मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीद्वारा लिखित ‘मार्क्सवाद र विश्व कम्युनिस्ट आन्दोलन पुस्तक’को विमोचन गर्दै पूर्वराष्ट्रपति डा. रामवरण यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत ।
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २५ आइतबार ०८:२२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राष्ट्रपति भण्डारीको भूमिकाप्रति पूर्वराष्ट्रपति यादवको असन्तुष्टि 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २५ आइतबार ०८:२२:००

पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्या भण्डारीको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् । विगतमा संविधान समाप्त पार्ने प्रयासमा भूमिका खेलेको र अहिले बन्धक संसद् खुलाउन कर्तव्य निर्वाह नगरेको भन्दै पूर्वराष्ट्रपति डा. यादवले राष्ट्रपति भण्डारीको भूमिकामाथि प्रश्न उठाएका हुन् । 

राष्ट्रपति भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी ओली मिलेर संविधान र संसद् समाप्त पार्ने प्रयास गरेको पूर्वराष्ट्रपति यादवको आरोप छ । ‘संविधानमाथि चार वर्षमा बारम्बार आक्रमण भएको छ । त्यसमा पनि एक वर्षदेखि त दुई–दुईचोटि संविधानमाथि आक्रमण भएको छ, सदनमाथि आक्रमण भएको छ । प्रधानमन्त्री र राष्ट्रपतिलगायत मिलेर नै यसलाई खत्तम गर्न खोजियो,’ नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीद्वारा लिखित ‘मार्क्सवाद र विश्व कम्युनिस्ट आन्दोलन’ पुस्तकको शनिबार विमोचन गर्दै यादवले भने ।

लोकतन्त्रको खम्बा मानिने संस्थाहरूलाई पौष्टिक आहार दिने र मजबुद गर्नुपर्नेमा कार्यकारी प्रमुख (ओली)ले नै बारम्बार प्रहार गरेको यादवको भनाइ थियो । पाँच पार्टी, नेपाली समाज, बुद्धिजीवी र अदालतले कुनै न कुनै प्रकारले संविधान र संसद् बचाएको उनले बताए । संसद् बन्धक बन्दा लोकतन्त्रमाथि नै संकट देखिएकोमा चिन्ता जनाउँदै पूर्वराष्ट्रपति यादवले सदन खुलाउने काममा राष्ट्रपति, प्रधानमन्त्री, सत्तारुढ पार्टीदेखि सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए । लामो समयदेखि विपक्ष एमालेले सदन अवरोध गर्दा संसद्बाट कानुन निर्माणका काम सबै रोकिएका छन् । 

‘अहिलेको व्यवस्था बचाएर लैजाने कि नलैजाने, यसका लागि राष्ट्रपतिको के कर्तव्य छm सरकारको के कर्तव्य छ, सरकार प्रमुखको दायित्व के छ ?’ पूर्वराष्ट्रपति यादवले भने, ‘सम्पूर्ण राष्ट्रको समस्या समाधान गर्ने संसद् बन्धक बनाइएको छ । त्यसलाई खुलाउन राष्ट्रपतिको कर्तव्य के छ, राजनीतिक दल, नागरिक समाज र जनताको कर्तव्य के छ, कर्तव्य निर्वाह गर्ने कि नगर्ने ? मेरो चिन्ता त्यहाँ छ ।’ जीवनको उत्तरार्द्धमा पुस्तक प्रकाशन गरेकोमा खुसी लागेको भन्दै पूर्वराष्ट्रपति यादवले जोशीलाई बधाई पनि दिए । 

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जोशीले महŒवपूर्ण पुस्तक प्रकाशन गरेको भन्दै बधाई दिए । त्यस्तै, उनले लोकतान्त्रिक गणतन्त्रसहितको ठूलो राजनीतिक उपलब्धि हासिल भए पनि सामाजिक, सांस्कृतिक, आर्थिक रूपान्तरणको काम अगाडि बढ्न नसक्नुको कारणबारे आत्मसमीक्षा गरेर अगाडि बढ्न विलम्ब हुन लागेको बताए ।