मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अर्जुन अधिकारी काठमाडाैं
२०७८ पौष २४ शनिबार ०६:०६:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

जिन सिक्वेन्सिङ गरिएका सबै २४ नमुनामा ओमिक्रोन पुष्टि

Read Time : > 1 मिनेट
२०७८ पौष २४ शनिबार ०६:०६:००

ओमिक्रोन संक्रमण बढेपछि सिसिएमसीको बैठक : अत्यावश्यक स्वास्थ्य सामग्री जोहो गर्न र खोप अभियानलाई तीव्र पार्न प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले ओमिक्रोन फैलिएसँगै जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सिसिएमसी)को शुक्रबार सिंहदरबारमा बसेको बैठकमा देउवाले भेन्टिलेटर, अक्सिजनलगायत अत्यावश्यक स्वास्थ्य सामग्रीको जोहो गर्न र खोप अभियानलाई तीव्रता दिन निर्देशन दिएका हुन् । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बुधबार जिन सिक्वेन्सिङका लागि हालिएका सबै २४ नमुनामा शुक्रबार ओमिक्रोन पुष्टि भएको छ । पुसमा देशभरबाट संकलित एक हजार एक सय ४६ पजिटिभ नमुनामा एस जिन नेगेटिभ आएका दुई सय ५० मध्ये २४ वटाको जिन सिक्वेन्सिङ गर्दा शतप्रतिशतमा ओमिक्रोन पुष्टि भएको हो । 

स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता मिश्राले पुसमा संकलित एक हजार एक सय ४६ नमुनाको एस जिन स्क्रिनिङ गर्दा दुई सय ५० नमुनामा एस जिन नेगेटिभ पत्ता लागेको र तीमध्ये २४ वटाको जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको बताइन् । भारत हुँदै भित्रिनेको सीमामा प्रभावकारी परीक्षण नहुनु र बेफिक्री गाउँ–गाउँ प्रवेशले जोखिम बढाएको स्वास्थ्य अधिकारीहरूको निष्कर्ष छ । भारतसँग सीमा जोडिएका नाकाबाट नेपाल प्रवेश गरेकामा पजिटिभ दर तीव्र रूपमा बढेको छ । 

सूक्ष्म जीवाणुविज्ञ डा. सन्तोष दुलाल भन्छन्– नेपालमा ओमिक्रोन समुदायस्तरमा फैलिसकेको छ

नेपालमा ओमिक्रोन समुदायस्तरमा फैलिसकेको छ । २४ नमुना परीक्षण गर्दा सबैमा ओमिक्रोन पुष्टि हुनुले पनि यसलाई ग्यारेन्टी गरिसकेको छ । यो निकै खराब अवस्था हो ।

ओमिक्रोन डेल्टाभन्दा कम जोखिमपूर्ण रहेको भनिए पनि संक्रमणदर धेरै बढी छ । संक्रमित बढी हुनासाथ गम्भीर बिरामी हुनेको संख्या पनि स्वाभाविक रूपमा बढ्छ । धेरै मानिसलाई संक्रमित गराएको अवस्थामा कमजोर स्वास्थ्य प्रणाली भएको हाम्रोजस्तो देशले धान्न सक्दैन । त्यसैले अहिलेदेखि नै सचेत हुनुपर्छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडा भन्छन्–तत्काल लकडाउन हुँदैन, माघबाट खोप लगाउन योग्य सबैलाई तेस्रो डोज लगाउँछौँ 

तत्काल लकडाउन हुँदैन । गोष्ठी, सेमिनारलगायत भिडभाड हुने कार्यक्रम नगर्न अनुरोध गरिसकेका छौँ । फेरि पनि दलहरू र अन्य सरोकारवालाई भन्छु– कोभिड– १९ बाट जोगिन सभा–सम्मेलन नगरौँ । सरकारले कोभिड– १९ नियन्त्रणका लागि कदम चाल्नेछ । सोहीअनुसार सिसिएमसीको बैठकमा प्रधानमन्त्रीज्यूबाट परीक्षण बढाउन र खोपलाई तीव्रता दिन निर्देशन भएको छ । 

सीमानाकामा सुुरुबाटै कडाइ गरिसकेका छौँ । अब खुला सीमामा होल्डिङ सेन्टरको व्यवस्था हुनेछ । नाकामै एन्टिजेन परीक्षणको व्यवस्थाको तयारी छ । बालबालिकालाई खोप अभियान सुरु हुँदै छ । माघबाट फ्रन्टलाइनर र ज्येष्ठ नागरिकसहित जोखिममा रहेका समूहलाई तेस्रो डोज दिने योजना छ । त्यसपछि खोप लगाउन योग्य सबै नेपालीलाई तेस्रो डोज लगाउँछौँ । संघ सरकारले व्यहोर्ने गरी संक्रमितको उपचार खर्च तत्कालका लागि स्थानीय सरकारले व्यहोर्ने विषयमा पनि छलफल भएको छ ।