मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन अर्याल काठमाडाैं
२०७८ पौष २४ शनिबार ०६:२७:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आनन्दराज बतास भन्छन्- देउवाको मान्छे हुँ, ओलीले ज्वाइँ भन्नुहुन्छ, ब्युरोक्रेसीमा त खेल्ने हो

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०७८ पौष २४ शनिबार ०६:२७:००

शक्तिका आडमा पशुपतिको धर्मशालालाई लज बनाएका, सेती नदीको ढुंगा–गिटी दोहन गरिरहेका र नारायणहिटी संग्रहालयभित्र रेस्टुरेन्ट चलाउन खोजेका आनन्दराज बतास भन्छन्–देउवाको मान्छे हुँ, ओलीले ज्वाइँ भन्नुहुन्छ, ब्युरोक्रेसीमा त खेल्ने हो

शक्तिका आडमा सार्वजनिक सम्पत्ति लिजमा लिएर व्यापारिक प्रयोजनमा लगाइरहेका व्यवसायी आनन्दराज बतासले प्रधानमन्त्री शेरबहादुर देउवादेखि प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीसम्म आफ्नो पहुँच भएको बताएका छन् । आफू देउवाको मान्छे भएको र ससुराली झापा भएका कारण ओलीले आफूलाई ज्वाइँ भनेर सम्मान गर्ने गरेको उनको भनाइ छ । पछिल्लो समय विवादित तीनवटै ठेक्का आफूले ओली नेतृत्वकै सरकारका पालामा पाएको उनको भनाइ छ । 

‘म शेरबहादुर देउवाको मान्छे हुँ, तर मेरा तीनवटा काम केपी ओलीका पालामा भएका छन् नि !’ प्राइम टेलिभिजनको स्टिङ अप्रेसनमा व्यवसायीले बतासले भनेका छन्, ‘... मेरो ससुराली भद्रपुर हो । त्यसैले ओलीजी (केपी ओली)ले मलाई ज्वाइँ भन्नुहुन्छ ।’

राजनीतिक शक्ति नजिक भएपछि कर्मचारीतन्त्रमा खेलेर आफूले व्यवसाय हात पारेको बतासको आशय छ । अरू व्यवसायीले पनि खेल्ने उनको भनाइ छ । ‘ब्युरोक्रेसीमा को खेल्दैन ? ब्युरोक्रेसीमा त खेल्ने हो । के लुकाउनु छ तपाईंलाई ? ब्युरोक्रेसीमा ‘हजुर यसो गरौँ, त्यसो गरौँ’ नभनीकन पाउँछ कसैले ?’ उनको भनाइ छ । 

बतास अर्गनाइजेसनले भारतले अनुदानमा बनाइदिएको पशुपतिको धर्मशाला शक्तिका आडमा लिजमा लिएर ‘थ्री स्टार’ लज बनाएका छन् । त्यस्तै, नारायणहिटी संग्रहालयभित्र रेस्टुरेन्ट चलाउने अनुमति लिएका छन् भने सेती नदी थुनेर ढुंगा–गिटी निकालेर प्राकृतिक दोहन गर्ने काम पनि गरिरहेका छन् । 

स्टिङ अप्रेसनमा बतासले आरोप लागेजसरी प्रधानमन्त्री देउवापत्नी आरजुको पैसा आफूले नचलाएको दाबी गरेका छन् । ‘सबैलाई थाहा छ– आनन्द बतास शेरबहादुर देउवाको मान्छे हो । देउवाको पैसा आनन्द बतासले चलाउँछ भन्छ मान्छेहरूले, एक रुपैयाँ प्रमाणित गरेर देखाओस् त ! मीनबहादुरलाई माओवादीको पैसा चलायो भन्छन्, सुमार्गीलाई पनि त्यसै भन्छन् । आरजु (प्रधानमन्त्रीपत्नी)को पैसा सबै मैले चलाउँछु भन्छन् क्या ! यस्तो सुन्दा मलाई दुःख लाग्छ,’ उनको गुनासो छ । 

बतासले आर्थिक शक्तिकै आडमा काठमाडौंको टंगालस्थित लक्ष्मीनारायण मन्दिरको झन्डै ६ रोपनी जग्गा र चारतले भवन पनि विनाप्रतिस्पर्धा ३५ वर्षका लागि लिजमा लिएर व्यापारिक प्रयोजनमा लगाएका छन् । 

