मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
ब्युटी ध्लामिनी
२०७८ पौष २५ आइतबार ०८:०६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अफ्रिकालाई उपेक्षा गर्दा बढेको महामारी 

Read Time : > 2 मिनेट
ब्युटी ध्लामिनी
२०७८ पौष २५ आइतबार ०८:०६:००

अफ्रिकामा खोप उत्पादन गर भन्ने औषधि कम्पनीमाथिको बढ्दो दबाबले बायोनटेकले रुवान्डा र सेनेगलमा खोप उत्पादनका लागि लगानी गर्ने घोषणा गरेको छ, तर यो घोषणा महामारीले हजारौँको ज्यान लिएपछि मात्रै आएको छ


कोभिड–१९ महामारीको दुई वर्ष पुग्न आँट्दा पनि व्याप्त असमानताको सामना गर्ने राजनीतिक अनिच्छाले विश्व अझै पनि पीडित छ । ओमिक्रोन भेरियन्ट सतहमा आउँदा विश्वभर समान खोप वितरणको असफलता र त्यसमाथि अफ्रिकी मुलुकमा खोप उत्पादन र वितरण क्षमताको कमी बढ्दो चासोको विषय बनेको छ । यो लेख लेखिरहँदासम्म अफ्रिकामा ८५ लाख मानिस ओमिक्रोनबाट संक्रमित छन् । दुई लाख १८ हजारभन्दा बढी मानिसको मृत्यु भएको विश्वास गरिएको छ । २९ लाख संक्रमित र करिब ९० हजार मानिसको मृत्युसँगै दक्षिण अफ्रिका महादेशकै सबैभन्दा प्रभावित मुलुक बनेको छ । मोरोक्को र ट्युनिसिया अफ्रिकामा क्रमशः दोस्रो र तेस्रो सबैभन्दा बढी प्रभावित मुलुक भएका छन् । यद्यपि संक्रमण भए–नभएको जाँच्ने उपकरण एवं पूर्वाधारको कमीले अफ्रिकी मुलुकमा व्याप्त महामारीलाई साँचो अर्थमा आकलन गर्न सकिएको छैन । त्यसमाथि तथ्यांक संकलन पनि मापदण्डअनुसार भएको छैन ।    

गत अक्टुबरमा अफ्रिकामा कोभिड खोपका पाँच करोड मात्रा आयात गरिएको थियो, जुन सेप्टेम्बरको भन्दा दुई गुणाले बढी हो । खोपमा समतामूलक पहुँचका लागि बनेको वैश्विक मञ्च कोभ्याक्सले यो महिनाको (जनवरी) ९० प्रतिशत खोप उपलब्ध गराइसकेको छ । अफ्रिका महादेशका कुल जनसंख्याको ४० प्रतिशतलाई पूर्ण रूपमा खोप लगाउने लक्ष्यअन्तर्गत जी–७ राष्ट्रका प्रतिबद्धताका बाबजुद गत वर्ष अफ्रिकाले २७ करोड ५० लाख खोपको कमी व्यहोर्नुप¥यो । यो कमी सन् २०२२ को मध्यसम्ममा पनि पूरा हुने देखिँदैन ।      

यो लेख लेखिरहँदा अफ्रिका महादेशमा सात करोड ७० लाख मानिसले मात्रै खोप लगाएका छन्, जुन कुल जनसंख्याको ६ प्रतिशत मात्रै हो । तुलनात्मक रूपमा हेर्ने हो भने उच्च आय भएका ७० प्रतिशतभन्दा बढी मुलुकका ४० प्रतिशतभन्दा बढी जनताले खोप लगाइसकेका छन् । यी मुलुकमा बुस्टर (दुई मात्रापछि लगाइने अतिरिक्त खोप) डोजको घोषणा भइरहँदा अफ्रिका पहिलो मात्राको खोपकै दरमा पनि निकै पछाडि परेको छ । उदाहरण इजरायलका ४४ प्रतिशतभन्दा बढी मानिसले बुस्टर डोज लगाइसकेका छन्, जुन अफ्रिकामा खोपको पहिलो मात्रा लगाउन बाँकी जनसंख्या अनुपातको पाँच गुणाले बढी हो । वैश्विक रूपमा अफ्रिका महादेशमा सबैभन्दा कम खोप लगाइएको छ । त्यसमाथि अफ्रिकामै पनि खोपको असमान वितरण देखिन्छ । यसले वैश्विक खोप अपर्थाइड (रंगभेद) झन् बलियो बनाएको छ । 

