१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
भवानीश्वर गौतम काठमाडाैं
२०७८ पौष २३ शुक्रबार ०६:३३:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अतिरिक्त शुल्क असुल्ने केएमसीमा शिक्षामन्त्रीको अनुगमन : चिकित्सा शिक्षा ऐनविपरीत शुल्क नलिन चेतावनी

Read Time : > 2 मिनेट
२०७८ पौष २३ शुक्रबार ०६:३३:००

अनुगमनमा गएका शिक्षामन्त्री देवेन्द्र पौडेलले काठमाडौं मेडिकल  कलेजका प्रिन्सिपल प्रा.डा. रतीन्द्रनाथ श्रेष्ठलाई भने, ‘बढी शुल्क नलिएको वार्ताको टेबुलमा प्रमाणित गर्नुस्, अन्यथा कानुनअनुसार कारबाही हुन्छ’

चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी रकम कलेजले लिएको उजुरी र गुनासा छन् । चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ बमोजिम शुल्क निर्धारण हुने गरेकाले विद्यार्थीबाट बढी शुल्क लिन पाइँदैन । बढी शुल्क नलिएको कुरा कलेज प्रशासनले वार्ताको टेबुलमा प्रमाणित गर्नुस्, अन्यथा कानुनअनुसार कारबाही हुन्छ । शुल्कका सम्बन्धमा शुक्रबारसम्म रिपोर्ट पेस गर्नुस् । जिल्ला प्रशासन कार्यालयमा विद्यार्थी–अभिभावकसँग बसेर वार्ता गर्नुहोस् ।

चिकित्सा शिक्षा ऐनले निर्धारण गरेभन्दा अतिरिक्त शुल्क उठाएर विवादमा तानिएको काठमाडौं मेडिकल कलेज (केएमसी)को शिक्षामन्त्री देवेन्द्र पौडेलले बिहीबार अनुगमन गरेका छन् । अतिरिक्त शुल्कका साथै महँगो होस्टेल शुल्क मागेपछि विद्यार्थी आन्दोलनमा छन् । 

अनुगमनमा पुगेका शिक्षामन्त्री पौडेलसँग केएमसीका पदाधिकारीले बढी शुल्क नलिएको दाबी गरेका छन् । मन्त्री पौडेलले बढी शुल्क नलिएको दाबी वार्ताको टेबुलमा प्रमाणित गर्न निर्देशन दिएका छन् । 

बुधबार शिक्षा मन्त्रालयले विद्यार्थीसँग बढी शुल्क असुल गर्ने कलेजलाई कानुनी कारबाही गरी सम्बन्धन खारेज गर्ने चेतावनीसमेत दिएको थियो । त्यसको अर्को दिन विभागीय मन्त्री आफैँ अनुगमनमा गएका हुन् । 

केएमसी पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयबाटै संरक्षण भएकाले विद्यार्थी तथा अरू निकायलाई अटेरी गरी कानुनविपरीतका गतिविधि गरेको दाबी सरोकारवालाको छ । अनुगमनमा गएका मन्त्रीसँग समेत कलेजका प्रिन्सिपल अस्वाभाविक रूपमा प्रस्तुत भएका थिए । 

चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी रकम कलेजले लिएको उजुरीपछि भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित शिक्षामन्त्री पौडेलले अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मन्त्री पौडेलले चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ बमोजिम शुल्क निर्धारण गरेकाले बढी शुल्क लिन नपाउने बताए । 

मन्त्री पौडेलले शुल्कका सम्बन्धमा भोलिसम्म प्रतिवेदन पेस गर्न पनि प्रमुख जिल्ला अधिकारी शर्मालाई निर्देशन दिएका छन् । अनुगमनमा गएका मन्त्री पौडेलसँग कलेजका प्रिन्सिपल रतिन्द्रनाथ श्रेष्ठले बढी शुल्क नलिएको दाबी गरेका थिए । श्रेष्ठले आयोग र विद्यार्थी संगठनलाई आरोप लगाएका थिए । श्रेष्ठले बढी शुल्क लिएको प्रमाणित गर्न चुनौतीसमेत दिएका थिए । 

मन्त्री पौडेलसँगै केएमसी पुगेकी भक्तपुरकी प्रमुख जिल्ला अधिकारी शर्माले शुक्रबार बिहान साढे १० बजे विद्यार्थीसहित कलेज प्रशासनलाई वार्ताका लागि बोलाएकी छिन् । कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले केही दिनअघिदेखि बेसिक साइन्स भवन र सिनामंगलस्थित शिक्षण अस्पतालमा तालाबन्दी तथा प्रदर्शन गर्दै आइरहेका छन् । 

अतिरिक्त र होस्टेल शुल्कले ढाड सेक्दै केएमसी
काठमाडौं मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेजले छात्रवृत्तिमा भर्ना भएका विद्यार्थीसँग पनि होस्टेल शुल्कका नाममा करिब १७ लाख उठाइरहेका छन् । प्रत्येक विद्यार्थी कलेजकै होस्टेलमा अनिवार्य बस्नुपर्ने भन्दै मासिक २५ हजारका दरले उठाउन खोजिएको छ । 

दुवै कलेजले नियमित विद्यार्थीबाट होस्टेलबाहेक पनि अतिरिक्त दुई लाख ३२ हजार पाँच सय ७९ रुपैयाँ उठाइरहेका छन् । रजिस्ट्रेसन, परीक्षा शुल्क, एफिलेसनबापत यो रकम लिन लागिएकोे हो । तर, चिकित्सा शिक्षा आयोगले यो रकम कुल शुल्क ४० लाख २३ हजारभित्रै पर्ने बताएको छ । एमबिबिएस अध्ययन सक्दा पाँच वर्षमा प्रत्येक विद्यार्थीबाट होस्टेल र अतिरिक्त शुल्कसमेत गर्दा २० लाख बढी उठाउन खोजिएको छ । 

चिकित्सा शिक्षा आयोगले कलेजकै होस्टेलमा बस्नुपर्ने अनिवार्य नभएको स्पष्ट पारेको छ । तर, केएमसीले होस्टेल अनिवार्य गरी मासिक २५ हजार शुल्क मागेको विद्यार्थीले बताएका छन् । आयोगले केही दिनअघि सार्वजनिक सूचना जारी गरी ‘शिक्षण संस्थाको होस्टेल, मेसजस्ता शुल्क विद्यार्थीको ऐच्छिक विषय हुने’ उल्लेख गरेको छ । तर, कलेजले भने अनिवार्य गरेर छात्रवृत्ति तथा पूर्ण शुल्कमा अध्ययन गर्ने विद्यार्थीलाई समस्यामा पारेको छ ।