बंकरभित्र पनि अवैध बार
बतास अर्गनाइजेशनले नारायणहिटीको बंकरभित्र पनि अवैध संरचना तयार गर्दै थियो । तत्कालीन राजा महेन्द्रका पालामा बनाइएको बंकरमा बार सञ्चालन गर्न बतासले निर्माण गरेका संरचना पनि संग्रहालय समितिले भत्काएको छ । दरबारको ऐतिहासिक बंकरको मौलिकता नै मासिने गरी बतास समूहले अवैध संरचना निर्माण गरिरहेको संग्रहालयकै कर्मचारी बताउँछन् । 

बंकरभित्र इँटा र सिमेन्टको रिसेप्सन बनाइँदै थियो भने बाहिरपट्टि रहेको पर्खाल र बगैँचा पनि सिंगारपटार गरिँदै थियो । ‘हामी रेस्टुरेन्टका लागि बनाइँदै गरेका सम्पूर्ण अवैध संरचना भत्काउन लागेका छौँ,’ संग्रहालय समितिका सूचना अधिकारी वृद्धिबहादुर गुरुङले भने, ‘दरबारको मौलिकता मासिने गरी कुनै पनि संरचना बनाउनु गलत हो, त्यसले ऐतिहासिक दरबारको महत्व पनि घटाउँछ ।’ संग्रहालयको सुरक्षामा खटिएको सेना बसेको करिब दुई रोपनी थप जग्गा पनि बतास अर्गनाइजेशनले कब्जा गर्न खोजेको थियो । तर, सेनाको गणले त्यसलाई जोगाउन भुमिका खेलेको स्रोतको भनाई छ । 

यसरी दरबार छिरेको थियो बतास
बतास समूहले केपी ओली प्रधानमन्त्री हुँदा नारायणहिटी परिसरभित्र रेस्टुरेन्ट चलाउने ठेक्का पाएको थियो । १७ पुस ०७७ मा बतासको बिपिएस लिजिङ कम्पनी र संग्रहालय विकास समितिबीच भाडासम्बन्धी सम्झौता भएको थियो । समितिले आह्वान गरेको टेन्डरमा बतासकै तीनवटा कम्पनीहरूलाई प्रतिस्पर्धा गराएर सेटिङमै नारायणहिटी सुम्पिएको थियो । टेन्डरमा सहभागी बतास समूहभन्दा बाहिरको जोकर रेस्ट्रो तथा लन्जलाई भने प्राविधिक रूपमै असफल भएको भन्दै टेन्डर प्रक्रियाबाट हटाइएको थियो । सम्झौतामा बिपिएसले भवनको मासिक दुई लाख २१ हजार भाडा दिने र हरेक वर्ष १० प्रतिशत भाडा बढ्ने उल्लेख गरिएको छ ।

पशुपति धर्मशाला बतासलाई दिएको विषयमा पनि छानबिन हुँदै
बतास अर्गनाइजेशनले पशुपतिको धर्मशालामा तारे होटेल सञ्चालन गरिरहेको विषयमा छानबिन गर्न पनि समिति गठन गरिएको छ । धर्मशाला भारतको सहयोगमा बनाइएको थियो । 

पर्यटनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिले सात दिनभित्रमा अध्ययन प्रतिवेदन पेस गर्नेछ । 

शक्तिका आडमा पशुपतिमैत्री धर्मशाला लिएर गरेर बतास अर्गनाइजेशनले ‘होटेल आनन्द’ सञ्चालन गरिरहेको छ । होटेल परिसरमै भिन्टेज गाडीको सोरुम पनि राखिएको छ । बतास समूहले सेटिङ मिलाएर अत्यन्तै न्यून भाडा तिर्ने गरी धर्मशाला भाडामा लिएर होटेल सञ्चालन गरिरहेको र होटेलमा पनि मनपरी शुल्क असुल गरिरहेको आरोप लागेपछि सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरिएका हो । 

प्राइम टेलिभिजनको स्टिङ अप्रेसनमा आनन्दराज बतास भन्छन्–

म शेरबहादुर देउवाको मान्छे हुँ । तर, मेरा तीनवटै काम केपी ओलीका पालामा भएका छन् नि ! कम्युनिस्टहरूले दिन्थे त मलाई ? टेन्डर निकाले, प्राविधिक रूपमा पास भएँ, मैले पाएँ त पाएँ । तपाईंलाई लाग्छ, कांग्रेसका वेला (सत्तामा रहेका वेला) कांग्रेसले मात्र पाउँछ, कम्युनिस्टका वेला कम्युनिस्टले मात्र पाउँछ ? यस्तो हुन्छ र दुनियाँमा ? 

