मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ पौष २१ बुधबार ०८:३४:००
Read Time : > 3 मिनेट
टर्निङ प्वाइन्ट्स-२०२२ प्रिन्ट संस्करण

महिलाले पित्तृसत्ता थोरै–थोरै गरेर नष्ट गर्दै छन्

Read Time : > 3 मिनेट
२०७८ पौष २१ बुधबार ०८:३४:००

किन्डरगार्डेनमा हुँदा र मेरो परिवारमा कसैलाई पनि नारीवादबारे थाहा नहुँदै म नारीवादी थिएँ भन्दा म कुनै बढाइचढाइ गरिरहेको हुदिनँ,’ इसाबेल आएन्डेको पछिल्लो संस्मरण ‘सोल अफ अ वुमन’ यसरी सुरु हुन्छ । निबन्धहरूको संकलनका रूपमा प्रस्तुत पुस्तकले उनको आजको महिला अधिकारकर्मी पहिचान योद्धाको जराबारे चर्चा गर्छ । पुस्तकमा पितृसत्तात्मक विशेषाधिकारविरुद्धको उनको आजीवन संघर्षको पनि वर्णन छ । आएन्डेका पुस्तक विश्वभर झन्डै ७.५ करोड बिकिसके । सन् २०२२ मा आउन लागेका पछिल्लो संस्मरण ‘द सोल अफ अ वुमन’ र उपन्यास ‘भाओलेटा’ उनले महामारीबाट उम्किन सनफ्रान्सिस्को खाडी क्षेत्र (बे एरिया) स्थित घरमा बसेको बखत लेखेकी हुन् । 

द न्युयोर्क टाइम्सले हालै आएन्डेसँग लकडाउनमा उनको जीवन, लेख्ने शैली र संस्करणमा व्यक्त केही प्रसंगबारे चर्चा गर्‍यो । प्रस्तुत छ सोही संवादको सम्पादित सारः

तपाईंको लेखनशैलीबारे एक प्रसंग चर्चित छ, तपाईं आफ्नो नयाँ पुस्तक जनवरी ८ बाट लेख्न सुरु गर्नुहुन्छ । विगतमा रुढी जसरी सुरु भएको बानी अहिले लगभग परम्पराजस्तै बनेको तपाईंले बताउनुभएको छ । आजभोलि तपाईं सनफ्रान्सिस्कोनजिकको आफ्नो घरको बुइँगलमा प्रत्येक दिन घन्टौँ लेख्नुहुन्छ । लेखकका रूपमा तपाईंका अरू स्थायी परम्परा वा बानी छन् ? 

उत्तर :  जनवरी ८ बाट लेख्न सुरु गर्नुमा परम्पराभन्दा पनि आत्मसंयम बढी जोडिएको छ । मेरो दैनिकी निकै व्यस्त हुने गर्छ । सर्वसाधारण, सम्पादक, पत्रकार, समालोचक र प्राध्यापकहरूले मसँग समय माग्छन् । लेखनका लागि अलग समय निकाल्नुपर्ने हुन्छ मलाई । 

नयाँ पुस्तक लेख्न निश्चित मिति तोक्दा मलाई मेरो वार्षिक क्यालेन्डर व्यवस्थापन गर्न सहज भएको छ । यसले वरिपरिका मानिसलाई म यो समयमा उपलब्ध हुदिनँ भन्ने सूचित गराउँछ । सम्भवतः लेखनसम्बन्धी मेरो मौलिक ‘बानी’ यही एउटा मात्र हो । बाँकी त हरेक लेखकले जे गर्छन् म पनि त्यही गर्छु । जसमा अनुसन्धान गर्ने, अनिवार्य लेख्ने, सम्पादन गर्ने, सच्याउने, पुनर्लेखन आदि पर्छन् ।

तपाईंले यो वर्षको सुरुताका दिनुभएको एक अन्तर्वार्तामा महामारीले लेखकलाई प्रायः आवश्यक हुने एकान्तवासको समय र शान्ति प्रदान गरेको उल्लेख गर्नुभयो । लकडाउनको समयले थप आत्मसमीक्षा वा ‘सोल अफ अ वुमन’ लेखिरहेकाले थप धेरै आत्मदर्शन गराएको हो ?

