१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २३ शुक्रबार १८:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं महानगरबाट पनि राष्ट्रिय परिचयपत्र बनाउन सकिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २३ शुक्रबार १८:४८:००

राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको अत्यधिक भिड लागेपछि गृह मन्त्रालयले उक्त सेवा विस्तार गरिएको जनाएको छ। आगामी आइतबारदेखि काठमाडौं महानगरपालिकाबाट पनि राष्ट्रिय परिचयपत्र बनाउन सकिने भएको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, जिल्ला प्रशासन कार्यालय र मातहतका कार्यालयहरूमा परिचयपत्र दर्ता गराउन आउनेको भिड लागेपछि पालिकास्तरबाट पनि उक्त सेवा प्रदान गर्न लागिएको हो। 

काठमाडौं महानगरले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता प्रविष्ट (लाइभ इनरोलमेन्ट) को लागि तयारी गरेको छ। महानगरपालिकाबाट उक्त सेवा प्रदान गरिने भएपछि जिल्ला प्रशासनमा भिड कम हुने अनुमान गरिएको छ। हाल जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरमा सेवाग्राहीको अधिक भिडभाड हुने गरेको छ। कोरोनो संक्रमणको डर देखिएको वेला भिडभाड हुने भए पनि पञ्जीकरण विभागले महानगरपालिकासँग समन्वय गरी सेवा विस्तार गर्न लागेको हो। 

विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पालिकास्तरबाट सेवा लिन सकिने व्यवस्था गरिएकोले एकै ठाउँमा भिडभाड नगर्न अनुरोध गरेको छ। हाल ७७ जिल्ला प्रशासन कार्यालय, १६ वटा इलाका प्रशासन कार्यालय र नारायणहिटी दरबार क्षेत्रमा रहेका स्टेसनहरूबाट पनि विवरण प्रविष्ट गरी राष्ट्रिय परिचयपत्र नम्बर लिन सकिने व्यवस्था गरिएको छ। त्यस्तै, २५ वटा वडास्तरबाट पनि राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियान सम्पन्न भइरहेको विभागले जनाएको छ। हालसम्म ५२ लाख नागरिकले वैयक्तिक तथा जैविक विवरण संकलन गराएका छन्।

सरकारले मंसिर १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो। राष्ट्रिय परिचयपत्रविना राहदानी नबन्ने भएपछि अहिले राष्ट्रिय परिचयपत्र बनाउनेको भिड लागेको छ। त्यसमध्ये सबैभन्दा बढी भिड बागमती प्रदेशमा लागेको छ। भिडलाई मध्यनजर गर्दै पालिकास्तरबाट पनि सेवा विस्तार गर्न लागिएको हो। विभागले अत्यावश्यकीय काम परेकाहरूलाई मात्रै राष्ट्रिय परिचयपत्र बनाउन आग्रह गरेको छ।