१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
डेभिड डियोप
२०७८ पौष २० मंगलबार ०८:२९:००
Read Time : > 3 मिनेट
Read Time : > 3 मिनेट
डेभिड डियोप
२०७८ पौष २० मंगलबार ०८:२९:००

एक अनुमान अनुसार भूमध्यसागर पार गर्ने प्रयासमा सन् २०२१ मा मात्र १४०० भन्दा बढी आप्रवासीले ज्यान गुमाए 

डेभिड डियोप

डुंगा चढेर भूमध्यसागरबाट युरोप पुग्ने प्रयासमा बर्सेनि कैयौँ अफ्रिकीको डुबेर ज्यान जान्छ । यसरी मर्ने अफ्रिकीको यकिन संख्या कसैलाई थाहा छैन । युरोपसम्म पुग्न नसक्नेको संख्या तथ्यांकमा समेटिँदैनन् । तर, दक्षिण युरोप र उत्तर अफ्रिकाका तटरक्षकहरूले उद्धार गरेका मानिसहरूले दिएको तथ्यांकका आधारमा हजारौँ अफ्रिकी आप्रवासी (महिला, पुरुष र बालबालिका) प्रत्येक वर्ष डुबेर मर्छन् । मानवीय विपत्को यो शृंखलाको अन्त्य यी आप्रवासीको शव सद्गद् गर्ने मानिसमा पुगेर टुंगिन्छ । तिनले भूमध्यसागरको क्रूर छालले तट किनारमा ल्याइपु¥याएका शव वा शरीरको बाँकी भागलाई अन्त्येष्टि गरिदिन्छन् । ट्युनिसियाको दक्षिण–पूर्वमा रहेकोे जर्जिस यस्तै शव सद्गद् गरिने क्षेत्र हो । 

गत जुनमा एक अल्जेरियाली कलाकार रिचर्ड कोरेइचीले यहाँ समाधिस्थल निर्माण गर्ने सोच बनाए, जुन सुन्तलाका बोट र चमेलीको सुगन्धले भरिने र जरडिन डी–अफ्रिक (अर्थात् अफ्रिकाको बगैँचा)को नामले चिनिनेछ । म प्रत्यक्ष रूपमा सो बगैँचारूपी समाधिस्थलमा पुगेको त छैन, तर ले मोन्ड पत्रिकामा छापिएको यसको सुन्दर वर्णनले प्रभावित भएँ । जसमा आकर्षणका लागि राखिएका पहेँला र हरिया कपबारे पनि चर्चा छ । कोरेइचीले यो स्वर्गीय सौन्दर्ययुक्त चिहान घारी उनकै शब्दमा ‘समुद्रमा श्रापित हुनेहरू’लाई समर्पित गरेका हुन् । मृत्युअघि तिनले बेहोर्नुपरेको पीडाको क्षतिपूर्ति होस् भन्ने चाहन्छन् उनी । अहिले नै झन्डै भरिसकेको यो चिहान घारीले यो आधुनिक दुःखान्तको परिमाण बोध गराउँछ ।

विश्वको भूगोल खतरनाक प्राकृतिक सिमानाहरूले भरिपूर्ण छ । उदाहरणका लागि बर्सेनि कैयौँको ज्यान लिने अमेरिका र मेक्सिकोलाई छुट्याउने रियो ग्रान्ड । तर, खतरनाक सिमानामध्ये पनि भूमध्यसागरलाई सबैभन्दा प्राणघातक क्षेत्र मानिन्छ । आप्रवासीसम्बन्धी अन्तर्राष्ट्रिय संगठनका अनुसार यो समुद्रमा सन् २०१४ यता झन्डै २० हजार अफ्रिकी मरे या हराएका छन् । यो आँकडामा ग्रिस र टर्कीबाट पूर्वी समुद्रीतट हुदै युरोप छिर्ने प्रयास गर्ने मध्य–पूर्व तथा पूर्वी अफ्रिकी आप्रवासीको संख्या जोडिएको छैन । 

सुविधाबाट वञ्चित अर्बौँ मानिसका लागि जीवन जिउँदोजाग्दो दुस्वप्न हो । तिनले खान, पिउन, नुहाउन र लगाउनसमेत दैनिक संघर्ष गर्नुपर्छ। 

गरिब देशका मानिस धनी देशतर्फ किन आकर्षित हुन्छन् भन्ने विषय सबैजना आफूलाई थाहा भएको विश्वास गर्छन् । हामी धेरैजना गरिब देशको कुशासन, कठिन जीवनयापन र विपन्नप्रति बेवास्ता गर्ने शासन व्यवस्थाका कारण आप्रवासी आफ्नो घर छाड्ने निर्णय गर्छन् भन्ने कल्पना गर्छौँ । धनी मुलुकमा पनि यी समस्या नभएका होइनन्, तैपनि आप्रवासीलाई यो थाहा नभएको हामी मान्छौँ । अश्वेत अफ्रिका र मगरेब (उत्तर अफ्रिका)का धेरै युवा–युवती आफ्नो जीवन दाउमा राखेर लिबियाबाट भूमध्यसागर तरेर युरोप पस्ने प्रयास गर्छन् । वर्षौँ लाग्न सक्ने यो यात्रामा सरिक हुनेहरूको मनमा परिवारलाई सुन्दर भविष्य प्रदान गर्ने सपना हुन्छ । 