उत्तर : लकडाउनले मलाई मेरो जीवनका धेरै पक्षबारे अवलोकन गर्ने अवसर दियो । केही वर्षअगाडि मैले मेक्सिकोमा सम्पन्न एक महिला सम्मेलनमा भाषण दिएकी थिएँ, जुन भाइरल भएपछि स्पेनका मेरा सम्पादकले यसलाई एउटा सानो पुस्तिकाको रूपमा प्रकाशित गर्ने सुझाव दिएका थिए । पुस्तिकाको रूपमा पढ्दा त्यो मलाई बासी लाग्यो । मेक्सिकोको सम्मेलनमा भाग लिएयता महिला र नारीवादमा धेरै घटना भएका छन्, मेरो आफ्नै जीवनमा पनि धेरै परिघटना आइसकेका छन् । तसर्थ, मैले नारीवाद वा महिलाविरुद्ध चलिरहेको युद्धबारे मात्र होइन, प्रेम, बुढ्यौली, नारी ऐक्यबद्धता, पितृसत्ता र अन्य धेरैबारे एक बिलकुल अलग पुस्तक लेख्ने सोच बनाएँ । 

तपाईको पहिलो उपन्यास ‘द हाउस अफ द स्पिरिट्स’ सन् १९८२ मा प्रकाशित भएको थियो । आगामी उपन्यास ‘भाओलेटा’ सन् २०२२ मा आउँदै छ । तपाई अक्सर आफूलाई दशकौँ अगाडिभन्दा अहिले बढी सिर्जनशील महसुस गर्ने गरेको बताउनुहुन्छ । तपाईंले भन्न चाहेको कथाको प्रेरणा पनि विगत ४० वर्षमा बदलिएको हो ? 

उत्तर : मेरा सबै पुस्तक फरक छन् । मैले धेरै विधामा कमल चलाएकी छु– साहित्यिक आख्यान, ऐतिहासिक उपन्यास, नववयस्क ट्रिलोजी, छोटा कथा, संस्मरण र अपराध उपन्यास । त्यस अर्थमा प्रेरणास्रोत विगत ४० वर्षमा निरन्तर बदलिएको म मान्छु । तथापि, मूल कथ्य बदलिएको छैन । म अझै पनि प्रेम, मृत्यु, हिंसा, मौलिक न्याय, सबल महिला, अनुपस्थित पिता, जोखिममा रहेका मानिस र दण्डहीन शक्तिकै विषयमा लेख्छु । 

राष्ट्रपति बाराक ओबामा २०१४ मा ह्वाइटहाउसमा आयोजित एक समारोहमा इसाबेल आएन्डेलाई ‘प्रेसिन्डेसियल मेडल अफ फ्रिडम’ प्रदान गर्दै

तपाईंले नयाँ संस्मरणमा बुढ्यौलीका विभिन्न पक्षलाई छुनुभएको छ । तपाईंका सौतेनी पिता (टियो रामोन)ले ८० वर्षको उमेरमा अवकाश लिनुलाई जीवनको सबभन्दा ठूलो गल्ती भएको गुनासो गर्ने गरेको लेख्नुभएको छ । तपाईंले त्यसमा सहमत जनाउँदै उनको अवनति त्यही समयबाट सुरु भएको औँल्याउनुभएको छ । कहिल्यै अवकाश नलिने तपाईंको निर्णयलाई त्यो घटनाले कसरी बल दियो । तपाईंले ‘म अवकाश लिदिनँ, आफूलाई परिमार्जित गर्छु’ लेख्नुभएको छ । त्यो हरफले मलाई आकर्षित ग¥यो, किनकि यो जीवनका चरणलाई पुनर्परिभाषित गर्ने रोचक तरिका हो । तपाईंका लागि यो परिमार्जन कस्तो हुनेछ ? 

