१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७८ पौष २१ बुधबार १८:०७:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारतमा ओमिक्रोन तीव्र, छैन सीमा क्षेत्रमा स्वास्थ्य सतर्कता 

पछिल्लो तीन दिनमा २४ जना कोरोना पोजेटिभ  

Read Time : > 3 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७८ पौष २१ बुधबार १८:०७:००

गत मंसिरदेखि छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्राेनका संक्रमित फेला पर्दै आएका छन् । सुरुमा भारतमा दुईजनामा फेला परेको ओमिक्रोन भाइरसको संक्रमण फैलिएर संक्रमितको संख्या वृद्धि भइरहेको छ । तर, भारतसँग जोडिएको कञ्चनपुरमा कोरोनाको रोकथाम एवं स्वास्थ्य सुरक्षाको उच्च सर्तकता अपनाइएको छैन । भारतको दिल्लीबाट सबैभन्दा नजिकको नाका हो गड्डाचौकी । झन्डै ३ सय ८० किलोमिटर दुरीमा रहेको दिल्लीमा ओमिक्रोनको संक्रमण बढिरहेका वेला भारतसँगै जोडिएको कञ्चनपुरको नाकामा उच्च स्वास्थ्य सुरक्षाको प्रबन्ध नगरिदिँदा त्यसको असर नेपालमा समेत बढ्ने देखिएको छ । 

गड्डाचौकी नाकाबाट नेपाल भारत निर्वाध रूपमा आउने–जाने क्रम चलिरहेको छ । भारतबाट फर्किने सबै नेपालीको स्वास्थ्य परीक्षणसमेत हुँदैन । उनीहरूले नै सीमा क्षेत्रमा छलेर गलत विवरण बताएर नेपाल प्रवेश गरिरहँदा पनि प्रशासनले त्यसलाई नियमन गर्न सकिरहेको छैन । 

नाकामा खटिएका प्रहरी र हेल्थडेस्कमा कार्यरत स्वास्थ्यकर्मीबीच समन्वय अभावका कारण पनि सबैको स्वास्थ्य परीक्षण हुँदैन । भारतका विभिन्न स्थानबाट नेपाल फर्किने सबैलाई प्रहरीले स्वास्थ्य चेकजाँचका लागि हेल्थडेस्कमा नपठाउने गर्दा हेल्थडेस्कसम्म आइपुग्नेलाई मात्रै परीक्षण गर्दै आएको स्वास्थकर्मीहरूले बताएका छन् । आफूहरूले नाकाबाट प्रहरीले हेल्थडेस्कमा पठाएका सबैको एन्जिजेनबाट परीक्षण गर्दै आएको उनीहरूको भनाइ छ । ‘प्रहरीले जति यहाँ पठाउँछ, सबैको हामीले स्वास्थ्य परीक्षण गछौँ’, ‘एक स्वास्थ्यकर्मीले भने, ‘कसैकसैलाई प्रहरीले नाकाबाटै प्रवेश गर्न दिन्छ ।’ 

दुई वर्ष पुग्न लाग्दा पनि भएन हेल्थ डेस्कको स्तराेन्नति 

पहिलोपटक कोरोना महामारी नेपालमा समेत देखिएसँगै २३ फागुन ०७६ देखि कञ्चनपुरको गड्डाचौकीमा स्थापना गरिएको हेल्थडेस्कको स्तर वृद्धि अझैसम्म गरिएको छैन । सुरुका दिनमा गन थर्मोमिटरबाट ज्वरो नाप्दै आएको उक्त हेल्थडेस्कमा अहिले एन्टिजेन परीक्षण भइरहेको छ ।

हेल्थडेस्कमा स्थानीय, प्रदेश, संघ सरकारसहित गैरसरकारी संस्थाबाट समेत गरी १४ जना जनशक्ति कार्यरत छन् । हेल्थडेस्कमा हाल १ स्टाफ नर्स, ३ हेल्थ असिस्टेन्ट, ३ अनमी, २ अहेब, २ ल्याब टेक्निसियन, २ ल्याब असिस्टेन्ट र १ कार्यालय सहयोगी कार्यरत छन । ६ स्वाथ्यकर्मी  गैरसरकारी संस्था र ८ स्वास्थ्यकर्मी तीनै तहका सरकारबाट कार्यरत छन् ।