ब्युरोक्रेसीमा को खेल्दैन ? ब्युरोक्रेसीमा त खेल्ने हो । के लुकाउनु छ तपाईंलाई ? ब्युरोक्रेसीमा ‘हजुर यसो गरौँ, त्यसो गरौँ’ नभनेर पाउँछ कसैले ? सबैलाई थाहा छ– अहिले शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ । आनन्द बतास शेरबहादुर देउवाको नजिकको मान्छे हो । शेरबहादुर देउवाको पैसा आनन्द बतासले चलाउँछ भन्छ मान्छेहरूले, एक रुपैयाँ प्रमाणित गरेर देखाओस् त ! मीनबहादुरलाई माओवादीको पैसा चलायो भन्छन्, सुमार्गीलाई पनि त्यसै भन्छन् । आरजु (प्रधानमन्त्रीपत्नी)को पैसा सबै मैले चलाउँछु भन्छ क्या ! यस्तो सुन्दा मलाई दुःख लाग्छ । 

मेरो ससुराली भद्रपुर हो । ओलीजी (केपी ओली)ले मलाई ज्वाइँ भन्नुहुन्छ । तर, चार वर्ष भयो उहाँसँग भेट नभएको । कुनचाहिँ टेन्डर, वल्र्ड बैंकको होस् वा एडिबीको, कुनै विक्रम पाण्डेलाई, कुनै अर्कोलाई त पर्ने हो नि हजुर ! मलाई सोध्नुपर्छ यार तपाईंहरूले ? कसरी पर्छ, तपाईंहरूलाई नै थाहा छ नि ।

नारायणहिटीका अवैध संरचना मन्त्री आलेको निर्देशनमा भत्काइए : सम्झौताविनै बतास समूहले नारायणहिटीको बंकरभित्र पनि बार बनाउँदै थियो 

नारायणहिटी दरबार संग्रहालय विकास समितिले बतास अर्गनाइजेसनले दरबार क्षेत्रभित्र रेस्टुरेन्ट चलाउन बनाइरहेका अवैध संरचना भत्काइएको छ । मासिक दुई लाख २१ हजार रुपैयाँ भाडा तिर्ने गरी बतास समूहले सात रोपनी क्षेत्रफलमा बनेको भवन र बाहिरको जग्गा हात पारेको थियो । भवनको मात्र करार सम्झौता पाए पनि बाहिरको खाली जग्गामा समेत बतासले अवैध संरचना निर्माण गरिरहेको थियो । क्यान्टिन, कफीसप तथा रेस्टुरेन्टका लागि बनाउन लागिएका संरचना भत्काइएको समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए । 

संग्रहालयले अवैध संरचना भत्काउन एक दर्जनभन्दा बढी कामदार खटाइएको थियो । ‘बतासले आफूखुसी संरचना बनाएको थियो, त्यसैले सबै संरचना भत्कायौँ,’ दाहालले भने, ‘हामीले बताससँग भाडा पनि उठाएका थिएनौँ ।’ विभागीय पर्यटनमन्त्री प्रेमबहादुर आलेको निर्देशनबमोजिम संरचना भत्काइएका हुन् । पर्यटनमन्त्री आलेले ऐतिहासिक महत्वको नारायणहिटी दरबारभित्र कुनै पनि हालतमा रेस्टुरेन्ट, कफीसप र बार सञ्चालन गर्न नदिने बताउँदै आएका छन् । नारायणहिटीको ठेक्का सम्झौतामा सेटिङको कुरा बाहिरिएपछि मन्त्रालयले सहसचिव होम लुइँटेलको संयोजकत्वमा छानबिन समिति नै गठन गरेको छ । त्यो समितिले आइतबारसम्म विस्तृत प्रतिवेदन बुझाउनेछ । ‘नारायणहिटीको ठेक्का सम्झौतामा के भएको बुझ्न छानबिन समिति बनाएका छौँ,’ पर्यटनसचिव महेश्वर न्यौपानेले भने, ‘छानबिन समितिको प्रतिवेदनअनुसार अगाडि बढ्छौँ ।’