मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २५ आइतबार १०:००:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

बागमती प्रदेशमा ट्याक्सी भाडा २५ प्रतिशतले वृद्धि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २५ आइतबार १०:००:००

माघदेखि कार्यान्वयन गर्ने गरी एक किलोमिटरमा १० रुपैयाँ भाडा बढाउने निर्णय

बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा सञ्चालित मिटर ट्याक्सीको भाडादर २५ दशमलव ४० प्रतिशतले वृद्धि गरेको छ । यससँगै अहिले एक किलोमिटरको ३९ रुपैयाँ रहेकोमा अब ४९ रुपैयाँ तिर्नुपर्ने भएको छ । बागमती सरकारले माघ १ देखि कार्यान्वयन हुने गरी भाडा वृद्धि गरेको हो । प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीस्तरीय निर्णयमार्फत नयाँ भाडादर तोकिएको हो । मन्त्रालयले २० पुसमा भाडा वृद्धि गर्ने निर्णय गरेको हो । 

नयाँ भाडादरअनुसार उपत्यकामा सञ्चालित ट्याक्सी सेवाको पहिलो १ किलाेमिटर सम्मको यात्राको सुरु फ्लाग डाउन ६० रुपैयाँ कायम गरिएको छ । यसअनुसार अहिले सुरुमा ३९ रुपैयाँ र फ्लाग डाउन १४ रुपैयाँ गरी ५३ रुपैयाँ छ । त्यसलाई ६० रुपैयाँ पुर्‍याइएको छ । 

यसबाहेक सुरुको एक किलोमिटर यात्रापछि प्रति दुई सय मिटरको नाै रुपैयाँ ८० पैसाका दरले थप हुने गरी भाडादर कायम गरिएको छ । यसअनुसार दुई सय मिटरमा दुई रुपैयाँ ८० पैसाको दरले वृद्धि गरिएको छ । यसको अर्थ एक सय मिटर ट्याक्सी गुड्दा एक रुपैयाँ ४० पैसा भाडा लाग्ने भएको छ । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ट्याक्सीतर्फका केन्द्रीय सदस्य अर्जुन मैनालीले अहिलेको भाडा वृद्धि न्यून रहेको र वैज्ञानिक भाडादरअनुसार नभएको प्रतिक्रिया दिए । प्रदेश सरकारले भाडा वृद्धिसँगै ट्याक्सीहरूले पूर्ण रूपमा मिटर प्रयोग गर्नुपर्ने र मिटरमा नै हिँड्नुपर्ने सर्त राखेको छ । 

भिजिटिङ कार्ड उपलब्ध गराउनुपर्ने
त्यस्तै, सेवाग्राहीलाई ट्याक्सी प्रयोग गर्नेबित्तिकै सवारीसाधनको नम्बर, चालकको सम्पर्क नम्बरसहितको विवरण भएको अंग्रेजी र नेपाली माध्यमको भाषा भएको भिजिटिङ कार्ड उपलब्ध गराउनुपर्ने भएको छ । 

यसबाहेक ट्याक्सीमा छुटेको सामान ट्याक्सी सेवा प्रदायकले सुरक्षित राखी नजिकको प्रहरीलाई सूचना दिनुपर्ने र ट्याक्सी नियमित रूपमा सरसफाइ गरी लैंङिक विभेदरहित सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्ने सार्वजनिक सूचना जारी गरेको छ ।