खोपको कमीको समाधान गर्न थप खोपका मात्राहरूको उपलब्धता बढाउनुपर्छ भन्ने मत देखिन्छ, तर यो मत वास्तविक समाधान होइन । खोपका उपलब्धता बढाउनुलाई नै समाधान मान्ने हो भने पनि यो उपाय चुनौतीरहित छैन । न्यून खोपका लागि व्यक्तिलाई दोष दिइने गरिएको छ, अर्थात् व्यक्तिका सांस्कृतिक एवं धार्मिक विश्वासलाई खोपप्रतिको सन्देहका रूपमा लिइएको पाइन्छ । यही कारणलाई केहीले अफ्रिकामा न्यून खोपको कारकका रूपमा लिने गरेका छन् ।  वास्तवमा खोपमा कमी बन्दोबस्तीका अप्ठ्यारा एवं स्वाथ्य पूर्वाधारमा रहेका समस्याले निम्त्याएको हो । अफ्रिका क्षेत्रमा सिरिन्जजस्ता खोपका लागि अति आवश्यक स्वास्थ्य सामग्री पनि सीमित मात्रामा उपलब्ध छन् । युनिसेफले सन् २०२२ मा कोभिड एवं अन्य प्रयोजनका लागि करिब दुई अर्ब २० करोड सिरिन्जहरूको कमी हुने देखाएको छ । यति कमजोर पूर्वाधार रहेको अवस्थामा जतिसुकै खोप आयात गरे पनि के फाइदा ?      

अफ्रिकामा भारत र ब्राजिलजस्ता विकासशील मुलुकहरूको जस्तो खोप उत्पादन क्षमता छैन । अफ्रिकामा ट्युनिसिया, सेनेगल, इजिप्ट, इथियोपिया र दक्षिण अफ्रिकासँग मात्रै खोप उत्पादन एवं तयार गर्ने क्षमता छ । औषधि कम्पनीमाथि अफ्रिकामा खोप उत्पादन गर भन्ने बढ्दो दबाबले बायोनटेकले रुवान्डा र सेनेगलमा खोप उत्पादनका लागि लगानी गर्ने घोषणा गरेको छ, तर यो घोषणा महामारीले हजारौँको ज्यान लिएपछि मात्रै आएको छ । महामारीले असर गर्नुअगाडि कोभिड–१९ खोपहरू सजिलैसँग जर्मनी र विश्वका अन्य ठाउँमा बायोनटेकले सीधै आपूर्ति गर्न सक्थ्यो । अफ्रिकामै उत्पादन गर्नुको औचित्य अफ्रिकी देशहरूका लागि उच्च मूल्य निर्धारण गर्नका लागि हो भन्ने प्रश्नहरू पनि खडा भएका छन । यस्तो सन्देह स्वाभाविक पनि हो, आखिर औषधि कम्पनीहरूको प्राथमिकता औषधिको मूल्य उच्च राखेर नाफा कमाउनु न हो । 

कुनै पनि उत्पादनलाई ‘पहुँच मूल्य निर्धारण’अन्तर्गत वितरण गर्न सकिन्छ र यो नीतिले दक्षिणी गोलाद्र्धका मुलुकले निकै कम मूल्यमा विकिसित मुलुककै गुणस्तरका उत्पादन खरिद गर्न सक्छन् । यो नीति समानान्तर आयातका कारण सफल नहुन सक्छ अर्थात् उत्पादन विकसित मुलुकका आकर्षक बजारमा उपलब्ध भएर समस्या उत्पन्न हुन सक्छन् । विभिन्न नियामक ढाँचामा सञ्चालित भौगोलिक रूपमा छुट्टाछुट्टै उत्पादन स्थलहरूको प्रयोग गरेर समानान्तर आयातलाई भने रोक्न सकिन्छ ।

अफ्रिकामा खोपको असफलता कुनै दुर्घटना होइन । वास्तवमा खोपको असफलता प्रणालीकै ढाँचाअनुसार भएको हो । हामीले हाल सामना गरिरहेको खोप अपर्थाइड विश्वव्यापी स्वास्थ्य बजारहरूले मूलतः अफ्रिकी नागरिकबाट नाफा बटुल्नेमा केन्द्रित छ । ओमिक्रोन भेरियन्टले उत्तरी गोलाद्र्धमा महामारी फेरि फैलिएको अवस्थामा हामीले महामारीलाई उब्जाउने संरचनात्मक कारण सम्झिनुपर्छ । ‘सबैजना सुरक्षित नभएसम्म कोही पनि सुरक्षित हुँदैन’ भन्ने उक्ति अझै पनि सान्दर्भिक छ । ट्रिब्युनम्याग