मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २० मंगलबार ०७:५७:००
Read Time : > 1 मिनेट
अर्थ

पुँजीगत खर्चमा सरकारको तदारुकता देखिएन : अध्यक्ष गोल्छा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २० मंगलबार ०७:५७:००

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले राजस्व संकलनमा तदारुकता देखाएजस्तै पुँजीगत खर्चमा तदारुकता देखाउन नसकेको बताएका छन् । तरलताको समस्या पेचिलो बन्दै गएको अहिलेको समयमा सरकारको पुँजीगत खर्च मात्र बढ्न सके पनि त्यसले केही सहयोग गर्ने उनको धारणा थियो । 

भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा महासंघले राखेको स्वागत एवं बधाई कार्यक्रममा अध्यक्ष गोल्छाले कोभिडले थलिएको अर्थतन्त्रले केही गति लिन खोजेका वेला तरलताको अभावले समस्या उत्पन्न भएको बताए । निजी क्षेत्रलाई पनि व्यापारमुखी मात्र भएको, उत्पादनमुुखी क्षेत्रमा लाग्न नसकेको भन्ने आरोप लाग्ने गरेको भन्दै यो केही हदसम्म सत्य भए पनि निजी क्षेत्र उपयुक्त वातावरण पाएमा उत्पादनमुुखी क्षेत्रमा केन्द्रित हुन तयार रहेको उनको भनाइ थियो । 

अध्यक्ष गोल्छाले आर्थिक गतिविधि बढ्न लागेको, आन्तरिक पर्यटन बिस्तारै अगाडि बढ्ने तरखरमा रहेका वेला पुनः कोभिडको अर्को भेरियन्टले विश्वलाई नै तर्साएको बताए । ‘यतिवेला अन्तर्राष्ट्रिय उडानहरू बन्द भएका, देशहरू पुनः लकडाउनतर्फ गइरहेका र त्यसको प्रभाव नेपालमा पनि पर्ने चिन्ता सर्वत्र रहेको छ,’ उनले भने, ‘अर्थतन्त्र र रोजगारीमा ठूलो योगदान रहेको पर्यटन क्षेत्र ओमिक्रोनको त्रासले सेटब्याक हुने खतरामा छ ।’

अर्थतन्त्रको विस्तार, रोजगारी सिर्जना, निर्यात अभिवृद्धि गर्ने लक्ष्यका साथ ल्याएको भिजन पेपर (नेट–२०३०)को सफल कार्यान्वयनमा महासंघको सिंगो सञ्जालको कार्यगत एकता, सहकार्य, अपनत्व आवश्यक रहेको अध्यक्ष गोल्छाले बताए । उनले भक्तपुर उवासंघले महासंघका हरेक कार्यमा सहयोग गर्दै आएकोमा त्यसको प्रशंसासमेत गरे । उनले भने, ‘भक्तपुरको प्रमुख सामथ्र्य भनेको पर्यटन, हस्तकला, कला–संस्कृति नै रहेकाले यी क्षेत्रको विकासमा संघले नवीनतम सोचका साथ काम गर्नुपर्छ ।’ भक्तपुरको ऐतिहासिक महत्वलाई उजागर गर्ने र पर्यटन पूर्वाधार विकासमा संघले नेतृत्वदायी भूमिका निर्वाह गर्न सुुझाब दिँदै उनले संघद्वारा अगाडि बढाइएका सबै काममा सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । 

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन काम गरेर देखाउन जरुरी रहेको बताए । महासंघको सञ्जालभित्रका सबै सदस्यहरूको महत्वलाई अझ बढाउने गरी कार्य गर्न वर्तमान नेतृत्व लागेको उनको भनाइ थियो । अर्का उपाध्यक्ष रामचन्द्र संघाईले भक्तपुर कला, संस्कृति, मौलिकतामा सम्पन्न रहेकाले अहिलेको युवा टिमले त्यसैका आधारमा काम गर्नुपर्ने सुुझाब दिए ।

भक्तपुर उवासंघका नवनिर्वाचित अध्यक्ष शिवप्रसाद मानन्धरले पर्यटन विकासमा वर्तमान कार्यसमिति विशेष रूपमा केन्द्रित हुने बताए । स्थानीय निकायले जथाभावी उठाएका करहरू रोकिनुुपर्ने र चेम्बर कानुन ल्याउनुुपर्नेमा जोड दिँदै उनले त्यसमा सहयोग गर्न महासंघ नेतृत्वलाई आग्रह गरे । कोभिडले थलिएको अर्थतन्त्रको पुनरुत्थानका लागि महासंघले ल्याउने कार्यक्रममा संघका तर्फबाट पूर्ण सहयोग रहने उनको प्रतिबद्धता छ ।