उत्तर : परिमार्जन मेरा लागि जोखिम लिनु हो, नयाँ–नयाँ काम गर्ने प्रयोग गर्नु हो, जिज्ञासु हुनु हो र संसारमा सक्रिय हुनु हो । समुदाय निर्माण गर्नु, नयाँ साथी बनाउनु, सकेजति सहयोग गर्ने, फरक विषयमा लेख्न आफैँलाई चुनौती दिनु हो । र, प्रेममा पर्नु हो । बुढा मानिसहरू सुरक्षा र आराम चाहन्छन् । म लेख्न, माया गर्न र मेरा कुकुरसँग खेल्न चाहन्छु । महिला तथा युवतीलाई मेरो फाउन्डेसनमार्फत सहयोग गर्न चाहन्छु । मलाई गल्फ, बिंगो मन पर्दैनन् । 

‘द सोल अफ अ वुमन’ पुस्तकको एक  ठाउँमा तपाईंले लेख्नुभएको छ– ‘पुरुषहरू स्त्रीजनित शक्तिसँग डराउँछन् । त्यसैले शताब्दीऔँदेखि कानुन, धर्म र नियन्त्रण लागू गरिएको छ । महिलाको बौद्धिक, आर्थिक तथा कलात्मक विकासमाथि हरप्रकारका नियन्त्रण छन् ।’ समाजले एक दिन महिलालाई पूर्ण सशक्त बनाउनेछ र यो संकट समाधान हुनेछ भन्ने तपाईंलाई विश्वास छ ? त्यो लक्ष्यसम्म पुग्न के–के गर्नुपर्छ ? 

उत्तर : मैले मेरो जीवनकालमा महिलाको स्थितिमा ठूलो परिवर्तन देखेकी छु । थोरै–थोरै गरेर महिलाले पितृसत्तालाई नष्ट गर्दै छन् । हालसम्म यसलाई विस्थापित गर्न असक्षम हुनुले हामी असफल भयौँ भन्ने होइन, हामी निकै ठूलो शत्रुसँग लडिरहेका छौँ भन्ने हुन्छ । तर, यो असम्भव लक्ष्य होइन । एक दिन हामी यसमा सफल भएरै छाड्नेछौँ भन्ने विश्वास छ । तर, यो कार्य मेरो जीवनकालमा हुनेछैन । सबै महिला शिक्षित भए, सुसूचित भए एक–अर्कासँग मिलेर काम गरे भने यो अवश्य सम्भव हुन्छ । हामीले हासिल गरेका अधिकार गुम्न धेरै समय नलाग्दो रहेछ । यसको पछिल्लो उदाहरण हो– तालिवान । केही दिनको अन्तरालमा अफगानिस्तानका महिला तथा युवतीले तिनका सम्पूर्ण अधिकार गुमाए । पितृसत्ताको सबैभन्दा भद्दा रूपले देशलाई नियन्त्रणमा लिएको छ । हामीहरू सावधान रहनुपर्छ । खराब परिस्थितिमा त्यस्तो जहाँ पनि हुन सक्छ । 

तपाईंले २५ वर्षअगाडि आफ्नी छोरी पाउला फ्रायसको सम्झनामा इसाबेल आएन्डे फाउन्डेसन गठन गर्नुभएको थियो । फाउन्डेसनले सन् २०२२ र पछिका वर्षमा के–के गर्दै छ ? 

उत्तर : फाउन्डेसनले महिला तथा युवतीहरूको शक्तिमाथि लगानी गर्छ । अर्थात् यसले तिनको स्वास्थ्य तथा प्रजनन अधिकार, स्वावलम्बन बनाउन सघाउने शिक्षा अथवा तालिममा लगानी गर्छ । त्यसबाहेक फाउन्डेसनले महिलालाई हिंसा र दमनबाट सुरक्षा दिन पनि ध्यान दिएको छ । विगत केही वर्षभित्र हामीले विश्वभरका शरणार्थीमाझ पनि उल्लेख्य काम गरेका छौँ । म बाँचेसम्म र मैले लेख्न सकेसम्म हामीहरूले यो कामलाई निरन्तरता दिने सोचेका छौँ । किनकि फाउन्डेसनमा मेरो कृतिबाट हुने आय मात्र लगानी भएको छ ।