टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ १० सोमबार
  • Monday, 24 January, 2022
पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोन्द्राङदेखि पुल्चोकसम्म बन्दै गरेको ६ लेनको सडक । तस्बिर सौजन्य : किरण सापकोटा
२०७८ पौष २५ आइतबार ०९:१३:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पूर्वाधार निर्माणमा भरतपुरको फड्को

मेयर रेनु दाहाल भन्छिन्– पछिल्लो विकास निर्माणले समृद्ध भरतपुरको सपना पूरा हुँदै छ

Read Time : > 3 मिनेट
२०७८ पौष २५ आइतबार ०९:१३:००

साढे चार वर्षमा भरतपुर महानगरपालिकामा ६ सय किलोमिटर सडक कालोपत्रे, बन्दै गरेका गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सिटी हल, मेट्रो प्लाजाजस्ता पूर्वाधार ठूलो उपलब्धि

भरतपुर महानगरपालिका–२४ का वडाध्यक्ष कान्छा मल्ल विजयी भएर आउँदा उनको वडामा पक्की सडक थिएन । तर, स्थानीय सरकार आएपछि करिब नौ किलोमिटर कालोपत्रे सडक बनेको छ । ‘चनौली हुँदै धुव्र जाने बाटो एक सय मिटर पिच गर्ने कार्यक्रम म जनप्रतिनिधि हुनुअघि नै परेको थियो । तर, काम भने भएन,’ उनले भने, ‘वडाको मुख्य बाटो करिब–करिब पिच भइसक्यो । रिङरोड, लिंकरोडको काम भएको छैन । यदि त्यो पनि हुने हो भने १५ किलोमिटरजति सडक स्थानीय सरकार आएपछि सम्पन्न हुन्छ ।’ 

भरतपुर महानगरपालिका–१३ का वडा सदस्य किशोर पौडेलको पनि अनुभव त्यस्तै छ । पहिले पहिले पानी पर्दा हिलो र घाम लाग्दा धुलोले बाटो हिँड्नै नसक्ने थियो । ‘हामी जनप्रतिनिधि भएर आउँदा वडामा चार सय मिटर मात्र पक्की बाटो थियो । अहिले २२ किलोमिटर सडक पक्की हुँदै छ,’ उनले भने ।

भरतपुर महानगरपालिका–२५ का वडाध्यक्ष विजय भुजेलले पुस पहिलो साता पाँच सडकसहित सार्वजनिक भवन र वडामा निर्माण गरिएका विभिन्न १५ पूर्वधारको एकसाथ उद्घाटन गरे ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले साढे चार वर्षको अवधिमा ६ सय १० किलोमिटर सडक कालोपत्रे र चार सय ५० किलोमिटर सडक ग्राभेल गरिएको जानकारी दिइन् । संघीय सरकारको सहयोग तथा महानगरपालिकाको पहलमा नेपालकै सबभन्दा लामो ८८.६ किमिको महानगरीय रिङरोड आठ अर्ब २० करोडको लागत रहने गरी प्रारम्भिक वातावरणीय परीक्षणसहित विस्तृत परियोजना प्रतिवेदन तयार भई सघन सहरी विकासबाट १०, प्रदेश सरकारबाट ८.५५, सडक विभागबाट १२, महानगरबाट १० गरी ४० दशमलव ५५ किमि रिङरोड निर्माणाधीन अवस्थामा छ । दाहालका अनुसार बाँकी ४८ दशमलव ६५ किमि निर्माणका लागि स्रोत सुनिश्चितताको पहल भइरहेको छ भने ५२ किमिको लिंकरोडको काम अघि बढेको छ । 

महानगरभित्र पर्ने पुल्चोकदेखि गोन्द्राङसम्म सडक हरियालीसहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्र्याक निर्माणका लागि एक अर्ब ९८ करोड ७३ लाखको लागतमा काम सुरु भएको छ । साथै, चार लेन बाइपास सडक विस्तार एवं सतह ढल निर्माणको काम अघि बढेको छ । माडी–ठोरी हुलाकी सडक १९ किमि विस्तार एवं स्तरोन्नति र भरतपुर– मेघौली–गोलाघाट (सहायक राजमार्ग) खण्डको आठ किमि सडक निर्माणाधीन अवस्थामा रहेको उनले बताइन् । ‘पछिल्लो विकास निर्माणले समृद्ध भरतपुरको सपना पूरा हुँदै छ,’ दाहालले भनिन् । 

हालै सम्पन्न १०औँ नगर सभामा भरतपुर महानगरपालिकाले ५४ वटा कामको सूची सार्वजनिक गरेको थियो । जसमा अधिकांश काम पूर्वाधार विकास निर्माणसँग सम्बन्धित छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सिटी हल निर्माण, रिङरोडजस्ता विषयलाई विकासको मुख्य आधार बनाइएको छ । ज्येष्ठ पत्रकार निवृत्तिभरणका लागि अक्षयकोष स्थापना गर्नेदेखि सहिद परिवार र विपन्न परिवारका लागि बजेट छुट्याइएको छ । महानगरको नगरसभाले आर्थिक वर्ष ०७८/७९ का लागि पाँच अर्ब ३३ लाख ९९ हजार रुपैयाँ बजेट पारित गरेको थियो । नगर सभाले भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान गठन ऐनसहित आठवटा महत्वपूर्ण निर्णय गरेको प्रमुख दाहालले बताइन् । 