अहिले भारतबाट आउने संख्याको अनुपातमा स्वास्थ्यकर्मीको संख्याले धान्ने भए पनि नेपाल प्रवेश गर्नेको संख्या दोब्बर तेब्बर भएको अवस्थामा स्वास्थ्यकर्मीको संख्याले धान्न नसक्ने हेल्थडेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरू बताउँछन् । 

पछिल्लो तीन दिनमा २४ जना कोरोना पोजेटिभ 

हेल्डेस्कमा प्रदेश सरकारबाट खटाइएका हेल्थ असिस्टेन्ट प्रेमसिंह भण्डारीले भारतबाट फर्किएका नेपालीको एन्जिजेनबाट कोरोना परीक्षण गरिएको बताए । ‘हामीले कोरोनासँगै मलेरिया आरडिटी, टिभीसमेत परीक्षण गरिरहेका छौँ’, ‘उनले भने, ‘अहिले दैनिक पाँचदेखि साढे पाँचसयको हाराहारीमा भारतबाट मानिस फर्किरहेका छन् ।’ तीन दिनमै हेल्थडेस्कको तथ्यांकअनुसार २४ जनामा कोरोना पोजेटिभ देखिएको छ । 

भारतबाट फर्किएका १ भारतीयसहित २४ जनामा एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएको हेल्थ असिस्टेन्ट भण्डारीले बताए । उनका अनुसार १ भारतीय र २३ नेपालीमा एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएको छ । १९ पुषमा ४, २० पुषमा ९ र २१ पुषमा ११ जनामा एन्जिजेन पोजेभिट देखिएको छ । ‘भारतीय नागरिकलाई नेपाल र भारतीय सुरक्षाकर्मीको समन्वयमा भारतमै पठायौँ’, उनले भने, ‘नेपाली नागरिकलाई महाकाली प्रादेशिक अस्पताल पठाएका छौँ ।’ हेल्थडेस्कमा आवश्यक पूर्वाधार नहुँदा समस्या भइरहेको उनले बताए । उनका अनुसार शौचालय र खानेपानी अभावका कारण समस्या भइरहेको छ । ‘यहाँ एक्कासि बिहान साँझ भिड बढ्छ’, उनले भने, ‘सार्वजनिक शौचालय छैन, भारतबाट फर्किएकालाई समस्या हुन्छ, खानेपानीसमेत छैन ।’ हेल्थडेस्कसमेत हजारौँको संख्यामा परीक्षण गर्दा अपुग हुने उनले बताए । 

भीमदत्त नगरपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले भारतबाट जति नेपाल प्रवेश गर्छन्, सबैको स्वास्थ्य परीक्षण हुने बताए । ‘हामीले नाकाबाट प्रवेश गरेका सबैको स्वास्थ्य परीक्षण गर्छौैँ’, उनले भने, ‘जति आए त्यतिको गरेका छौँ, बाँकी नाकाभन्दा बाहिरबाट आउनेको थाहा भएन ।’ 

संक्रमितको संख्या बढ्दै 

हेल्थडेस्कको तथ्यांकअनुसार चालू आर्थिक वर्षको १ साउनदेखि २१ पुससम्म भारतबाट ८५ हजार ५ सय ५८ आएकामध्ये सबैको स्वास्थ्य परीक्षण अर्थात् (एन्टिजेन) गर्दा १ सय ८ जनामा पोजेटिभ देखिएको छ । ‘साउनदेखि मंसिरसम्म दिनमा १ वा बढीमा २ जनामा मात्रै कोरोना पोजेटिभ देखिए पनि मंगलबार र बुधबार कोरोना संक्रमितको संख्यामा ह्वातै वृद्धि भएको छ,’ भीमदत्त नगरका स्वास्थ्य प्रमुख जोशीले भने । 