हलिउडले बनाउने विपत्सम्बन्धी फिल्ममा प्रलय जनाउन अक्सर बिजुली नभएको, पिउने पानी सकिएको र खाद्य सुरक्षा तथा अस्पतालको सेवा संकटमा परेको दृश्य देखाइन्छ । यी दृश्यले मलाई सधैँ छुने गर्छ । यी सेवाहरू धनी मुलुकमा बस्नेहरूले निर्बाध प्रयोग गर्ने गर्छन् । विश्वको अन्त्य देखाउन आख्यान र फिल्ममा जस्ता दृश्य देखाइन्छन्, वास्तवमा विश्वका आधा जनसंख्याले हरेक दिन भोग्ने यथार्थ तिनै हुन् । सुविधाबाट वञ्चित अर्बौँ मानिसहरूका लागि जीवन जिउँदोजाग्दो दुस्वप्न हो । तिनले खान, पिउन, नुहाउन र लगाउनसमेत दैनिक संघर्ष गर्नुपर्छ । 

यी अभावको हिंसाबाट भाग्ने आप्रवासीमा यस्तो विश्वको अस्तित्वको प्रबल विश्वास हुन्छ, जहाँ बाँच्नुको अर्थ जीवित रहनु मात्र हुँदैन । यो विश्वासबाट डोहोरिएर उनीहरू जस्तोसुकै जोखिम उठाउन तयार हुन्छन् । यस्तो कठिनाइ पार गरेर सम्पन्न मुलुक पुगेकालाई पक्रेर जेलमा कोचिन्छ । के तिनको विश्वास तब पनि कायम रहला ? मुख्यतः यो विपत्को दोषी को भन्ने प्रश्न सोध्नु उपयोगी हुन्छ । राजनीतिक जिम्मेवारीलाई विपन्न र धनी मुलुकबीच यसरी बाँडफाँड गर्न सकिन्छ कि दुवै पक्षले अर्को पक्षलाई दोष लगाउने स्थिति नआओस् । आखिरमा लामो कालसम्म गरिब मुलुक धनी मुलुकको दोहनमा परेका छन् । धनी मुलुकले पनि गरिब मुलुकका धेरैलाई समुद्रमा डुब्नबाट बचाएको पनि यथार्थ हो । 

२०२१ मा भूमध्यसागरको एक टापु ल्याम्पेडुसामा इटालियन तटीय गार्ड पर्खिरहेका आप्रवासी


१८औँ शताब्दीका एकजना दार्शनिकले आफ्नो नैतिक दर्शनको आधारभूत प्रणालीको केन्द्रमा राखेको एउटा सार्वभौम नैतिक नियमले भन्छ– ‘कर्म यसरी गर्नुपर्छ कि तपाईंले मानवतालाई (तपाईंभित्र वा अरूकै) साधनका रूपमा मात्र नभएर साध्यका रूपमा व्यवहार गर्नुपरोस् ।’ यो इम्यानुयल कान्टको महत्‍वपूर्ण कृति ‘ग्राउन्डवर्क अफ द मेटाफिजिक्स अफ मोरल्स’मा उल्लेख छ । विश्वका कुनै पनि भागमा आप्रवासीको जीवन बचाउने काम गरिरहेका सबै मानिस तनमनले नै कान्टको सिद्धान्तअनुरूप चलिरहेका हुन्छन् । उनीहरूलाई प्रशंसा र सम्मानले मात्र पुग्दैन, तिनलाई आवश्यक अन्तर्राष्ट्रिय सहयोग पनि दिनुपर्छ । यिनै व्यक्तित्वको सदिच्छाले भूमध्यसागर युरोपेली सभ्यताको उद्गमस्थल कायम रहिरहनेछ, चिहान होइन । अहिलेसम्म तिनको सदिच्छामा विभिन्न एनजिओ र संयुक्त राष्ट्रसंघको कार्यालयहरूले सघाइरहेका छन् । 

रिचर्ड कोरेइचीजस्ता कलाकार र विचारकहरूले हामीलाई सचेत बनाइराख्ने काम गर्छन् । उनको समाधिस्थल भूमध्यसागरमा सधैँका लागि विलीन भएका जीवन र तिनको आफन्तप्रतिको सान्त्वना मात्र होइन । यसले सयौँ भाषणले भन्दा राम्रोसँग धनी र गरिब मुलुकबीच बाँडिनुपर्ने शोक व्यक्त गर्छ । आफ्नो सौन्दर्यमार्फत ‘जर्डिन डी अफ्रिक (अफ्रिकाको बगैँचा)’ले विश्वभरका आप्रवासीले बेहोर्नुपर्ने कठिनाइप्रति संवेदनशील बनाउँछ र हामीहरूको साझा मानवताप्रति बोध जगाउँछ । दया र ऐक्यबद्धता भ्रम होइनन्, धनी र गरिब मुलुकका समाजमा भेटिने यथार्थ हो । जर्डिन डी’अफ्रिकले हामीलाई मानवताको सामूहिक विनाश रोकिरहेको एउटै कुराप्रति सचेत गराइरहेको छ– अरूको व्यथाप्रति हाम्रो करुणा र सहयोग भाव ।

डियोप फ्रेन्च–सेनेगेली उपन्यासकार एवं प्राज्ञ हुन् । उनले ‘एट नाइट अल ब्लड इज ब्ल्याक’ नामक उपन्यासका लागि सन् २०२१ को इन्टरनेसनल बुकर पुरस्कार जितेका थिए ।