मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २१ बुधबार २०:३०:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

मुलुककै सबैभन्दा ठूलो क्षमताको पेट्रोल पम्प सञ्चालनमा, अटोमेसन प्रविधिको पहिलो पम्प

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २१ बुधबार २०:३०:००

नेपाल आयल निगमले नेपालगन्जमा निर्माण गरेको मुलुककै सबैभन्दा ठूलो क्षमताको पेट्रोल पम्प सञ्चालनमा आएको छ । आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बुधबार उद्घाटन गरेको पम्पमा १ लाख सात हजार लिटर पेट्रोल र डिजेल अटाउने अन्डर ट्यांक छ । उनका अनुसार २५–२५ हजार लिटर क्षमताका तीनवटा डिजेल ट्यांक र १६–१६ हजार लिटरका दुईवटा पेट्रोल ट्यांक छन् ।

भण्डारण क्षमता ठूलो भएकाले सो पम्प पुगेर उपभोक्ताले तेल हाल्दाहाल्दै अचानक स्टक सकिएर त्यसै फर्किनुपर्ने स्थिति कहिल्यै नआउने पौडेलले बताए । नेपालगन्जमा लामो समयदेखि खाली रहेको निगम स्वामित्वको ११ कठा जमिनमा पौडेल कार्यकारी प्रमुख भएर आएपछि पम्प निर्माण थालनी भएको थियो । 

यो पम्प अटोमेसन प्रविधिमा समेत सञ्चालनमा ल्याइएको छ । पेट्रोल पम्पको पूर्वाधार निर्माणमा सुरुदेखि नै सहभागी भएका निगमका प्रबन्धक शैलेन्द्र भुसालका अनुसार अन्डर ट्यांकमा रहेको तेलको परिमाण कम्प्युटरबाट हेर्न मिल्ने प्रविधि जडान गरिएको छ । ‘प्रत्येक अन्डर ट्यांकमा कति तेल छ भन्ने  हेर्न एउटा सफ्येयर (चिप्स) अन्डर ट्यांकमा राखेका छौँ । त्यसको सहायताले कम्प्युटरमा सजिलै कति तेल रहेको थाहा पाउन सकिन्छ,’ उनले भने, ‘यो प्रविधिका कारण अन्डर ट्यांकमा तेल सकिन लागेपछि भर्न सजिलो हुन्छ ।’

त्यस्तै, प्रत्येक डिस्पेन्सिङ मेसिनले कुन सवारीसाधनमा कति तेल हाल्यो भन्नेसमेत हेर्न मिल्ने सफ्टवेयर जडान गरिएको छ । यसबाट मेसिनमा देखाएबराबरकै तेल सवारीसाधनमा हाले, नहालेको बारे यकिन गर्न सजिलो हुन्छ । ‘नोजलको सहायताले सवारीसाधनमा तेल हाल्दा कहिलेकाहीँ मेसिनमा देखाएबराबरको तेल नपुगेको हो कि भन्ने कुनै उपभोक्तालाई आशंका हुन सक्छ । त्यस्तो वेला आफ्नो सवारीसाधनमा कति तेल गएको छ भनेर निगमको कम्प्युटर प्रणालीमा हेर्न सकिन्छ’ हाल निगमको बागमती प्रादेशिक कार्यालय, थानकोट प्रमुख रहेका भुसालले भने ।

निगमले पम्प परिसरमै सानो कार्यालय राखेको छ । त्यहीँ कम्प्युटर राखेर अटोमेसन प्रविधिको नियमन सुरु गरिएको छ । पम्पमा डिजेल बिक्रीका लागि २ र पेट्रोल बिक्रीका लागि तीनवटा डिस्पेन्सिङ मेसिन छन् । निगमको नेपालगन्जस्थित शाखा कार्यालयका प्रमुख दीपक घिमिरेका अनुसार डिजेलका लागि ठूला सवारीसाधन आउने र धेरै परिमाण हाल्ने हुँदा दुईवटा डिस्पेन्सिङ मेसिनले धान्न सकिन्छ । तर, पेट्रोलका लागि मोटरसाइकल, स्कुटर, अटो रिक्सा, निजी कार–जिप–भ्यानलगायत धेरै सवारीसाधन आउने हुँदा पेट्रोल बिक्री गर्ने डिस्पेन्सिङ मेसिन तुलनात्मक रूपमा धेरै अर्थात् ३ वटा राखिएको घिमिरेले बताए ।

हाल आयात भइरहेको युरो ६ मापदण्डको इन्धनमा प्रज्वलनशील क्षमता बढी भएर विभिन्न पम्पमा आगलागी हुन थालेपछि निगमले बनाएको नयाँ पम्प परिसरमा विशेष किसिमको ‘अर्थिङ’ जडान गरिएको छ । जसकारण स्पार्क भई तेल बोकेको ट्यांकर वा पम्पमा आगलागी हुने सम्भावना न्यून रहेको निगमले जनाएको छ ।

निगमले यसअघि रुपन्देहीको भैरहवामा पम्प सञ्चालन गरिरहेको छ । सो पम्पलाई पनि दुई वर्षअघि अपग्रेड गरी ठूलो क्षमतामा इन्धन बिक्रीयोग्य बनाइएको छ ।