शिक्षा : ६ हजारभन्दा बढी विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना

पछिल्लो चार वर्षमा भरतपुर महानगरपालिकाभित्रका निजी विद्यालय छाडेर ६ हजारभन्दा बढी विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना भएको प्रमुख दाहालले बताइन् । यसबाहेक अटिजम भएका विद्यार्थीका लागि महानगरले अटिजम विद्यालयको स्थापना, शिक्षक दरबन्दी सिर्जना गरी युवा स्वयंसेवक शिक्षक परिचालन, खुला आवेदनबाट पूर्ण छात्रवृत्ति प्रदानजस्ता काम भएको उनको भनाइ छ ।

भरतपुर महानगरले आफ्नो आन्तरिक आम्दानीको १३ प्रतिशत शिक्षामा लगानी गरेको छ । यद्यपि केन्द्र सरकारले १० प्रतिशत मात्र शिक्षामा बजेट छुट्याएको छ । महानगरपालिकाले उच्च शिक्षामा प्राविधिक विषय अध्ययन गर्नेका लागि वार्षिक १० हजार छात्रवृत्ति उपलब्ध गराउन सुरु गरेको छ । शिक्षकको प्रविधि उपयोगको क्षमता विकास गर्न आइसिटी तालिम सञ्चालन गरिएको छ । सबै आधारभूत विद्यालयमा इन्टरनेट सुविधा विस्तार गरी शिक्षासँग सिकाइ जोडिएको छ ।

नगरले ‘हाम्रो गौरव हाम्रो भरतपुर’ विषयको कक्षा १ देखि ८ को स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरिएको छ । अतिविपन्न परिवारका छात्राहरूको विद्यालय शिक्षामा पहुँच र निरन्तरता अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क साइकल वितरण गरेको छ । महानगरपालिकाभित्र १२३ सामुदायिक र संस्थागत विद्यालय ९७ छन् । ती विद्यालयमा ८६ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

पूर्वधार निर्माण : क्रिकेट रंगशाला, सिटी हल, मेट्रो प्लाजा निर्माणाधीन
सडकसँगै भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, अन्तर्राष्ट्रियस्तरको सिटी हल, मेट्रो प्लाजालगायतका विषयलाई पूर्वाधार विकासमा महत्वपूर्ण काम गरिएको महानगरले जनाएको छ । नारायणी नदीको डुबान, कटान नियन्त्रणका लागि तटबन्ध गर्न संघीय सरकारबाट चार अर्बको बजेट सुनिश्चित भएको र भरतपुर विमानस्थलको विस्तार तथा स्तरोन्नतिको काम अगाडि बढिरहेको विषय पनि महानगरले आफ्नो उपलब्धि भनेको छ । 

शारदानगर, जखडिमाई दिव्यनगर पार्वतीपुर मेघौली र धनगढा खानेपानीलगायतका परियोजनाले गर्दा महानगरवासीको स्वच्छ खानेपानीमा पहुँच विस्तारदेखि सार्वजनिक भवन र पार्क निमार्णले गर्दा पर्यटकीय गतिविधिलाई जोड्ने गरी पूर्वाधार निर्माण गरेको महानगरले बताएको छ । उज्यालो भरतपुर कार्यक्रमअन्तर्गत स्मार्ट सडक बत्ती योजना तथा १९ किमि भूमिगत विद्युत् लाइन विस्तारको कार्य अघि बढेको महानगरको प्रगति विवरणमा छ । महानगरले साढे चार वर्षको अवधिमा १३ वटा वडा कार्यालय भवन निर्माण गरेको छ । ६ वटा वडा कार्यालयको तला थप गरेको जनाएको छ । महानगरको सेवालाई डिजिटल प्रविधिमा आधारित बनाउन अफिस अटोमेसनको कार्य प्रारम्भ भएको छ ।

कृषि : दूधमा प्रतिलिटर तीन रुपैयाँ अनुदान
दूग्ध उत्पादक किसानलाई लक्षित गरी दूधमा प्रतिलिटर तीन रुपैयाँ अनुदान दिइएको छ । दूध, मासु र मत्स्य उत्पादनमा आत्मनिर्भर भएको महानगरले दाबी गरेको छ । महानगरले साढे चार वर्षको अवधिमा ३५० वटा साना सिँचाइ र २१ वटा मझौला सिँचाइ आयोजना सम्पन्न गरी ४५५ बिघा क्षेत्रफलमा बाह्रै महिना सिँचाइको सुनिश्चितता गरेको जनाएको छ ।

स्वास्थ्य : तीन सय शय्याको शिक्षक अस्पताल स्थापनाको पहल
भरतपुर अस्पतालमा महिला तथा ज्येष्ठ नागरिकलाई ओपिडी टिकट निःशुल्क गरिएको छ । महानगरपालिकाले आयुर्वेद अस्पताल निर्माणमा प्रदेश सरकारसँग समन्वय गरेको छ । देशभरिका शिक्षकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिन लागेको तीन सय शय्याको शिक्षक अस्पताल यसै महानगरपालिकाभित्र स्थापना गर्ने गरी आवश्यक पहल भइरहेको प्रमुख दाहाल बताउँछिन् । भरतपुर महानगरपालिकामा हाल ४० वटा स्वास्थ्य संस्था स्थापना गरी सेवा प्रवाह गरिएको छ । जसमध्ये पाँचवटा भवन निर्माण सम्पन्न तथा १० वटा भवन निर्माणाधीन अवस्थामा छन् ।