केटाकेटी मात्र भेटिन्छन् । श्रम गर्न सक्नेहरू कोही भारत गएका छन् भने कोही नेपालकै मुख्य सहरहरूमा कामको खोजीमा छन् । वाल्मीकि आश्रम ५५ वर्षअघि राज्यको नजरमा परेको थियो । तर, पछि ओझेल पर्दै गयो । राजा महेन्द्रको निर्देशनमा तत्कालीन अञ्चलाधीशले २०२२ सालमा आश्रम संरक्षणको जिम्मा जुद्ध गिरीलाई दिएका थिए । उनी कामको खोजीमा वीरगन्जबाट त्रिवेणी आएका थिए । त्यतिवेलैदेखि जुद्ध र उनकी पत्नी राजमतीले आश्रमका ऐतिहासिक महत्वका वस्तु संरक्षण गर्दै आएका थिए । २३ वर्षअघि जुद्धको र आठ वर्षअघि राजमतीको आश्रममै मृत्यु भयो । अहिले जुद्धकै छोरा रामशरण गिरी आश्रमको मुख्य हरिहर मन्दिरका पुजारी छन् । आमाको मृत्युपछि उनी आश्रमको संरक्षणमा पनि लागेका छन् ।
नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको रानीनगरमा पनि घर भएका रामशरण आश्रममै हुर्किएका थिए । तर, बुबाको पालामा आश्रममा जेजस्ता समस्या थिए, अहिले उनले पनि तिनै समस्याको सामना गरिरहेका छन् । ‘बाटो, बिजुली, पिउनेपानी, शौचालय यहाँका मुख्य समस्या हुन्, उहिले पनि थिएन, अहिले पनि छैन,’ उनले भने । यहाँका बासिन्दा खोलाको पानी पिउन बाध्य छन् ।
चितवन घर भएर नवलपरासीको नागरिकता लिएको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रशासकीय अधिकृत एवं सूचना अधिकारी आनन्द शर्मा भुसाल अध्ययनविना ठ्याक्कै भन्न नसक्ने बताउँछन् । ‘त्यतिवेला टोलीमा नागरिकता लिएका होलान्, यसबारे नबुझी भन्न सक्दिनँ,’ उनले भने ।