गड्डाचौकीको हेल्डडेस्क र प्रहरीको तथ्यांकअनुसार भारतबाट फर्किएका सबैको स्वास्थ्य परीक्षण नभएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता लालबहादुर बमले चालू आर्थिक वर्षको १ साउनददेखि २१ पुससम्म गड्डाचौकी नाकाबाट ९४ हजार ६ सय ६८ मानिसले नेपाल प्रवेश गरेको र १० हजार ८ सय ९३ भारत प्रवेश गरेकाे जानकारी दिए । हेल्थडेस्क र प्रहरीको तथ्यांकलाई हेर्दा ९ हजार १ सय १० जना स्वास्थ्य परीक्षणविनै नेपाल प्रवेश गरेका छन् । 

कञ्चनपुर प्रहरी प्रवक्ता बमले भारतबाट फर्किएका नागरिकको स्वास्थ्य परीक्षण गरेर एन्टिजेन पोजेटिभ भए पनि पिसिआर विधिबाट परीक्षणका लागि महाकाली अस्पतालमा पुर्याउने गरेको बताए । ‘अब भारतमा ओमिक्राेन बढेसँगै भारतबाट नेपाल फर्किनेको संख्या वृद्धि भएपछि हेल्थडेस्कमा स्वास्थ्यकर्मीको जनशक्ति बढाउनुपर्ने उनले बताए । ‘नाकामा पोजेटिभ देखिएकालाई अन्य मानिसको सम्पर्कमा आउन नदिन र सीधै अस्पताल पुर्याउन एम्बुलेन्सजस्तै एक छुट्टै सवारीसाधन चाहिन्छ,’ उनले भने, ‘त्यो हामीहरूसँग छैन ।’ भारतबाट फर्किएका सबैको स्वास्थ्य परीक्षण गर्दै आएको उनको दाबी भए पनि प्रहरीको तथ्यांकअनुसार भारतबाट १ साउनदेखि २१ पुससम्म फर्किनेको संख्या हेल्थडेस्कको तथ्यांकभन्दा बढी देखिएको छ । 

सीमानाकामा कडाइ गर्छौैँ : प्रजिअ पाण्डे 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले भारतमा तीव्र रूपमा बढिरहेको ओमिक्रोन भाइरस रोकथामका लागि सीमा क्षेत्रमा कडाइ गरिने बताए । ‘यही विषयमा हामीले आजै अर्थात् बुधबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठक गरेर ओमिक्राेन भित्रिन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने निर्णय गरेका छौँ,’ प्रजिअ पाण्डेले भने, ‘नाका क्षेत्रमा कडाइ एवं स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउने निर्णय भएको छ ।’ 

गड्डाचौकी हेल्थडेस्कमा जनशक्ति व्यवस्थापन, शौचालय, खानेपानीको आपूर्ति, होल्डिङ सेन्टर निर्माणको विषयमा गम्भीरताका साथ बाँकी काम पूरा गर्ने निर्णय भएको पनि पाण्डेले बताए । भारतबाट भित्रिन सक्ने ओमिक्रोनलाई फैलिन नदिन सीमा क्षेत्रमै स्वास्थ्य चेकजाँचका कामलाई थप कडाइ गरिने, पालिकामा रहेका आइसोलेसन तयारी अवस्थामा राख्ने, एम्बुलेन्स व्यवस्थापन गरिने, खोप अभियानका साथै अन्य स्वास्थ्य सुरक्षा मापदण्ड पालनाका कार्यक्रम सञ्चालन गरिने प्रजिअ पाण्डेले बताए । 

भारतसँग जोडिएको कञ्चनपुरको गड्डाचौकी नाकामा एन्जिजेन प्रविधिबाट स्वास्थ्य परीक्षण गर्दै , गड्डाचौकी सीमा क्षेमा प्रवेश गर्ने नेपाली